प्रहरीले कैलाली, दाङ र झापाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा शनिबार ३१ जनालाई पक्राउ गरेको छ।
चार छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा कुल ६ लाख ६२ हजार ७ सय ७५ रुपैयाँ नगद र ८ बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै दाङको घोराहीका दुई स्थानबाट १७ जना पक्राउ परेका छन् भने ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिबार साँझ घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित ४७ वर्षीय बसन्त बुढाथोकीको घरबाट बुढाथोकीसहित ९ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ लाख ८ हजार १ सय २० रुपैयाँ र ३ बुक तास बरामद भएको छ।
यसैगरी, सोही दिन बेलुकी घोराही उपमहानगरपालिका-१५ जानकी टोलस्थित ६८ वर्षीय भुप बहादुर डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ८ जना पक्राउ परे। जिल्ला प्रहरी कार्यालय दाङकै टोलीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र ३ बुक तास नियन्त्रणमा लिएको छ।
उता, झापाको बिर्तामोड नगरपालिका-४ उर्बर्सी टोलस्थित होटल अम्रेलाबाट शनिबार राति ४ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सूर्योदय नगरपालिका-१० बस्ने ४४ वर्षीय निर्मल श्रेष्ठसहित ४ जनालाई नगद ८९ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित सैनिक होटलबाट शनिबार राति सोही नगरपालिका-२ बस्ने ४७ वर्षीय नमराज बिष्टसहित १० जना पक्राउ परे।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूका साथबाट नगद ६० हजार १ सय ७५ रुपैयाँ र १ बुक तास बरामद गरेको छ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २९ कार्तिक २०८३ १६:५३ आइतबार