जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।
दाङ — दाङका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले शनिबार राती नगद तथा ताससहित १७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।
पहिलो घटनाअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित वसन्त बुढाथोकीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सो स्थानबाट प्रहरीले जुवा खेलिरहेका ९ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट चार लाख आठ हजार एक सय बीस रूपयाँ नगद बरामद गरेको छ ।
सो स्थानबाट प्रहरीले घरबेटी वसन्त बुढाथोकी सहित वर्ष ४८ का नवल सिंह डाँगी, वर्ष ४३ का नीमबहादुर भण्डारी, वर्ष ४३ का तुलबहादुर खड्का र वर्ष ३५ का रामकृष्ण खड्का पक्राउ परेका छन् ।
यस्तै वर्ष ४० का यदुनाथ पाण्डे, वर्ष ४० का हिमराज के.सी., वर्ष ३५ का निमेश भण्डारी र वर्ष ४१ का चन्द्रदेव बुढा पक्राउ परेका छन् ।
त्यसैगरी, दोस्रो घटनामा घोराही उपमहानगरपालिका वडा नं. १५ जानकी टोलस्थित भूपबहादुर डाँगीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा थप ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त जुवा खालबाट प्रहरीले १ लाख ४ हजार ५ सय ८० नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा घरबेटी वर्ष ६८ का भूपबहादुर डाँगी, वर्ष ६० का केशरबहादुर पछाई, वर्ष ६४ का लुमा सिंह बस्नेत, वर्ष ६५ का निमबहादुर पुन, वर्ष ५२ का गिरीराज के.सी., वर्ष ५३ का ओविन्द्र महरा, वर्ष ४७ का तारा डाँगी र वर्ष ३९ का हिरालाल रावत रहेका छन् ।
पक्राउ परेका सबै जनालाई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक एक्क बहादुर नेपालीले जानकारी दिएका छन् ।
दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।