Trending
Prev Story
Next Story

जयन्ती मेमोरियल ट्रस्टको २५ वर्ष : १० हजारभन्दा बढी मुटुको शल्यक्रियामा सहयोग

Ekantipur •
November 15, 2026 • 04:32 AM
2
2 reads 0 reactions

ग्रामीण क्षेत्रमा मुटुरोग शिविरदेखि अस्पतालको पूर्वाधार विकाससम्म योगदान, ६ हजारभन्दा बढी विद्यार्थीलाई मुटु स्वास्थ्यसम्बन्धी शिक्षा।

जयन्ती मेमोरियल ट्रस्टको २५ वर्ष : १० हजारभन्दा बढी मुटुको शल्यक्रियामा सहयोग

ग्रामीण क्षेत्रमा मुटुरोग शिविरदेखि अस्पतालको पूर्वाधार विकाससम्म योगदान, ६ हजारभन्दा बढी विद्यार्थीलाई मुटु स्वास्थ्यसम्बन्धी शिक्षा।

काठमाडौँ — जयन्ती मेमोरियल ट्रस्टले नेपालमा मुटुरोगको उपचारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित स्थापना भएको २५ वर्ष पूरा गरेको छ । सन् २००१ अगस्टमा स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना भएको ट्रस्टले दुई दशकभन्दा बढी समयदेखि आर्थिक तथा भौगोलिक रूपमा स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका बिरामीलाई मुटुसम्बन्धी उपचारमा सहयोग गर्दै आएको छ ।

ट्रस्टका अध्यक्ष श्रृजना राणाका अनुसार यस अवधिमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरसँगको सहकार्यमा १० हजारभन्दा बढी मुटुको शल्यक्रियाका लागि आर्थिक सहयोग गरिएको छ । त्यस्तै, हृदयाघातका बिरामीको आकस्मिक उपचारमा प्रयोग हुने स्ट्रेप्टोकाइनेज औषधिका ६१२ भाइल विभिन्न अस्पताललाई उपलब्ध गराइएको छ ।

शनिबार काठमाडौंमा आयोजित २५औं वार्षिकोत्सव कार्यक्रममा ट्रस्टले स्थापनाकालदेखि सञ्चालन गरेका स्वास्थ्य सेवा, ग्रामीण स्वास्थ्य शिविर, जनचेतना र अस्पतालको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमबारे जानकारी दिएको थियो ।

ट्रस्टकी अध्यक्ष राणाका अनुसार स्वास्थ्य उपचारमा आर्थिक अवस्थाका कारण कसैले पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले संस्थाले विभिन्न अस्पताल र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै आएको छ ।

ट्रस्टले मुटुको उपचारमा आवश्यक भल्भ, औषधि, रक्तचाप मापन गर्ने उपकरण, होल्टर मोनिटर, बेडसाइड मोनिटर, इलेक्ट्रोड तथा ह्विलचेयरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चार वर्षसम्म मुटुरोग विशेषज्ञ र एक वर्षसम्म शल्यचिकित्सकको व्यवस्थापनमा समेत सहयोग गरेको ट्रस्टले जनाएको छ ।

काठमाडौं बाहिरका दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा मुटुरोगको परीक्षण र उपचारको पहुँच पुर्‍याउन ट्रस्टले सन् २००७ देखि स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । ट्रस्टका अनुसार हालसम्म ५३ जिल्लामा मुटुरोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सन् २००७ देखि २०१४ सम्म वार्षिक औसत चारवटा शिविर सञ्चालन हुँदै आएकोमा सन् २०१५ देखि २०२६ सम्म त्यसलाई बढाएर वार्षिक औसत आठवटा पुर्‍याइएको छ ।

मुगु, अछाम, डडेलधुरा, जाजरकोट, सल्यान, गोरखा, मुस्ताङ, सिरहा र मनाङलगायत जिल्लामा शिविर सञ्चालन गरिएका छन् । यस्ता शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श र आवश्यक बिरामीलाई विशेषज्ञ अस्पतालमा उपचारका लागि सिफारिस गर्ने गरिएको छ ।

विद्यालय तहबाटै मुटुरोगबारे सचेतना फैलाउने उद्देश्यले ट्रस्टले ४० वटासम्म सरकारी विद्यालयका ६ हजारभन्दा बढी विद्यार्थीलाई मुटु स्वास्थ्यसम्बन्धी शिक्षा तथा अभिमुखीकरण प्रदान गरेको जनाएको छ । त्यस्तै, महिलामा मुटुरोगसम्बन्धी सचेतना बढाउन सन् २०१४ देखि 'गो रेड फर वुमन' अभियान सञ्चालन गरिएको छ । विश्व मुटु दिवस तथा विभिन्न सामुदायिक कार्यक्रममार्फत पनि जनचेतना फैलाउने काम भइरहेको ट्रस्टले जनाएको छ ।

मुटुरोगका कारण आकस्मिक अवस्था सिर्जना हुँदा तत्काल प्राथमिक उपचार उपलब्ध गराउन ट्रस्टले सन् २०२५ देखि स्वास्थ्यकर्मी तथा समुदायका सदस्यलाई कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) र आधारभूत जीवनरक्षा (बीएलएस) तालिम सञ्चालन गर्दै आएको छ । वार्षिकोत्सवसम्बन्धी विवरणअनुसार हालसम्म नौवटा तालिम सत्र सञ्चालन गरिएका छन् ।

यसैगरी, सन् २०१५ को भूकम्पपछि राहत तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको ट्रस्टले कोभिड महामारीका बेला आइसोलेसन केन्द्र, स्वास्थ्य सामग्री र नेपालगन्जस्थित भेरी अस्पतालमा औद्योगिक अक्सिजन प्लान्ट स्थापनामा सहयोग गरेको थियो । महामारीका क्रममा निःशुल्क मनोसामाजिक परामर्श तथा आत्महत्या रोकथामसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

हालैका बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत ट्रस्टले योगदान गरेको जनाएको छ ।

ट्रस्टको स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमको एउटा महत्त्वपूर्ण आर्थिक आधार पोखरास्थित फिसटेल लजबाट प्राप्त हुने खुद नाफा हो । लजको खुद नाफा ट्रस्टका कार्यक्रम सञ्चालनमा समर्पित गरिँदै आएको छ । यसले बिरामीलाई आर्थिक सहयोग तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न निरन्तर स्रोत उपलब्ध गराउँदै आएको ट्रस्टले जनाएको छ ।

ट्रस्टले आगामी २५ वर्षमा मुटुरोगको उपचारसँगै रोकथामलाई प्राथमिकता दिने योजना अघि सारेको छ । समुदायस्तरमा स्वास्थ्य परीक्षण विस्तार गर्ने, विद्यालयमा मुटु स्वास्थ्य शिक्षा बढाउने, महिलाको मुटु स्वास्थ्यमा विशेष ध्यान दिने र प्रत्येक जिल्लामा आधारभूत जीवनरक्षा तालिम विस्तार गर्ने संस्थाको प्राथमिकता छ ।

त्यसैगरी, ठूला सहरबाहिर पनि मुटुरोगको परीक्षण तथा निदान सेवा विस्तार गर्ने र आर्थिक अवस्था वा बसोबास गर्ने स्थानका कारण कसैले पनि आवश्यक उपचारबाट वञ्चित हुन नपर्ने वातावरण बनाउने लक्ष्य ट्रस्टले लिएको छ ।

स्वर्गीय राजकुमारी हेलेन शाहले स्वर्गीय राजकुमारी जयन्ती शाहको स्मृतिमा स्थापना गरेको ट्रस्टले अस्पताल, चिकित्सक, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था, दातृ निकाय र स्वयंसेवकसँगको सहकार्यमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
15h ago
जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी

जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी

दाङ, कार्तिक २८ गते । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्रतिष्ठानमा मुटुरोगसम्बन्धी स...

#मुटुरोग #मुटु
Compare →
Nagarik News
1w ago
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

#जयन्ती
Compare →

Related Stories

Health & Wellness
Build #2612