भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।
काठमाडौँ — भियतनामको फान थिएटमा भइरहेको डेविस कप टेनिसमा नेपाल प्लेअफमा पराजित भएको छ ।
नोभावर्ल्ड इन्टरनेसनल टेनिस कम्प्लेक्समा शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो ।
पहिलो खेलमा नम्बर वान प्रदीप खड्का १ घन्टा ५३ मिनेटसम्म प्रतिस्पर्धा गर्दै प्यासिफिक ओसिनियाका जालान सालोनसँग ३-६, ६-४, ४-६ को सेटमा पराजित भए । दोस्रो खेलमा करणबहादुर थापाले गिलियन ओस्मन्टमाथि ७-६ (८-६), २-६, ६-२ ले पराजित गर्दै खेल १-१ बराबरीमा ल्याए ।
डबल्समा प्रदीप र करणको जोडीले जिलियन र जालोनविरुद्ध खेलेका थिए । पहिलो सेट ७-६ (७-१) ले गुमाएको नेपाली जोडीले दोस्रो सेटमा ३-० ले पछाडि रहेको स्थितिमा रिटायरमेन्टमा खेल छाडेका थिए ।
एसिया/ओसिनिया क्षेत्रको समूह ५ मा १४ टोलीले चार समूहमा रहेर समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । नेपाल समूह ‘ए’ मा रहेको थियो । त्यसमा बंगलादेश र बहराइन थिए । नेपालले दुवैविरुद्ध जित पाएको थियो ।
बहराइनविरुद्ध २-१ र बंगलादेशविरुद्ध ३-० को जित निकाल्दै नेपाल समूह विजेता बनेर प्लेअफ सेमिफाइनलमा पुगेको थियो । यदि नेपाल फाइनल पुगेको भए अर्को वर्षका लागि यस क्षेत्रको समूह चारमा बढुवा पाउने थियो ।
नेपाली टोलीमा प्रदीप र करणसहित निसान श्रेष्ठ र दर्शिल श्रेष्ठ रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । निसान र दर्शिलको जोडीले बहराइन र बंगलादेशविरुद्ध डबल्समा प्रतिस्पर्धा गरेका थिए । बंगलादेशविरुद्ध जित पाएको उनीहरूको जोडी बहराइनसँग भने पराजित भएको थियो । प्रदीप र करणले भने दुवै टिमविरुद्ध सिंगल्समा सफलता पाएका थिए ।
ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।