कोशी पहाडमा उत्पादन भएको ठुलो परिमाणको लागुऔषध गाँजा इलामको बाटो हुँदै तराई र भारततिर लैजाने गरिएको पाइएको छ। धनकुटालगायत जिल्लामा उत्पादन भएको गाँजासमेत मेची राजमार्गको पाँचथर-इलाम हुँदै घुमाउरो बाटो भएर तराईका बजार जाने गरेको तथ्य खुलेको हो।
पहाडी जिल्लाबाट तराईतिर फर्किने खाली मालवाहक गाडी प्राय: चेकजाँच नहुनेगरेकाले त्यही मौकाको फाइदा उठाउँदै तस्करहरूले घुमाउरो बाटो प्रयोग गरेरसमेत गाँजा निकासी गरिरहेको देखिएको छ। भर्खरै इलाममा बरामद भएको ठुलो परिमाणको गाँजा र डेढ महिनापछि पक्राउ परेका आरोपीको बयानले कोशी पहाडका गाउँमा अहिले पनि गाँजा खेती तथा उत्पादन व्यावसायिक भइरहेको संकेत गरेको छ।
गत असोज ६ मा मेची राजमार्गको इलाम नगरपालिका ९, गोलाखर्कबाट प्रहरीले १५ क्विन्टल गाँजा बरामद गर्यो। साँझ करिब साढे ६ बजे पाँचथरतर्फबाट आएको खाली ट्रक गोलाखर्क भञ्ज्याङबाट राजदुवालीको बाटो भएर फिक्कलतर्फ जान खोज्यो। राजदुवालीमा सडक अवरुद्ध रहेकाले प्रहरीले चालकलाई इलाम-झापा फास्ट ट्र्याक भएर जान सुझाउँदै ट्रक रोके।
चालकलाई लाग्यो-आफू अब प्रहरी फन्दामा परिनेभो। त्यसपछि उनी गाडी स्टार्टमै छाडेर ‘गाडीमा प्राविधिक समस्या आयो’ भन्दै बाहिर निस्किए, र कतै गए। उनी धेरै बेरसम्म फर्केनन्। प्रहरीका अनुसार चालक नफर्केपछि ट्रकमा अवैध सामान हुनसक्ने आशंका भयो। त्यसपछि चेकजाँच गरियो तर बाहिरबाट हेर्दा ट्रक खाली नै देखिन्थ्यो। केही बेरपछि प्रहरीले यही ट्रकमा फेला पार्यो-४१ बोरा गाँजा। चालक बस्ने ठिक पछाडिपट्टि डालीमा केही भाग पाटेसन गरी अलग्गै कोठा (फल्स बटम) बनाएर यो गाँजा लोड गरेको पाइयो।
बरामद गाँजा प्रहरीले भोलिपल्ट पत्रकार भेटघाटमार्फत् नै सार्वजनिक गर्यो। तर, ना ४ ख ८९९६ नम्बरको ट्रकका चालक, धनी र गाँजाका कारोबारी फेला परेनन्। खोजतलास गर्नेक्रममा प्रहरीले चालकलाई भोजपुरको आमचोक गाउँपालिका ८ बाट पक्राउ गर्यो। प्रहरीका अनुसार भोजपुरकै सहिदभूमि गाउँपालिका ६ का २४ वर्षे महेश परियार चाडबाड मनाउन आफन्तकहाँ पुगेका थिए।
महेश गाँजासहित नियन्त्रणमा लिइएको ट्रकका धनी र चालक पनि हुन्। ‘गाँजा चाहिँ कसको हो भन्ने थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी कुलदीप चन्दले पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै भने, ‘पक्राउ व्यक्तिले बयानका क्रममा धनकुटामा उत्पादन भएको गाँजा पाँचथर र इलाम हुँदै मेची राजमार्गबाट ल्याएको बताएका छन्।’
चालक परियारको घर भोजपुर भए पनि उनी र उनको परिवार सुनसरीको चतरा क्षेत्रमा बसोबास गरेको, यहाँबाट फरार भएपछि काठमाडौं पुगेको, ३-४ वटा मोबाइल सिम परिवर्तन गरेको लगायतका तथ्य फेला परेको प्रहरीको भनाइ छ। इलाम जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र भोजपुरको दुम्माना अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले संयुक्त रूपमा परियारलाई पक्राउ गरेको हो।
बरामद गाँजा पनि भारतको बिहारतर्फ लैजान लागिएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। ‘बरामद गाँजा धनकुटाको छिन्ताङ क्षेत्रकै उत्पादन भएको पाइयो,’ एसपी चन्दले भने, ‘तर, यो कसलाई दिन लगिँदै थियो भन्ने चाहिँ अनुसन्धान क्रममै छ।’
प्रहरीका अनुसार धनकुटाबाट धरानतर्फ झर्नभन्दा पाँचथरतिरबाट तराई झर्न ‘सुरक्षित’ देखेर यो बाटो आएको चालकले जनाएका छन्। एकै गाडीमा १५ क्विन्टल गाँजा फेला पर्नुले पहाडी जिल्लाका गाउँमा अहिले पनि ठुलो परिमाणमा उत्पादन हुनसक्ने आशंकासमेत भएको प्रहरी प्रमुख चन्दले बताए। ‘यो घटनाले धनकुटासहित पहाडी क्षेत्रका गाउँमा उत्पादित गाँजा मेची राजमार्गतिरबाट निकासी भइरहेको देखाउँछ,’ उनले भने, ‘चेकजाँचमा कडाइ र घटनाको थप अनुसन्धान हुन्छ।’
प्रकाशित: २८ कार्तिक २०८३ १४:०१ शनिबार