निर्माण अवधि सकिन साढे दुई महिना बाँकी हुँदा भौतिक प्रगति ६० प्रतिशत मात्रै पुगेको छ र कम्पनीले छ महिना म्याद थप माग्ने तयारी गरेको छ।
भरतपुर — चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अवधि आउँदो पुस २७ गते सकिँदैछ । तर, यो अवधिमा रंगशालाको निर्माण सम्पन्न नहुने निश्चित छ । निर्माण अवधि सकिन अब साढे दुई महिना मात्रै बाँकी रहँदा रंगशालाको भौतिक प्रगति ६० प्रतिशत मात्रै भएको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट निकासामा ढिलाइ, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारणले समयमै निर्माणको काम गर्न नसकिएको निर्माण कम्पनी हिमालयन–कालिञ्चोक बीबीआर जेभीले जनाएको छ । ‘पुरानो संरचनामा निर्माण कार्य गरिएकोले प्राविधिक निर्णयहरू एकआपसमा बाझिँदा निर्माणमा पनि समस्या आयो । विश्व राजनीतिमा भइरहेको टकरावका कारण यहाँका निर्माण सामग्रीमा आएको मूल्यवृद्धिले पनि हामीलाई काम गर्न समस्या भयो,’ निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले भने ।
रंगशालाको स्ट्रक्चर, प्लम्बिङ, इलेक्ट्रिकल, म्याट कभर, फेन्सिङ र ट्रसको कामको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । सम्पूर्ण कामको शतप्रतिशतमध्ये ५१.४९ प्रतिशत स्ट्रक्चरको काम रहेको छ । हालसम्म स्ट्रक्चरको काम भने ५० प्रतिशत सम्पन्न भइसकेकाले करिब अन्तिम चरणमा पुगेको व्यवस्थापक सिलवालले जानकारी दिए । मैदानतर्फ भने हालसम्म ४.१७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बेमौसमी वर्षाका कारण मैदानको काम अघि बढाउन नसकिएको सिलवालले बताए ।
अहिले मुख्यगरी मैदानको काममा ढिलाइ हुँदा समयमै निर्माण सम्पन्न नहुने निश्चितजस्तै छ । त्यसैकारण निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग निर्माणको काम सक्न ६ महिना म्याद थप माग्ने तयारी गरेको छ । ‘स्ट्रक्चरको काम लगभग अन्तिम चरणमा छ । हामीले ६ महिना म्याद थप पायौँ भने सबै काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गर्न सक्छौँ,’ व्यवस्थापक सिलवालले भने ।
निर्माण अवधि सकिनै लाग्दा रंगशालाको पहिलो भेरिएसन अर्डर (भीओ) असोज २८ मा स्वीकृत भएको छ । निर्माण कम्पनीले गत वर्ष माघ १४ गते नै निर्माणका क्रममा देखापरेको क्वान्टिटी भेरिएसनका लागि प्रस्ताव पठाए पनि अहिले बल्ल स्वीकृत भएको हो । भेरिएसन अर्डरपछि रंगशालाको लागत ९.८६ प्रतिशतले वृद्धि भएको निर्माण कम्पनीले जनाएको छ । सुरुवाती चरणमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यसले लागत मात्रै वृद्धि नभई निर्माणको काम पनि थपिएको छ । त्यसकारण पनि सम्झौताअनुसारको समयमा निर्माण सम्पन्न नहुने निर्माण कम्पनीले जनाएको छ ।
रंगशाला निर्माणका क्रममा केही समय बजेट अभावले समेत काम रोकिएको थियो । गत वर्षको पुस र यस वर्षको वैशाखमा निर्माण कम्पनीले पेस गरेको भुक्तानी रकम निकासामा ढिलाइ हुँदा निर्माण कम्पनीले एक महिनाभन्दा बढी समय काम रोकेको थियो । अहिले भने रंगशाला निर्माणको काम निरन्तर भइरहेको छ ।
भरतपुर महानगरपालिकाले भने रंगशाला निर्माणको काम समयमै सकिने दाबी गरेको छ । यद्यपि, पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यलगायतका कारण निर्माणमा ढिलाइ भएको महानगरले समेत स्वीकार गरेको छ । अहिले समयमै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै निर्माण कम्पनीले म्याद थपको माग गरेमा प्रक्रियागत रूपमा निर्णय गरिने महानगरका वरिष्ठ डिभिजन इन्जिनियर सन्तोष आचार्य बताउँछन् ।
‘अहिलेसम्म निर्माण कम्पनीले हामीलाई ६ महिना म्याद चाहिन्छ भनेर आग्रह गरेको छैन । यदि बाँकी रहेको काम सम्पन्न गर्न म्याद थपको माग भयो भने सार्वजनिक खरिद ऐनअन्तर्गत रहेर प्रक्रियागत रूपमा अघि बढाउँछौँ । सकेसम्म समयमै काम सक्न निर्देशन दिएका छौँ,’ वरिष्ठ डिभिजन इन्जिनियर आचार्यले भने ।
भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरी रंगशाला निर्माणको काम अघि बढाएको थियो । धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम गर्न नसक्ने जनाउँदै महानगरलाई दायित्व सुम्पिएपछि महानगरले बागमती प्रदेश सरकारको ६० प्रतिशत र महानगरको ४० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा परेको रंगशालाको निर्माण अघि बढाएको थियो ।
अहिले रंगशाला निर्माणको काममा चारवटा समूह खटिएका छन् । दसैँमा एउटा समूह मात्रै बिदामा घर फर्कियो भने बाँकी तीनवटा समूहका कामदारले निरन्तर काम गरेका छन् । ‘हामीले चाँडै काम सक्न दसैँमा पनि निरन्तर काम गर्यौँ । सम्झौताको बाँकी अवधिभित्र स्ट्रक्चरको सबै काम सकाउने तयारीमा छौँ,’ व्यवस्थापक सिलवालले भने ।
उनले दसैँ बिदामा गएको एउटा समूहका कामदार अब केही दिनमा फर्किने र अन्य कामदारको संख्या पनि बढाइने जानकारी दिए । ‘दसैँमा पनि ९० जनाभन्दा बढी कामदारले निरन्तर काम गरे । अब केही दिनमा डेढ सयको हाराहारीमा कामदार पुग्छन् । दुईवटा भीआईपी टावरमा एसी जडानको काम पनि सुरु हुन लागेकाले अब पाँचवटा कामदारको समूहले काम अघि बढाउँछन्,’ व्यवस्थापक सिलवालले सुनाए ।
अहिले भीआईपी टावर–१ को स्ट्रक्चर निर्माण सम्पन्न भई फिनिसिङको चरणमा छ । भीआईपी टावर–२ पनि फिनिसिङकै चरणमा पुगेको छ । चारवटा ब्लकमा रहेको प्याराफिटमध्ये तीनवटा ब्लकको निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम ब्लकको प्याराफिट निर्माण सम्पन्न हुने चरणमा छ । दसैँ बिदाबाट फर्किने कामदारको समूहले बाँकी प्याराफिटको ढलान सम्पन्न गर्नेछ । मैदानको काम तिहारलगत्तै सुरु गर्ने निर्माण कम्पनीको भनाइ छ ।
राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।