Trending
Prev Story
Next Story

विदेशबाट फर्किए, बन्जीलाई विदेशसम्मै चिनाए

Ekantipur •
October 13, 2026 • 06:19:35 PM
1
1 reads 0 reactions

द क्लिफले बाहिरबाट जनशक्ति ल्याउनेभन्दा आफैं उत्पादन गर्ने नीति लिएको छ, अहिले करिब ११५ जना जनशक्ति यही प्रक्रियाबाट काम गरिरहेका छन्, जसमा चार जना प्रशिक्षणमा छन्

विदेशबाट फर्किए, बन्जीलाई विदेशसम्मै चिनाए

द क्लिफले बाहिरबाट जनशक्ति ल्याउनेभन्दा आफैं उत्पादन गर्ने नीति लिएको छ, अहिले करिब ११५ जना जनशक्ति यही प्रक्रियाबाट काम गरिरहेका छन्, जसमा चार जना प्रशिक्षणमा छन्

यो नाम सुन्नेबित्तिकै अहिले धेरैले सम्झने एउटै दृश्य हो, कालीगण्डकी पुल र बन्जी जम्प । पछिल्लो वर्षमा बन्जी, स्विङ गर्न र पुल हेर्न देश–विदेशबाट पर्यटक यहाँ पुग्न थालेका छन् ।

कुस्मा र बलेवा जोड्ने कालीगण्डकीमाथिको ५ सय २० मिटर लामो अनि २ सय २८ मिटर अग्लो पुलमा गरिने बन्जी र स्विङले कुस्माको परिचय नै फेरिदिएको छ । कुस्माको त्यही परिचय बदलिदिने व्यक्तिको नाम हो, राजु कार्की ।

‘द क्लिफ’ संस्थामार्फत कुस्मालाई साहसिक पर्यटन व्यवसायका रूपमा स्थापित गर्न राजु सफल व्यवसायी तथा ‘एडभेन्चर इन्स्ट्रक्टर’समेत हुन् । ‘द क्लिफ’ का अध्यक्ष कार्कीले संसारकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन गरेर नेपाललाई विश्वभर साहसिक पर्यटकीय गन्तव्यका रूपमा चिनाइरहेका छन् । कुस्मामा बन्जी सुरु गरेर साहसिक पर्यटनमा आफ्नो पहिचान बनाएका राजुको साहसिक यात्रा भने कालीगण्डकीको पुलबाट नभई सुनकोशीमा पुगेर जोडिन्छ । सिन्धुपाल्चोकको खाडीचौरमा सुनकोशी किनारमा उनको घर हो । बाल्यकालमा त्यही खोलामा खेल्दै, पौडी खेल्ने/हाम फाल्ने गरिरहन्थे । बाल्यकालका तिनै अनुभवले पछि उनलाई साहसिक पर्यटनतर्फ डोर्‍यायो । र, व्यावसायिक रूपमा स्थापित गरायो ।

‘बाल्यकाल पनि एडभेन्चरमै बित्यो भन्नुपर्छ,’ राजु सम्झिन्छन्, ‘खोला किनारमा घर थियो । सधैं जोखिम हुन्थ्यो नै, खोलामा पौडी खेल्ने र हाम फाल्ने गरेर हुर्किएँ ।’ कक

राजुले खाडीचौरकै विद्यालयबाट उच्चशिक्षा पूरा गरे । व्यवस्थापनमा स्नातक गरेका उनको बाटो पढाइसँगै साहसिक पर्यटनतर्फ मोडिएको हो । १८ वर्षअघि अध्ययनकै क्रममा उनले एक दिन भोटेकोशीस्थित ‘द लास्ट रिसोर्ट’मा विज्ञापन देखे । र, त्यहाँ प्रशिक्षार्थीका रूपमा प्रवेश गरे ।

राजुले त्यहाँ बन्जी, स्विङ, क्यानोनिङ, हाइड्रो कोर्स (पानीमा खेल्ने खेल), वाल क्लाइम्बिङ, टिम व्यवस्थापनलगायत गतिविधिमा तालिम लिए । सुरुवातमा प्रशिक्षार्थीका रूपमा प्रवेश गरेका उनी अनुभव बढ्दै गएपछि नेतृत्व तहमा पुगे । अन्ततः विदेशी जनशक्तिलाई विस्थापित गर्दै नेपाली टोलीले नै एडभेन्चर गतिविधि सञ्चालन गर्न थालेको राजु बताउँछन् ।

२५ हजार तलबबाट जागिर सुरु गरेका राजुले सात वर्षमा डेढ लाख रुपैयाँ बुझ्थे । आफूमा एडभेन्चरप्रतिको मोह त्यहीबेलादेखि नै बढ्दै गएको उनी सुनाउँछन् । ‘त्यस बेला साहसिक खेलमा जोस, जाँगर र रहर थियो पैसा, तलबसँग सरोकारै थिएन, त्यहाँ काम गर्न पाए हुन्थ्यो भन्ने प्यासन नै थियो,’ उनले भने ।

द लास्ट रिसोर्टमा काम गर्दागर्दै फ्रेन्च युवतीसँग उनको प्रेम भयो र सन् २०१० मा विवाह गरे । करिब सात वर्षको अनुभव बोकेर उनी श्रीमतीसँगै फ्रान्स पुगे । तीन वर्ष फ्रान्सको एक म्युजियममा रिसेप्सनिस्टको काम गरे । विदेशमा जति समय बित्दै गयो, त्यति नै उनले नेपाल सम्झन थाले । पेरिसका भीडभाड र अग्ला भवन हेर्दै गर्दा उनलाई नेपालका हरिया डाँडा, खोला र पहाड सम्झनामा आउन थाले ।

एक दिन पेरिसको आइफेल टावर हेर्न पुग्दा लागेको लामो भीडले राजुलाई नेपाल सम्झायो । फलामको संरचना हेर्न यति धेरै मान्छे आउँछन् भने नेपालको प्राकृतिक सौन्दर्यमा संरचना बनाए कति आउलान् भन्ने सोचाइले आफूलाई नेपालतिर फर्किन बाध्य पारेको उनी सुनाउँछन् ।

‘हाम्रो पनि पुल छ, वरिपरि हरियो जंगल र नदी छ, यहाँ केही बनाउन सकियो भने झन् राम्रो दृश्य देखाउन सकिन्छ भन्ने लाग्यो । त्यसपछि नेपाल फर्किने सोच बन्यो,’ राजुले भने । विदेशमा रहँदा राजुले साहसिक पर्यटनलाई नजिकबाट नियाले । युरोपमा साहसिक खेलको प्रवर्द्धन, नयाँ–नयाँ एडभेन्चर गतिविधि खोज्ने र त्यसलाई व्यावसायिक रूपमा विकास गर्ने चलन रहेको यथार्थ उनले त्यही बेला बुझे ।

उतिबेला युरोपले प्रकृतिसँग जोडेर साहसिक पर्यटनका नयाँ अनुभव बेचिरहेको थियो । नेपालसँग भने त्यसभन्दा धेरै सम्भावना देखेर उनी नेपाल फर्किए । साहसिक पर्यटन आकर्षित गर्ने व्यवसायमा उनको योजना नेपालमा नयाँ थियो । केही विदेशका मोडल पनि उनले बुझेका थिए । जापानमा सरकारी पुल संरचनामा निजी क्षेत्रले साहसिक गतिविधि सञ्चालन गरेका उदाहरण बुझे । त्यही मोडल नै नेपालमा सुरुवात गर्न खोजे । तर सरकारी पुल लिने प्रयासमा करिब दुई वर्ष बित्यो । समय गयो, पैसा अड्कियो, तर योजना अघि बढ्न सकेन ।

‘द लास्ट रिसोर्ट’ मा काम गर्दाताक हो, पर्वत–बागलुङका मानिसले राजुलाई आफ्नो ठाउँमा पुल, झरना धेरै छन्, त्यहाँ पनि बन्जी गराउन सुझाव दिइरहन्थे । मानिसहरूको त्यही सुझाव र पुलको जिल्ला बागलुङतर्फ आफ्नो योजना अगाडि बढ्न थालेको उनी बताउँछन् ।

सुरुमा कुस्मा र बागलुङमा गरी ३० रोपनी जग्गा किनेर व्यवसाय अघि बढाएका राजुले अहिले त्यहाँ सय रोपनी पुर्‍याएका छन् । लगानीकर्ता जुटाएर टिम बनाउँदै पैसा जुटाउँदै अगाडि बढ्न थाले । सुरुमा राजुको योजना ठूलो थिएन । १६ करोड लागतमा कालीगण्डकीको पुलको आधा भाग मात्रै निर्माण गरेर त्यहींबाट बन्जी सञ्चालन गर्ने योजना थियो । तर व्यवसाय अघि बढ्दै जाँदा रिसोर्ट बनाउने र विस्तार गर्दै संरचना थप्दै लाने योजना बन्यो ।

त्यतिबेला साहसिक खेलमा बैंकलाई लगानी गराउन सजिलो थिएन । नयाँ व्यवसाय भएकाले धेरै बैंकले लगानी गर्न मानेनन् । प्रभु बैंकलाई भने उनीहरूले योजना बुझाउन सके । धितो चाहिन्छ भनेपछि टिमका सबै सदस्यको जग्गा धितोसम्म राखेर ऋण लिएर सञ्चालन गरेको राजु सुनाउँछन् ।

तर परियोजना सुरु हुनुअघि नै कोरोना महामारी फैलियो । परियोजना सोचेअनुसार अगाडि बढ्न सकेन । पाँच वर्षसम्म एउटा योजना तानिरहनु सजिलो थिएन । त्यस बेला राजुलाई यो परियोजना पूरा हुन्छ भन्ने नै लाग्न छाडेको थियो । ‘दोस्रो परियोजना पनि सुरुवात गर्न सकिएको थिएन,’ उनी सम्झिन्छन्, ‘डिप्रेसन नै हुन थालिसकेको थियो । तर विकल्प थिएन, ममाथि विश्वास गरेर अरूले पनि पैसा लगाएका थिए । त्यसैले पनि विस्तारै हिम्मत जुटाएर उठ्न सफल भएँ ।’

अन्ततः राजुले नसकेको सफलता पाउन थाले । बन्जीबाट सुरु भएको द क्लिफले विश्वकै अग्लो स्विङ, विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो र लामो स्काई साइक्लिङको परिचय पाएको छ । विश्वकै अग्लो स्काई क्याफे मात्र नभई रिसोर्ट, नेपालकै पहिलो स्काई सर्फिङ, स्काई चियर, क्रेजी ब्रिज, वाल क्लाइम्बिङ लगायतमा यो विस्तार भइसकेको छ । यहाँ आफू र आफ्नो समूहको लगानी मात्र ५० करोड हाराहारी पुगेको राजु बताउँछन् । पर्वत जिल्लामा दर्ता करदातामध्ये सेवा र उद्योगअन्तर्गत पछिल्लो तीन वर्षयता सबैभन्दा धेरै आयकर तिरको भन्दै उनको कम्पनीलाई सरकारले सम्मान गर्दै आएको छ ।

धेरैलाई बन्जी जम्प गराइसकेका राजुले दुई हजारभन्दा बढी पटक बन्जी जम्प गरिसकेका छन् । सुरुवातमा प्रशिक्षणमा धेरै पटक बन्जी गरेको उनले बताए । साहसिक पर्यटनमा रमाइरहेका राजु पुस्तक पढ्न र चलचित्र हेर्न रुचाउँछन् । अन्तिम पटक स्पाइडर म्यान चलचित्र हेरेको उनले सुनाए ।

बन्जीको डोरीको सुरक्षाबारे धेरै प्रश्न र मिम बन्ने गर्छन् । ‘मेरो पालामा डोरी चुँडियो भने, डोरी राम्ररी बाँधिएको रहेनछ भने’ यस्ता प्रश्न पटक–पटक आउने गरेका छन् । तर अन्तर्राष्ट्रिय मापदण्डका डोरी, ब्याकअप सिस्टम र नियमित परीक्षण गरेर मात्रै डोरी सञ्चालन गरिने राजुको भनाइ छ ।

‘हरेक जम्पपछि डोरी जाँच्ने गरिन्छ । चार सय जम्पपछि डोरी अनिवार्य रूपमा फेर्नुपर्छ,’ राजुले भने, ‘यसमा जम्प मास्टरलाई तालिम दिइन्छ । उपकरणको मर्मत तथा सुरक्षामा कुनै सम्झौता हुँदैन । एडभेन्चरमा भइहाल्छ नि, चलिहाल्छ भनेर काम गर्न मिल्दैन ।’

राजुको द क्लिफले बाहिरबाट जनशक्ति ल्याउनेभन्दा आफैं उत्पादन गर्ने नीति लिएको छ । अहिले १ सय १५ जना जनशक्ति यही प्रक्रियाबाट काम गरिरहेका छन्, जसमा चार जना प्रशिक्षणमा छन् । उनीहरूको क्षमता बढ्दै गएपछि फेरि नयाँ जनशक्तिलाई त्यही प्रक्रियामा अघि बढाइने राजुले बताए । राजुको संस्थाले भारतको केरलास्थित वायनाडमा एक एडभेन्चर पार्क व्यवस्थापन पनि गरिरहेको छ । श्रीलंकामा पनि एउटा एडभेन्चर परियोजनाका लागि राजुले कन्सल्टेन्टको काम गरिरहेका छन् । कुस्मामा थप संरचना र साहसिक गतिविधि थप्ने राजुको योजना छ । पोखरा, काठमाडौं नजिक र अन्य सम्भावित ठाउँमा यसलाई थप विस्तार गर्न खोजिरहेको उनले सुनाए । आगामी पाँच वर्षमा एडभेन्चर क्षेत्रमा करिब चार अर्ब रुपैयाँ लगानी गर्ने सोचमा अघि बढिरहेको उनको भनाइ छ ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ पुग्न चर्को प्रतिस्पर्धा भइरहँदा केही विश्व चर्चित विदेशी खेलाडी भने प्रतियोगिताको बीचमै फर्किएका छन् । टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही …

#फर्किए #विदेश
Compare →
Hamro Patro News
1d ago
अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

अमेरिकी भिसा ठगी रोक्न जनसहभागिता बढाउँदै अमेरिकी विदेश मन्त्रालय, शंकास्पद गतिविधि रिपोर्ट गर्न आग्रह

काठमाडौँ । अमेरिकाले भिसा प्रणालीमा हुने ठगी तथा अनियमितता नियन्त्रण गर्न जनसहभागिता बढाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले नक्कली कागजात, झुटा विवरण तथा गैरकानुनी उद्देश्यका साथ अमेरिका प्रवेश ...

#विदेश
Compare →

Related Stories

National (Nepal)
Build #2611