तिहारमा दाजुभाइ र दिदीबहिनीबीच उपहारका रूपमा साटासाट हुने ढाकाका सामग्रीको माग नेपालका विभिन्न सहर हुँदै विदेशसम्म पुग्न थालेको छ ।
पाँचथर — तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई उपहार दिने चलन छ । पूर्वी नेपालका पाँचथरलगायतका जिल्लामा भने यस्तो उपहारमा ढाका कपडाले विशेष स्थान बनाएको छ ।
दिदीबहिनीले दाजुभाइलाई ढाका टोपी, इस्टकोट र अन्य सामग्री दिन्छन् भने दाजुभाइले पनि ढाकाको सल, पछ्यौरा, झोला र विभिन्न पहिरन उपहार दिन्छन् ।
भाइटीकामा ढाकाका सामग्री साटासाट गर्नु यहाँका परिवारका लागि किनमेल मात्र होइन, आत्मीयतासँगै मौलिक पहिचान साट्ने माध्यम पनि हो । त्यसैले तिहार नजिकिँदा ढाकाका सामग्रीको खोजी र खरिद बढ्ने गरेको हो ।
ढाका कपडाको सम्बन्ध भने भाइटीकामा मात्रै सीमित छैन । दसैंमा नयाँ पहिरन लगाउनेदेखि तिहारमा देउसीभैलो खेल्ने समूहको सांस्कृतिक पहिरनसम्म ढाकाको प्रयोग हुँदै आएको छ । ढाका टोपी र इस्टकोटमा सजिएका देउसीभैलोका टोली पूर्वी नेपालका चाडपर्वको परिचित दृश्य हुन् । विभिन्न सांस्कृतिक कार्यक्रम, उत्सव र पारिवारिक समारोहमा पनि ढाकाका पहिरनको प्रयोग हुने गरेको छ ।
यही सांस्कृतिक सम्बन्धलाई पाँचथरका बुनकर र उद्यमीले उत्पादनसँग जोड्दै आएका छन् । परम्परागत तानमा बुनिने ढाकाबाट अहिले टोपी, सारी, चोलो, सल, पछ्यौरा र इस्टकोट मात्र होइन, झोला, पर्स, मफलर, टाईलगायतका सामग्रीसमेत तयार भइरहेका छन् । उपभोक्ताको रुचि र प्रयोगअनुसार ढाकाका सामग्रीको स्वरूप पनि फराकिलो हुँदै गएको छ ।
ढाकाबाट निर्मित सामग्री टिकाउ, न्यानो र आकर्षक हुने भएकाले तिहारमा आफूले दाजुभाइलाई रुमाल, पर्स, सर्ट र कोटका कपडा दिने गरेको फिदिम–१० की याङसा थाम्सुहाङले बताइन् ।
आफ्ना माइतीले पनि चेलीहरूलाई ब्लाउज, सारी र पछ्यौरीजस्ता सामग्री उपहार दिने गरेको उनले सुनाइन् ।
ढाकाका सामग्रीको बजार पनि पाँचथरमा मात्रै सीमित छैन । नेपालका विभिन्न सहरमा यसको माग पुग्ने गरेको छ । नेपालीको बसोबास रहेका हङकङ, सिंगापुर, अमेरिका र अस्ट्रेलियालगायतका स्थानबाट समेत पाँचथरमा बुनिएका ढाकाका सामग्रीको माग आउने गरेको व्यवसायी इन्द्रमाया जवेगुले बताइन् ।
उनका अनुसार विदेशमा रहेका नेपालीका लागि ढाका कपडा पहिरन वा प्रयोगको सामग्री मात्रै होइन, आफ्नो जन्मभूमि र सांस्कृतिक पहिचानसँग जोडिने माध्यम पनि बनेको छ । नेपाली मौलिक उत्पादनप्रतिको आकर्षणले पाँचथरको ढाकालाई स्थानीय बजारबाट बाहिर पुर्याउन सहयोग गरेको छ ।
ढाका व्यवसायी राजेन्द्र डाँगीका अनुसार यसको बजार विस्तारमा चाडपर्व र उपहार संस्कृतिको भूमिका महत्त्वपूर्ण छ । उपभोक्ताको मागअनुसार सामग्रीको डिजाइन र स्वरूपमा आएको विविधताले पनि बजार फराकिलो बनाउन सहयोग गरेको छ ।
पाँचथरमा बुनिएका ढाकाका सामग्री नेपालका विभिन्न सहर हुँदै विदेशसम्म पुग्नु स्थानीय उत्पादनको बजार विस्तारको संकेत हो । यसले परम्परागत सीपलाई नयाँ पुस्ताको रुचि र बजारको मागसँग जोड्ने सम्भावना पनि देखाएको छ ।
दसैंको नयाँ पहिरन, तिहारको उपहार र देउसीभैलोको सांस्कृतिक पहिचानसँग जोडिएको ढाका कपडा अहिले पाँचथरको स्थानीय उत्पादनमा मात्र सीमित छैन । यहाँका बुनकर र उद्यमीको सीप, श्रम र सिर्जनाले तयार पारेको ढाका विदेशमा रहेका नेपालीसम्म पुग्नु यसको सांस्कृतिक र व्यावसायिक महत्त्व विस्तार हुँदै गएको उदाहरण हो ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।