कसैका लागि संसारको सर्वोच्च शिखरको दृश्य हेर्न सगरमाथाको बाटो खुला छ भने कसैका लागि मुस्ताङको फरक भूगोल र संस्कृति पर्खाइमा छ तर यात्रा जहाँको भए पनि एउटा कुरा समान छ, दसैंको बिदा लामो हुँदैमा यात्रा हतारमा तय गर्नुहुँदैन, गन्तव्य, मौसम, बाटो, भिसा, टिकट, आवास र स्थानीय नियमबारे पहिले जानकारी लिएर मात्रै निस्कनु उपयुक्त हुन्छ ।
काठमाडौँ — विदेश रहने धेरैजसो नेपालीलाई प्रायः एउटै प्रश्न सोधिन्छ, ‘के तिमी सगरमाथा पुगेका छौ ?’
कतिपयले त्यसको जवाफ गर्वसाथ दिन्छन् । तर कतिपय केहीबेर सोचमग्न हुन्छन् । सगरमाथा आफ्नै देशमा भए पनि धेरै नेपालीका लागि अझै त्यो टाढाको गन्तव्य हो ।
नेपाल पर्यटन बोर्डकी एसिया प्यासिफिक डेस्ककी वरिष्ठ प्रबन्धक अर्चना केसी राणाका लागि भने यो प्रश्नले हरेक नेपालीलाई आफ्नै देश घुम्ने विषय सम्झाउँछ । संसारको सर्वोच्च शिखर भएको देशका नागरिकले कम्तीमा एक पटक सगरमाथा क्षेत्र पुगेर त्यसलाई आफ्नै आँखाले हेर्नुपर्ने उनको भनाइ छ । ‘हामीलाई जहाँ पनि जाँदा नेपाल भनेको सगरमाथाको देश हो, तिमी त त्यहाँ गएको हुनुपर्छ भनेर सोध्छन्,’ उनी भन्छिन्, ‘त्यसैले कम्तीमा हामीले हेर्नु त पर्यो नि, देख्न त पर्यो नि, सगरमाथा कस्तो रहेछ, कुन ठाउँमा रहेछ भनेर ।’
सगरमाथा बेसक्याम्प जान दसैं–तिहारको लामो बिदा एउटा राम्रो अवसर हुन सक्छ । असोज–कात्तिक शरद् ऋतु हो । आकाश सफा हुने, हिमशृंखला खुल्ने र पदयात्राका लागि मौसम अनुकूल हुने भएकाले यो नेपालका प्रमुख ट्रेकिङ सिजनमध्ये एक हो । त्यसैले यस पटक दसैंको बिदालाई गाउँघरमा आफन्त भेटेर मात्रै होइन, केही दिन पहाडतिर बिताउने अवसरका रूपमा पनि उपयोग गर्न सकिने अर्चनाको भनाइ छ ।
सगरमाथा क्षेत्र नेपाली युवाका लागि एउटा यात्राभन्दा बढी सिकाइको अनुभव हुन सक्ने उनले जनाइन् । लुक्ला, नाम्चे हुँदै सगरमाथा क्षेत्र पुग्दा संसारको सर्वोच्च हिमालसँगै शेर्पा संस्कृति र हिमाली जीवनशैली बुझ्न पाइन्छ । तर यो सजिलो पदयात्रा भने होइन । त्यसैले राम्रो तयारी गरेर मात्र जानुपर्ने उनको सुझाव छ ।
सगरमाथा मात्रै विकल्प भने होइन । कञ्चनजंघा क्षेत्र पनि शरद्याममा आकर्षक गन्तव्य बन्न सक्छ । अर्चनाका अनुसार विद्यार्थीका लागि कञ्चनजंघा क्षेत्र अझै अर्थपूर्ण हुन सक्छ । जहाँ पदयात्रासँगै पूर्वी नेपालको भूगोल, चियाबारी, स्थानीय संस्कृति र सीमावर्ती क्षेत्रबारे बुझ्ने अवसर मिल्छ ।
सन्दकपुर, इलाम र अन्तु पनि यही रुटमा पर्छन् । मुस्ताङ अर्चनाको अर्को रोजाइमा छ । नेपालका अरू भूभागभन्दा भिन्न भौगोलिक दृश्य, हिमाली मरुभूमिजस्तो भू–दृश्य, थकाली संस्कृति र मौलिक वास्तुकलाले बालबालिका तथा युवाका लागि यात्रालाई ज्ञान र अनुभवसँग जोड्न सक्ने उनी बताउँछिन् ।
तर हिमालतिर निस्कँदा उत्साह मात्रै पर्याप्त हुँदैन । पछिल्लो समय बाढीपहिरो र आकस्मिक प्राकृतिक विपत्तिका घटनाले यात्राको सुरक्षालाई थप महत्त्वपूर्ण बनाएको छ । यात्राअघि मौसमको जानकारी लिन, स्थानीय गाइड तथा टुर अपरेटरसँग सम्पर्कमा रहन र घरमा रहेका परिवार तथा साथीहरूसँग नियमित सम्पर्क कायम राख्न अर्चनाको आग्रह छ ।
उच्च हिमाली पदयात्रामा मात्रै जोड नदिई दसैंको सांस्कृतिक वातावरण बुझ्न मध्यपहाडका कम परिचित गाउँ पनि रोज्न सकिने नेपाल पर्यटन बोर्डको भनाइ छ । धेरै उचाइमा पुग्नु नपर्ने यस्ता यात्रामा गाउँको रहनसहन, स्थानीय संस्कृति र चाडपर्वको वातावरणसँग नजिकिन सकिन्छ । प्रकृति मन पराउनेका लागि भने चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र कोशी टप्पुजस्ता गन्तव्य विकल्प हुन सक्छन् । शरद्को मौसममा चितवन र बर्दियामा गर्मी केही कम हुन्छ । कोशी टप्पु चराचुरुंगी अवलोकनका लागि आकर्षक गन्तव्य हो ।
काठमाडौंमै बस्नेका लागि पनि यात्रा टाढा जानुपर्छ भन्ने छैन । काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र त पुरानै गन्तव्य हुन् । तर अर्चनाको सुझावमा कीर्तिपुर, बुङमती, खोकना, असन र मंगलबजारका पुराना बस्तीलाई पनि समय दिएर हेर्न सकिन्छ । उनको जोड ‘हेरेर फर्किने’ भन्दा ‘बुझेर फर्किने’ यात्रामा छ ।
‘काठमाडौं उपत्यका आफैंमा लिभिङ म्युजियम हो,’ अर्चना भन्छिन्, ‘एउटा ठाउँमा पुगेर एक–दुई घण्टा समय दिएर त्यसको इतिहास, संस्कृति र स्थानीयसँग कुरा गरेर बुझ्न सकियो भने यात्रा अझै समृद्ध हुन्छ ।’
दसैंसँगै नेपालको मुख्य पदयात्रा सिजन सुरु हुन्छ । मर्दी हिमाल, अन्नपूर्ण बेसक्याम्प, पुनहिल, घोरेपानी, मुस्ताङ, तिलिचो, अन्नपूर्ण सर्किट, मनास्लु र एभरेस्ट बेसक्याम्प नेपाली यात्रुका प्रमुख रोजाइमा पर्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेको भनाइ छ । तर यस पटक सडक र पदमार्गको अवस्था बुझेर मात्रै यात्रा तय गर्नुपर्ने उनको सुझाव छ ।
बाढीपहिरोले केही रुट प्रभावित भएकाले यात्राअघि स्थानीय अवस्था बुझ्नु आवश्यक छ । विशेषगरी उचाइका विषयमा सचेत हुनुपर्ने सागर बताउँछन् । सडक मनाङसम्म पुगेपछि यात्रु छोटो समयमा धेरै उचाइमा पुग्न थालेका छन् । ‘एकैचोटि हाई अल्टिच्युडमा जानु हुँदैन । बेंसीबाट हिँड्दै, अनुकूलन हुँदै ट्रेकिङ गर्दै जानुपर्छ,’ उनी भन्छन् ।
शरीरलाई उचाइसँग अनुकूल हुन पर्याप्त समय नदिँदा लेक लाग्न सक्छ । त्यसैले सडक पुगेको छ भन्दैमा गाडीबाट एकै दिनमा तीन–साढे तीन हजार मिटर उचाइमा पुगेर यात्रा सुरु गर्नु जोखिमपूर्ण हुने सागरले जनाए । मौसम पनि उत्तिकै महत्त्वपूर्ण छ । ‘म १० दिनको यात्रामा जाँदै छु भने १० दिनमा मौसमदेखि अन्य सरकारी सूचनाको जानकारी लिनुपर्छ,’ उनले भने ।
गाइड वा ट्रेकिङ कम्पनी आवश्यक पर्ने यात्रामा आधिकारिक कम्पनी छनोट गर्नुपर्ने सागरको सुझाव छ । कम्पनीको विगतको काम, सेवा, समीक्षा र टानको सदस्यतासमेत हेर्न सकिने उनले बताए । लामो बिदाको अर्को आकर्षण विदेश यात्रा हो । दक्षिण–पूर्वी एसियाका गन्तव्य नेपालीका लागि लोकप्रिय छन् । भियतनाम, थाइल्यान्ड, मलेसिया, सिंगापुर, कम्बोडिया र दुबई अहिले नेपालीहरूको प्रमुख रोजाइमा रहेको नाट्टाका महासचिव राजकुमार देवकोटाको भनाइ छ ।
भियतनामका लागि चार रात पाँच दिनको प्याकेज करिब १ लाख ६५ हजारदेखि १ लाख ७० हजार रुपैयाँसम्ममा उपलब्ध रहेको राजकुमारले जनाए । तर विदेश जाने निर्णय गर्दा गन्तव्यको नामभन्दा पहिले भिसा हेर्नुपर्ने उनको सुझाव छ । ‘पहिलो कुरा त्यहाँको भिसाको मूल्य हेर्नुपर्यो । भिसाको कन्डिसन हेर्नुपर्यो । त्यसपछि फ्लाइट टिकटको कुरा भयो,’ राजकुमार भन्छन्, ‘त्यहाँको संस्कृतिका विषयमा पनि बुझ्नुपर्यो ।’
गन्तव्यअनुसार स्थानीय नियम र प्रोटोकल फरक हुने भएकाले यात्राअघि त्यसबारे जानकारी लिनुपर्ने राजकुमारको भनाइ छ । यस पटक अन्तर्राष्ट्रिय हवाई भाडा अघिल्लो वर्षभन्दा कम्तीमा ३० प्रतिशतभन्दा बढी महँगिएको व्यवसायीले जनाए । टिकट र प्याकेजको मूल्य बुझेर समयमै बुकिङ गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ ।
विदेश भ्रमणको योजना बनाउने नेपालीका लागि अन्तर्राष्ट्रिय वायुसेवाले पनि दसैंलाई लक्षित गरेर छुटका योजना ल्याएका छन् । कतार एयरवेजले नेपालमा पहिलो पटक दसैंलाई लक्ष्य गर्दै ‘दसैं फेस्टिभ अफर’ ल्याएको छ । ७ देखि २२ अक्टोबरसम्म टिकट खरिद गर्न सकिने र १० अक्टोबरदेखि आगामी ३१ मार्चसम्म यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । प्रिमियम र इकोनोमी दुवै क्याबिनमा लागू हुने अफरमा गन्तव्यअनुसार २५ प्रतिशतसम्म छुट छ ।
दसैंलाई नै लक्ष्य गरेर नेपालमा यस्तो अफर ल्याइएको यो पहिलो पटक रहेको कतार एयरवेजका नेपाल प्रमुख सरिक बोगटी बताउँछन् । ‘नेपालीपन देखाउँदै नेपालको प्रचार गरिएको हो,’ उनी भन्छन्, ‘दसैंमा घुम्न जाने माहोल हुन्छ । भिसा आवेदनदेखि यात्रासम्म समय लाग्ने भएकाले दसैंको उमंगकै समयमा मानिसले आफ्नो यात्रा योजना बनाऊन् भन्ने उद्देश्य हो ।’ अफर दसैंका दिनमै यात्रा गर्नुपर्ने गरी सीमित छैन । ३१ मार्चसम्म यात्रा गर्न सकिने भएकाले दसैंमा टिकट लिएर पछि यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । संसारभर रहेका नेपाली तथा नेपाल आउन चाहने विदेशी र गैरआवासीय नेपालीले पनि टिकट खरिद गर्न सक्छन् ।
क्याथे प्यासिफिकले पनि दसैंको अवसरमा गन्तव्यअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिएको थियो । हङकङसँगै अस्ट्रेलिया, जापान, क्यानडा, अमेरिका, दक्षिण कोरिया, चीन र बेलायतलगायत गन्तव्यमा छुट उपलब्ध गराइएको नेपाल प्रमुख जुनु मलेकुले बताए ।
दसैं–तिहारका बेला विदेशमा रहेका नेपाली नेपाल आउने र नेपालबाट परिवार तथा आफन्त भेट्न विदेश जाने क्रम बढ्ने भएकाले अन्तर्राष्ट्रिय वायुसेवाका लागि पनि यो टिकट बिक्रीको महत्त्वपूर्ण समय हो । त्यसैले यस पटकको लामो बिदामा यात्राका विकल्प धेरै छन् ।
कसैका लागि संसारको सर्वोच्च शिखरको दृश्य हेर्न सगरमाथाको बाटो खुला छ भने कसैका लागि मुस्ताङको फरक भूगोल र संस्कृति पर्खाइमा छ । तर यात्रा जहाँको भए पनि एउटा कुरा समान छ, दसैंको बिदा लामो हुँदैमा यात्रा हतारमा तय गर्नु हुँदैन । गन्तव्य, मौसम, बाटो, भिसा, टिकट, आवास र स्थानीय नियमबारे पहिले जानकारी लिएर मात्रै निस्कनु उपयुक्त हुन्छ ।
विदेश भ्रमणका बेला फेरि कसैले तिमीले सगरमाथा देखेका छौ भनेर सोधिहाले त्यसको जवाफ दिन सकिने गरी देश घुम्ने अवसर यही लामो बिदा हो । दसैं आयो मोबाइलमै आउँछ खुसीको दक्षिणा दुई वर्षपछि सर्वसाधारणलाई दसैंमा नयाँ नोट
सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।