दुर्घटनामा घाइते भएका ३९ जनाको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
पर्सा — पर्सा जिल्लामा असोज महिनाभर ४० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुर्घटनामा ६१ वटा सवारीसाधन संलग्न रहेका थिए। दुर्घटनामा घाइते भएका ३९ जनाको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी तथ्यांकअनुसार दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही र अन्य विविध कारण देखिएका छन्। कुल ४० दुर्घटनामध्ये १५ वटा चालकको कारण र २५ वटा अन्य कारणले भएका हुन्। यीमध्ये १५ दुर्घटना चालकको लापरवाहीले र बाँकी अन्य कारणले भएका हुन्।
यसैबीच, ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाहीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ। असोज महिनामा १ हजार ३ सय ४४ सवारीसाधनलाई कारबाही गर्दा १९ लाख ३६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम, सवारी जाँच तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनलाई निरन्तरता दिइएको बताए। उनले चालकलाई गति नियन्त्रणमा राख्न, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गरे।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।