Trending
Prev Story
Next Story

भारतविरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

Ekantipur •
October 23, 2026 • 09:30 AM
2
2 reads 0 reactions

नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण चाँडै हुने र त्यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने बताए ।

भारतविरोधी राष्ट्रवादको युग सकियो : अर्थमन्त्री वाग्ले

नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण चाँडै हुने र त्यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने बताए ।

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका छन् । शुक्रबार नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै उनले नेपाल र भारतबीचको सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्‍याउन चाहेको बताए ।

'भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौं । नेपाल र भारतबीचको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन,' एनडीटीभीकी पद्मजा जोशीसँगको कुराकानीमा वाग्लेले भने ।

उनले नेपाल र भारतबीच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको बताए । नेपालको नयाँ नेतृत्व भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहेको उनको भनाइ थियो ।

'नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ,' वाग्लेको भनाइ थियो ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह २०२६ को अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने संकेतसमेत गरे । शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने उनले बताए । उनले नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रूपमा जोडिएको उल्लेख गर्दै व्यापार तथा आर्थिक सहकार्य सुदृढ हुँदा दुवै देशलाई फाइदा पुग्ने भनाइ राखे ।

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भइसकेको छैन । यद्यपि, भ्रमणको तयारीका लागि दुवै पक्षले प्रारम्भिक काम अघि बढाइसकेका छन् । प्रधानमन्त्री शाह नोभेम्बरको अन्त्यसम्म भारत भ्रमणमा जान सक्ने बताइएको छ ।

यस वर्षको सुरुतिर नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौं र नयाँदिल्ली नयाँ राजनीतिक नेतृत्वअन्तर्गत सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासमा छन् । वाग्लेले वर्षान्तसम्म भ्रमण हुन सक्ने संकेत गरे पनि औपचारिक मिति भने घोषणा भएको छैन ।

वाग्लेले प्राकृतिक विपद्का बेला भारतले नेपाललाई गर्दै आएको सहयोगको पनि चर्चा गरे । उनले सन् २०१५ को विनाशकारी भूकम्प र हालैको बाढीका बेला भारतले देखाएको तत्परताको स्मरण गरे ।

सन् २०१५ को भूकम्पपछि राहत सामग्री बोकेको भारतीय विमान केही घण्टाभित्रै काठमाडौं आइपुगेको उनले बताए । गत अगस्टमा नेपालमा आएको बाढीका बेला पनि भारतले तत्काल सहयोग गरेको उनको भनाइ थियो ।

वाग्लेका अनुसार हालैको विपद्पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई टेलिफोन गरी नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका थिए । 'दुई देशबीच औपचारिक वार्ता र सम्पर्कका क्रममा भारत सधैं सहयोग गर्न तयार देखिएको छ । नेपाललाई जे आवश्यक पर्छ, त्यसमा सहयोग गर्न भारत तयार रहेको बताउने गरेको छ,' वाग्लेले भने ।

हिमाली क्षेत्रमा विनाशकारी हिमपहिरो र त्यससँग सम्बन्धित बाढीका कारण गत अगस्टमा नेपालमा ठूलो क्षति भएको थियो । त्यसपछि विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले राहत र उद्धारमा सहयोग गरेका थिए ।

वाग्लेको भनाइले नेपाल–भारत सम्बन्धको आर्थिक पक्षलाई पनि जोड दिएको छ । भारतको 'विकसित भारत २०४७' को लक्ष्य उल्लेख गर्दै उनले नेपाल भारतलाई थप समृद्ध, आर्थिक रूपमा बलियो र छिमेकी देशका लागि अवसर सिर्जना गर्न सक्ने मुलुक बनेको हेर्न चाहने बताए ।

उनले राम्रो राजनीतिक सम्बन्ध कायम राख्न आर्थिक सम्बन्ध नजिक हुनु आवश्यक रहेको बताए । कूटनीतिक संवादमा मात्र सीमित नभई निरन्तर प्रयासबाट द्विपक्षीय सहकार्यलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

भारतको मध्यम वर्गको आर्थिक अवस्था सुधार हुँदै जाँदा उसको क्रयशक्ति र विदेश भ्रमण गर्ने प्रवृत्ति पनि बढ्ने वाग्लेले बताए । नेपालले भारतको आर्थिक विस्तारबाट लाभ लिँदै आफ्ना पर्यटकीय गन्तव्यमा थप भारतीय पर्यटक आकर्षित गर्न चाहेको उनको भनाइ थियो ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । पेट्रोलियम पदार्थको आपूर्ति, लगानी, पारवहन सुविधा र सीमापार ऊर्जा सहकार्यमा पनि भारतको महत्त्वपूर्ण भूमिका छ । दुवै देशबीच खुला सीमा र व्यापक जनस्तरको सम्बन्ध रहेकाले नेपालको आर्थिक तथा परराष्ट्र नीतिमा भारतसँगको सम्बन्धले केन्द्रीय स्थान ओगट्दै आएको छ ।

यद्यपि, व्यापार तथा पारवहन व्यवस्था, सीमा विवाद र सार्वभौमिकता तथा राष्ट्रिय पहिचानसँग जोडिएका राजनीतिक संवेदनशीलताका कारण दुई देशबीच बेलाबखत तनाव उत्पन्न हुने गरेको छ । पारवहन र आपूर्तिका लागि भारतमाथि नेपालको निर्भरताका कारण पनि नयाँदिल्लीसँगको आर्थिक सहकार्य काठमाडौंका हरेक सरकारको प्राथमिकतामा पर्दै आएको छ ।

'अ वर्ल्ड बिटविन अर्डर्स' विषयवस्तुमा नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा राजनीतिक नेता, अर्थशास्त्री, नीतिनिर्माता र अन्य प्रतिष्ठित व्यक्तिहरू सहभागी छन् । सम्मेलनमा विश्व तथा क्षेत्रीय चुनौतीबारे छलफल भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
21h ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#अर्थमन्त्री #वाग्ले
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Politics & Governance
Build #2612