पर्सा निकुञ्जले पूर्वी क्षेत्र र कालीदहमा नयाँ मैदान बनाउँदै छ भने पुरानो ३ सय हेक्टर क्षेत्र व्यवस्थापन गर्ने योजना अघि सारेको छ।
पर्सा — घाँसे मैदान वन्यजन्तुको आहार र बासस्थानका लागि उपयोगी देखिएपछि पर्सा राष्ट्रिय निकुञ्जमा यसको क्षेत्रफल विस्तार गरिँदै छ।
निकुञ्जले चालु वर्ष थप १ हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गर्ने योजना बनाएको छ। निकुञ्ज कार्यालय आधाभारका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलका अनुसार निकुञ्जको पूर्वी क्षेत्र तथा हालको कालीदह क्षेत्रमा नयाँ घाँसे मैदान निर्माण गर्न लागिएको हो।
हाल निकुञ्जभित्र करिब दुई दर्जन घाँसे मैदान छन्। यस वर्ष पुरानो ३ सय हेक्टर घाँसे मैदानलाई समेत व्यवस्थित बनाउने योजना छ। त्यसमध्ये ५० हेक्टर क्षेत्रको घाँसे मैदान व्यवस्थापनको काम भइसकेको मण्डलले बताए।
आधाभार–भालुखोला र आधाभार–बालगंगा खोला रुटमा रहेका घाँसे मैदानलाई व्यवस्थित गर्न लागिएको हो।घाँसे मैदान व्यवस्थित गर्दा वन्यजन्तु आहाराका लागि आउने समयमा पर्यटकले पनि सहजै तिनको अवलोकन गर्न सक्नेछन्। यसका लागि घाँसे मैदानसम्म पुग्ने फायर लाइनको दुवैतर्फका झाडी सफा गरिँदै छ। यसले वन्यजन्तु अवलोकन सहज बनाउनुका साथै पर्यटकलाई सम्भावित जोखिमबारे सचेत रहन पनि मद्दत पुग्ने निकुञ्जको अपेक्षा छ।
घाँसे मैदानको विकास, आहारा प्रजातिका वन्यजन्तुको वृद्धि र बासस्थान संरक्षणका लागि गरिएका प्रयासको सकारात्मक परिणामस्वरूप पर्सा राष्ट्रिय निकुञ्जमा डेढ दशकमा बाघको संख्या झन्डै १४ गुणाले बढेको छ। सन् २००९/१० मा गरिएको गणनामा निकुञ्जमा चारवटा वयस्क बाघ मात्रै रहेकामा सन् २०२६ को गणनामा यो संख्या बढेर ७१ पुगेको छ।
निकुञ्जमा बाघको संख्या बढ्नुमा आहारा प्रजातिका वन्यजन्तुको संख्या वृद्धि र बाघ संरक्षणका लागि गरिएका प्रयास मुख्य कारण रहेको संरक्षण अधिकृत मण्डल बताउँछन्। ‘जहाँ घाँसे मैदानको विकास हुन्छ, त्यहाँ मृग प्रजातिका वन्यजन्तु फस्टाउँछन्। यी नै बाघ लगायतका मांसाहारी वन्यजन्तु बाघका मुख्य आहारा हुन्,’ उनले भने, ‘बाघको प्रभावकारी संरक्षणसँगै राम्रो बासस्थान र पानीको व्यवस्था भए आहारा र पानीको खोजीमा बाघ भौँतारिनुपर्दैन।’
करिब डेढ दशकअघि रामभौरी, भाठा, रमौली र प्रतापपुरलगायत निकुञ्जभित्र रहेका मानव बस्ती स्थानान्तरण गरिएपछि ती क्षेत्रमा ठूला घाँसे मैदान विकास भएका छन्। बस्ती स्थानान्तरणपछि खाली भएका क्षेत्रमा घाँसे मैदान र वन्यजन्तुको बासस्थान विस्तार हुँदा बाघलगायत अन्य वन्यजन्तुको संख्या वृद्धि हुन सहयोग पुगेको मण्डल बताउँछन् ।
पर्सा, बारा र मकवानपुर गरी तीन जिल्लाको ६ सय २७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज जंगली हात्तीको प्रमुख बासस्थानका रूपमा समेत परिचित छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।