गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाललगायतले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका थिए ।
भैरहवा — रुपन्देहीको मायादेवी गाउँपालिकाले बिहीबार १ सय ४८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । लामो समयदेखि स्थानीय गाउँ ब्लक कित्तामा बसोबास गर्दै आएका परिवारलाई मायादेवी-७ को वडा कार्यालयमा आयोजित कार्यक्रममा लालपुर्जा हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाललगायतले संयुक्त रूपमा लालपुर्जा वितरण गरेका थिए ।
अध्यक्ष चौधरीले आफ्नो कार्यकालमा पालिकाभित्रका भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण कार्यलाई प्राथमिकतामा राखिएको बताए । नागरिकको दैनिक जीवनयापन सहज तुल्याउन र उनीहरूलाई वास्तविक भूमिको मालिक बनाउन पालिकाले सक्रिय भूमिका खेल्दै आएको उनको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले हातमा लालपुर्जा परेसँगै स्थानीय बासिन्दाको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । अब स्थानीयले आफ्नो जग्गाको पुर्जा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट सहजै कर्जा लिन र विभिन्न आयआर्जन तथा व्यावसायिक कारोबार गर्न पाउने बाटो खुलेको उनले उल्लेख गरे ।
मायादेवी-७ का अध्यक्ष शैलेन्द्रकुमार पाण्डेले स्थानीय अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने सपना पूरा भएको बताए । लामो समयदेखि पालिका अध्यक्ष र नापी कार्यालयसित समन्वय गरेर लालपुर्जा वितरण गर्न सफल भएको बताए । 'मैले स्थानीय बासिन्दासित गरेको वाचा पूरा गरेँ,' उनले भने ।
लालपुर्जा पाएपछि सर्वसाधारणले कार्यक्रमस्थलमा नाचगान गरेका थिए ।