एपीएफले मधेस प्रदेशलाई ३–१ गोलले पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको मधेस दोस्रो खेलमा भने एपीएफसँग रोकिएको छ ।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारको पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले मधेस प्रदेशलाई ३–१ गोलले पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको मधेस दोस्रो खेलमा भने एपीएफसँग रोकिएको छ ।
एपीएफका लागि युवराज खड्काले ३०औं मिनेटमा, समुन श्रेष्ठले पहिलो हाफको अतिरिक्त समयको ४७औं मिनेटमा र डिसन राईले दोस्रो हाफको अतिरिक्त समयको ९८औं मिनेटमा गोल गरे ।
मधेसका दीपेन्द्र विकले ९२औं मिनेटमा एक गोल फर्काए । ६७औं मिनेटमा मधेसका गोलरक्षक युनिस चौधरीले डी एरिया बाहिर हातले बल छोएपछि रातो कार्ड पाए । त्यसपछि मधेस १० खेलाडीमा सीमित भएको थियो ।
खेलमा एपीएफका सन्तोष खत्री तथा मधेसका क्षितिज भण्डारी र हेमन्त भुजेलले पहेंलो कार्ड पाए । समूहमा दुई खेल खेलेको मधेसले एकमा जित र एकमा हार बेहोरेको छ । अब एपीएफ र सुदूरपश्चिमबीचको खेलको नतिजाका आधारमा मधेस अर्को चरणमा पुग्ने वा नपुग्ने टुंगो लाग्ने म्याच कमिस्नर वीरेन्द्र पाण्डेले बताए ।
शुक्रबार दुई खेल हुनेछन् । बिहान ९ बजे लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा दिउँसो २:३० बजे बागमती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।