नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा साढे ११ हजार भन्दा बढी कार आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको अवधिमा ११ हजार ६९० वटा जीप, कार तथा भ्यान आयात भएका हुन् ।
विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ९ हजार ४८ वटा विद्युतीय सवारी आयात भएका छन् । यो अवधिमा पेट्रोलबाट चल्ने २ हजार ३०२, डिजेलबाट चल्ने २६७ र पेट्रोल–इलेक्ट्रिक हाइब्रिड ७३ वटा आयात भएका छन् । विभागको तथ्यांक अनुसार चारपाङ्ग्रे यात्रुवाहक सवारी आयातमा विद्युतीय सवारीको हिस्सा करिब ७७.४ प्रतिशत पुगेको छ । पेट्रोल सवारीको हिस्सा १९.७ प्रतिशत, डिजेलको २.३ प्रतिशत र हाइब्रिडको ०.६ प्रतिशत छ । यस अवधिमा चारपाङ्ग्रे यात्रुवाहक सवारी आयातमा मात्रै करिब २३ अर्ब ५० करोड ८३ लाख रुपैयाँ खर्च भएको छ । त्यसमा विद्युतीय सवारीको आयात मूल्य २० अर्ब ३१ करोड २३ लाख रुपैयाँभन्दा बढी छ । यसबाट सरकारले १२ अर्ब ९ करोड १० लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ ।
पेट्रोल सवारीको आयात मूल्य २ अर्ब १२ करोड १९ लाख रुपैयाँ, डिजेल सवारीको ६६ करोड ४१ लाख रुपैयाँ र हाइब्रिड सवारीको ४० करोड ९९ लाख रुपैयाँ रहेको छ । पेट्रोलबाट चल्ने सवारीबाट सरकारले ४ अर्ब ७९ करोड १८ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको भन्सारको तथ्यांकले देखाएको छ । त्यस्तै डिजेलबाट चल्ने सवारीबाट राज्यकोषमा २ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ । त्यस्तै हाइब्रिड सवारीबाट सरकारले १ अर्ब १ करोड ५६ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ । कुल चारपांग्रे यात्रुवाहक सवारीको आयात मूल्यमा विद्युतीयको हिस्सा करिब ८६.४ प्रतिशत छ । असोज महिनामा मात्रै ३ हजार ८०२ वटा विद्युतीय कार, जीप तथा भ्यान आयात भएको थियो ।
पेट्रोल सवारीको आयात परिमाण विद्युतीय सवारीको तुलनामा निकै कम भए पनि राजस्व योगदान उल्लेखनीय छ । पेट्रोल सवारी आयातको मूल्य कुल चारपांग्रे यात्रुवाहक सवारीको करिब ९ प्रतिशत छ । भन्सार वर्गीकरणमा पेट्रोलबाट चल्ने तीनपांग्रे अटो रिक्सा पनि छुट्टै शीर्षकमा समेटिएको छ । चार महिनामा २ हजार ४६ वटा अटो रिक्सा आयात भएका छन् । तिनको आयात मूल्य ४६ करोड ४७ लाख रुपैयाँभन्दा बढी छ । चारपांग्रे यात्रुवाहक सवारीमा डिजेलको हिस्सा २.३ प्रतिशत मात्रै छ । आयात परिमाणका हिसाबले डिजेल सवारी पेट्रोल र विद्युतीय दुवैभन्दा निकै पछाडि छ । डिजेलबाट चल्ने सवारीमध्ये १५ सयदेखि २५ सय सीसी क्षमताका सवारी र २५ सय सीसीभन्दा माथिका सवारीको विवरण विभागले अलग–अलग राखेको छ। तर कात्तिकसम्मको समग्र तथ्यांकले डिजेल सवारीको आयात विद्युतीयको तुलनामा न्यून रहेको देखाउँछ ।
८ हजारभन्दा बढी तीन पांग्रे विद्युतीय सवारी आयात
चारपांग्रे यात्रुवाहक सवारीबाहेक विद्युतीय तीनपांग्रे सवारीको आयात पनि उल्लेखनीय छ । कात्तिकसम्म ८ हजार ३८३ वटा विद्युतीय तीनपांग्रे सवारी आयात भएका छन् । तीमध्ये ४ हजार ९६१ वटा जडान नगरिएको अवस्थामा र ३ हजार ४२२ वटा पूर्ण रूपमा आयात भएका छन् ।
तीनपांग्रे विद्युतीय सवारीको आयात मूल्य १ अर्ब २९ करोड ५४ लाख रुपैयाँ छ । यसबाट सरकारले ४४ करोड ४५ लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ । यसरी चारपांग्रे यात्रुवाहक सवारीका ९ हजार ४८ वटा विद्युतीय कार, जीप तथा भ्यान र तीनपांग्रे ८ हजार ३८३ वटा विद्युतीय सवारी गरी कात्तिकसम्म १७ हजार ४३१ वटा विद्युतीय सवारी आयात भएका छन् । यी दुवै समूहको आयात मूल्य जोड्दा २१ अर्ब ६० करोड ७७ लाख रुपैयाँ हुन्छ ।