सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा तयारी, व्यवस्थापन र कार्यसम्पादनको अवस्थाबारे छलफल गर्दै यस्तो निर्देशन दिइएको हो ।
सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई तोकिएको जिम्मेवारी समयमै पूरा गर्न निर्देशन दिइएको छ ।
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा तयारी, व्यवस्थापन र कार्यसम्पादनको अवस्थाबारे छलफल गर्दै यस्तो निर्देशन दिइएको हो ।
मुख्यमन्त्री मंगलबहादुर शाहीले समग्र तयारीका काम अघि बढिरहेको भन्दै सबै उपसमिति र कार्यसम्पादन समितिका संयोजकलाई धन्यवाद दिए । माथिल्लो तहमा समन्वय राम्रो भए पनि तल्लो तहसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उनको भनाइ थियो ।
उनले संघ, प्रदेश र विभिन्न निकायबीच औपचारिक सम्बन्ध मात्रै नभई रचनात्मक र भावनात्मक सम्बन्धसमेत आवश्यक रहेको बताए । प्रदेश खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालय, खेल संघका प्रतिनिधि, खेलाडी र उपसमितिका संयोजकबीच आपसी समन्वय बलियो बनाउनुपर्ने उनको भनाइ थियो । ट्राफिक व्यवस्थापन, सीसीटीभी क्यामेरा र खेलाडीको बसोबास तथा सुरक्षालाई पनि प्राथमिकतामा राख्न उनले आग्रह गरे ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले सुरुवाती चरणमा कमान्ड र जिम्मेवारी बाँडफाँटमा केही अन्योल देखिए पनि अहिले त्यो हटेको बताए । उपसमितिहरू आआफ्नो जिम्मेवारीअनुसार परिचालित भएको उल्लेख गर्दै उनले बाँकी कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्ने बताए । दुवै उपाध्यक्षको निगरानीमा उपसमितिले काम गर्ने र मन्त्रालयले आवश्यक सुपरिवेक्षण तथा सहजीकरण गर्नुपर्ने उनको भनाइ थियो । आयोजक समितिका रामचरित्र मेहताले समापन समारोहबाहेक अन्य समितिका काम लक्ष्यअनुसार अघि बढेको जानकारी दिए । पुरस्कार व्यवस्थापन र अनुगमनलगायतका समितिहरू पनि प्रतियोगिता सुरु भएसँगै सक्रिय भएको उनले बताए । समग्र तयारीमा ठूलो समस्या नरहेको उल्लेख गर्दै उनले निमन्त्रणा र पास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री र मन्त्रीहरूबाट निमन्त्रणासम्बन्धी पत्र प्राप्त भइसकेको छ । सम्बन्धित निकायसँग समन्वय गरेर निमन्त्रणा कार्ड पठाउने काम अघि बढाइनेछ । सबै समितिको नियमित छलफल र समन्वयबाट बाँकी काम सम्पन्न गर्ने उनको भनाइ थियो ।
बैठकमा सहभागीहरूले प्रतियोगितालाई सफल बनाउन सबै निकायले आआफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न र देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।