कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यसको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।
काठमाडौँ — कर्णाली प्रदेशमा भइरहेको दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा हुने भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ बाट हुनेछ । यसअघि नै प्रतियोगिताका विभिन्न खेल भने सुरु भइसकेका छन् । प्रतियोगिता मंसिर २७ मा टुंगिनेछ ।
कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यसको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ । नेपालको गौरवका रूपमा रहेको राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्न पाएकोमा कान्तिपुर म्याक्सले खुसी व्यक्त गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका एजीएम सागर केसीले प्रतियोगिताको प्रत्यक्ष प्रसारणले यसको व्यापकता र महत्त्व बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले राष्ट्रिय खेलकुद बढीभन्दा बढी दर्शकसम्म पुग्नेछ र नेपाली खेलकुदको विकासमा मद्दत पुग्नेछ ।’
यस्तै, एक्सट्रिम इनर्जी ड्रिंक्सकी बिजनेस हेड सोनिया रानाले भनिन्, ‘आम नेपाली खेलकुदप्रेमीमाझ अब दसौं राष्ट्रिय खेलकुद पुग्ने भएको छ । लोकप्रिय प्रतियोगितासँग राष्ट्रिय प्रतियोगिता टीभीमा आउँदा यसले अन्य धेरै खेलकुदको विकासमा पनि मद्दत पुग्नेछ ।’