चार–पाँच दिनअघि अर्जुन घिमिरे ‘पाँडे’ले एउटा उद्घोष गरेका थिए, ‘सक्किगोनि चाँडै आउँदैछ ।’ त्यो आकर्षक डिजाइनमा दुई पात्र देखिन्थे । एक पाँडे, अर्को जिग्री । जिग्री को हुन् भनेर त चिनाइरहनु पर्दैन । कुमार कट्टेल तपाईंहरूको परिचित जो परे ।
लामो विश्रामपछि उनीहरू नयाँ संस्करण लिएर आउँदै थिए । अर्थात्, सक्किगोनि-४ । उनीहरूको यो उद्घोषसँगै दर्शकहरू यसरी झ्याम्मिए कि, मानौँ उनीहरू कहिलेदेखि यसैको अधीर प्रतीक्षामा थिए । अर्जुन घिमिरेको फेसबुक पेजमा आएका लाइक र प्रतिक्रियाहरू अचम्मलाग्दा थिए ।
कसैले लेखे, ‘यही दिनको प्रतीक्षामा थिएँ, बल्ल मज्जा आयो ।’ कसैले लेखे, ‘सकिन्न भने सकिन्न भनौँ । यो सुचारु गर्ने र बन्द गर्ने काम बन्द गर्नुस् । यो कार्यक्रम बन्द हुँदा म पागल भएको थिएँ ।’ अनि कतिपयले चाहिँ विगतमा यस शृंखलामा जोडिएका चर्चित पात्रहरू सम्झिए । उनीहरूले लेखे, ‘फलानो चाहिँ खोइ ?’
सम्भवतः यसैको जवाफ दिएको छ अर्जुन घिमिरेको पछिल्लो पोस्टले । उनले सागर लम्सालसँगको फोटो राख्दै लेखेका छन्, ‘सधैँझैँ आत्मीय भेटघाट, उही पुरानो जोस । जे होस्, कुरा सधैँ एउटैमा टुंगिन्छ, सक्किगोनि ।’
निःसन्देह, अब सक्किगोनि-४ मा तपाईंहरूले उही बलेलाई पनि भेट्नुहुनेछ ।