पहिलो फिल्मबाटै रेखा थापाको विश्वास जितेका सबिर श्रेष्ठले त्यसयता उनका आठ फिल्म निर्देशन गरिसकेका छन् । दुई दशक लामो सहकार्यको नयाँ शृंखला हो, ‘३६ को आँकडा’ ।
काठमाडौँ — फिल्म ‘काली’ (२०७०) प्रदर्शन भएको वर्ष निर्देशक सबिर श्रेष्ठले सार्वजनिक मञ्चमा भावुक हुँदै सुनाएका थिए, ‘एउटा पुरुष सफल हुन महिलाको हात हुन्छ । चाहे ती आमा हुन् वा श्रीमती । मेरो सफलतामा चाहिँ बहिनी रेखा थापाको हात छ ।’
आगामी मंसिर १७ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘३६ को आँकडा’ अभिनेत्री रेखा थापा र सबिरको पछिल्लो सहकार्य हो । यो फिल्मको निर्माता पनि रेखा हुन् । उसो त दुवैले आफ्नो करिअरमा धेरै फिल्ममा सहकार्य गरेका छन् । रेखालाई पनि आफूले निर्माण गर्ने फिल्ममा असाध्यै विश्वास लाग्ने निर्देशक हुन्, सबिर । त्यो विश्वासको पहिलो जग थियो फिल्म ‘कसले चोर्यो मेरो मन’ ।
०६७ मा प्रदर्शन भएको यो फिल्मले त्यतिबेला व्यावसायिक सफलता हासिल गरेको थियो । सबिरको यो पहिलो निर्देशकीय डेब्यु फिल्म थियो । फिल्ममार्फत सबिरलाई निर्देशनमा पदार्पण गराउने एउटै पात्र थिइन्– रेखा । ‘मलाई विश्वास गरेर पहिलो पटक निर्देशक रेखाले नै बनाएकी हुन्,’ कान्तिपुरसँगको कुराकानीमा सबिर भन्छन् ।
आजभन्दा करिब २५ वर्षअघि अनिश कोइराला निर्देशित ‘मितिनी’मा अभिनय गर्दा रेखा किशोरवयमै थिइन् । फिल्ममा सबिर मुख्य सहायक निर्देशक थिए । उनले रेखा लगायतका कलाकारलाई अभिनयसमेत सिकाउँथे । ‘रेखा लामो संवाद पनि एकपटक पढिसकेपछि बिर्सन्नथिन् । कतिपय ठाउँमा मलाई कसरी गर्ने भनेर सोध्थिन् । उनको मिहिनेती र निडर स्वभाव राम्रो लागेको थियो,’ सबिर सम्झन्छन् ।
रेखाले अभिनय गरेका केही फिल्ममा सबिर मुख्य सहायक निर्देशक नै दोहोरिए । आकाश अधिकारी निर्देशित फिल्म ‘शासन’मा रेखा मुख्य भूमिकामा थिइन् । यतिन्जेलसम्म उनीहरूको सम्बन्ध दाजुबहिनीका रूपमा न्यानो बनिसकेको थियो । सबिर रेखालाई नानी सम्बोधन गर्थे ।
फिल्म ‘शासन’को छायांकन पोखरामा थियो । सुटिङको बेला निर्देशक आकाश दुई दिनका लागि काठमाडौं फर्किनुपर्ने भयो । ती दुई दिनको बागडोर सबिरले सम्हाले । ‘दुई दिनको बागडोर सम्हाल्दा मैले दाइभित्रको क्षमता जाँच्ने मौका पाएँ । सट ब्रेकडाउनदेखि टेकिङ शैली होस् वा फ्रेमिङ, दाइले गजबसँग गर्ने । म त उहाँको क्षमताबाट प्रभावित भएँ,’ रेखा सुनाउँछिन् ।
एउटा मन्दिरनिर छायांकन चलिरहेको समय रेखाले सबिरको चाहना खोतलिन्, ‘तपाईंलाई निर्देशक बन्न मन छैन ?’ सबिरले भने, ‘बन्न त मन छ नि नानी । तर कसले बनाउँछ र ?’
त्यही मौकामा रेखाले थपिन्, ‘उसोभए कन्सेप्ट सुनौँला साँझ ।’ साँझ सबिरले रेखालाई दुई-तीनवटा कथा सुनाए । सबिरले सुनाएका कथाहरू सुनेपछि रेखा निर्धक्क भइन्, ‘अब मेरो फिल्मको निर्देशक उनै हुन् ।’
सबिरलाई रेखाले ‘शासन’ युनिटअगाडि गरेको प्रतिज्ञा सम्झना छ । रेखाले वचन दिएकी थिइन्, ‘रेखा फिल्म्सको अर्को फिल्मको निर्देशकचाहिँ सबिर हुन् ।’
काठमाडौं फर्किएपछि उनले निर्माता छवि ओझालाई भनिन्, ‘हिरो फिल्मको बेला ममा तपाईंले जुन जुनून देख्नुभएको थियो, त्यस्तै जुनून एकजना मान्छेमा छ । उनलाई निर्देशक बनाउनुपर्छ ।’
सुरुमा त छवि मानेनन् । रेखा अडानबाट पछि हटिनन् । त्यसपछि छवि आइडिया सुन्न तयार भए । सबिरलाई ती दिनको सम्झना छ । सुनाउँछन्, ‘म केही काममा व्यस्त थिएँ । एकदिन छवि सरले फोन गरेर बोलाउनुभयो । म घर गएर कथा सुनाएँ ।’
तर सबिरको कथामा छविलाई भरोसा भएन । त्यतिबेला आइरहेका फिल्मभन्दा फरक शैलीको थियो ‘कसले चोर्यो मेरो मन’को कथा । रेखाले कन्भिन्स गराइन्, ‘यिनी खतरा निर्देशक हुन् । मलाई विश्वास गर्नु ।’
अन्ततः छवि राजी भएसँगै सबिरले ‘कसले चोर्यो मेरो मन’बाट आफूलाई प्रमाणित गर्ने मौका पाए । फिल्मको खिचाइ भने छविलाई चित्त बुझिरहेको थिएन । उनले रेखालाई भने, ‘के खिचेको अहिलेसम्म ! ७०/८० दिन लागिसक्यो । तिमीले मलाई डुबाउने भयौ ।’
यता रेखालाई सबिरको काम पृथक् लागिरहेको थियो । उनले थथपप्याइरहिन्, ‘दाइ तपाईंले राम्रो गरिरहनुभएको छ ।’
‘प्रोड्युसरलाई भार पर्छ भनेर सिर्जनशील आइडिया लगाउने सोचबाट राम्रो काम निकालिरहनुभएको थियो । मलाई उहाँप्रति शतप्रतिशत विश्वास थियो,’ रेखा सम्झन्छिन् ।
फिल्म खिचेर सकिँदासम्म पनि ‘डुब्छु’ भन्ने मनसाय बनाएका छविले जब फुटेजहरू चेक गरे, त्यसपछि उत्साहित हुँदै रेखालाई फोन गरे, ‘रेखा म्याम, मैले निर्देशकचाहिँ खतरै लिएको हुँ है ।’ छविले पहिलो पटक सबिरलाई भारतीय निर्देशक सञ्जय लीला भन्सालीसँग तुलना गर्दै प्रशंसा गरे ।
‘त्यो फिल्म सुपरहिट भयो, अनि त फिल्ममा हाम्रो सहकार्य राम्रै जम्यो,’ रेखा भन्छिन् ।
रेखा फिल्म्सको ब्यानरबाटै ‘हमेशा’, ‘काली’, ‘तथास्तु’, ‘रामप्यारी’ लगायतका फिल्ममा सबिरले निर्देशन गरे । सबिरले हालसम्म ‘३६को आँकडा’सहित दुई दर्जन फिल्म निर्देशन गरे । त्यसमध्ये आठवटा फिल्ममा रेखा मुख्य अभिनेत्री छिन् । ‘तर सबिर दाइमाथि मैले केही हदसम्म अन्याय गरेँजस्तो लाग्छ । किनकि उहाँको फिल्म बनाउने प्याटर्न नै ‘कसले चोर्यो मेरो मन’जस्तो हो,’ रेखा सुनाउँछिन् ।
यसपटक ‘३६ को आँकडा’ जुर्नुको पछाडि पनि उनीहरूको आत्मीय सम्बन्ध र एकअर्कालाई गरिने विश्वासको भूमिका छ । किनकि रेखाको अनुभवले दुई जनाको सहकार्य सधैं फापेको बताउँछ । यो फिल्ममा रेखा प्रहरी अफिसरको भूमिकामा छिन् । सबिर रेखालाई भन्छन् पनि, ‘नानी, फिल्ममा कि म तँलाई राजकुमारी बनाउँछु कि कमान्डर ।’ रेखालाई पनि आफ्नो फिल्म करिअरमा सबिरले जुन कमान्ड सम्हाले, त्यसले उचाइ दिएको विश्वास छ ।
‘३६को आँकडा’को सुरुवाती नाम ‘काली २’ थियो । अचानक रेखाको मनले मानेन । उनलाई लाग्यो, ‘त्यो नामको ब्याज खानुभन्दा नयाँ सिराबाट सोच्नुपर्छ ।’
‘३६ को आँकडा’को काम भइरहेको बेलामा रेखा र सबिरको केही समय बोलचाल बन्द पनि भयो । कारण थियो– प्रोजेक्ट समयमै तयार नहुनु । ‘तर आफ्नो मान्छेसँग बोलचाल नभए पनि वैमनश्यता चाहिँ नहुने रहेछ,’ रेखा भन्छिन् ।
सबिरको बुझाइमा दुई जनाको फिल्म सहकार्यले सुखद यात्रा तय गर्नुको कारण एकअर्काको क्षमता र सोचलाई बुझ्नु हो । ‘हामीले यति धेरै काम गर्यौँ कि मैले कुनै सिन वा डाइलग बनाएँ भने रेखा कसरी प्रस्तुत गर्छिन् भन्ने पहिल्यै सोच्न सक्छु,’ सबिर भन्छन्, ‘अनि रेखाले पनि सेटमा मैले के खोजेको भन्ने कुरा इसारामै बुझ्छिन् ।’
दुवैको भनाइमा ‘३६ को आँकडा’ समाजको कथा हो, जसले सम्बन्धहरूको अन्तरविरोधमाथि विमर्श गर्छ । ‘यसमा केही यस्ता मुद्दा छन्, जुन हेरेर दर्शकले एकपल्ट सोच्न बाध्य हुन्छन्,’ रेखा भन्छिन् ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।