Trending
Prev Story
Next Story

खप्तडमा पर्यटकलाई बासको सकस, करोडौंका आवासगृह प्रयोगविहीन

Ekantipur •
November 25, 2026 • 08:03 AM
8
8 reads 0 reactions

भवन बनेको दुई वर्ष बित्दा पनि सञ्चालन कार्यविधि बनेन । प्रयोगमा नआउँदै भवनका शौचालय र झ्यालढोका जीर्ण ।

खप्तडमा पर्यटकलाई बासको सकस, करोडौंका आवासगृह प्रयोगविहीन

भवन बनेको दुई वर्ष बित्दा पनि सञ्चालन कार्यविधि बनेन । प्रयोगमा नआउँदै भवनका शौचालय र झ्यालढोका जीर्ण ।

बझाङ — भवन निर्माण भएको दुई बर्ष वितिसक्दा पनि प्रयोगमा आउन नसके पछि सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड पुग्ने पर्यटकले अहिले पनि व्यवस्थित आवास सुविधा पाउन सकेका छैनन् । पर्यटकका लागि भन्दै करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका भवन भने प्रयोग नै नभएर जीर्ण बन्न थालेका छन् ।

खप्तड राष्ट्रिय निकुञ्जको मुख्य ब्यारेकनजिक निर्माण गरिएका ८० बेड क्षमताका आवास गृह र डोटीको बाटो हुँदै खप्तड आउने पर्यटकलाई लक्षित गरी बिचपानीमा बनाइएका २० बेड क्षमताका संरचना अझै सञ्चालनमा आउन सकेका छैनन् । चिसो मौसममा समेत कोठाभित्र न्यानो बनाउन सक्ने प्रविधिसहित निर्माण गरिएका यी भवन प्रयोगविहीन हुँदा खप्तड पुग्ने पर्यटकले आवासको समस्या झेल्दै आएका छन् ।

भवन निर्माणका लागि २०७६ सालमा ठेक्का प्रक्रिया सुरु भएको थियो । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरेको ५ करोड रुपैयाँबाट सुरु भएको यी भवनको निर्माणमा हालसम्म ६ करोड बढी खर्च भइसकेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जले प्रिफ्याब प्रविधिमा आधारित भवन सात महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ चैतमा निर्माण कम्पनी टीडीआर एन्ड बीजी जेभीलाई स्वीकृति दिएका भवन पाँचपटक म्याद थप्दा पनि सम्पन्न हुन नसके पछि ठेक्का तोडेर २०८१ खप्तडको भवन निर्माणको जिम्मा गजेन्द्र निर्माण सेवा र बिचपानीको भवनको जिम्मा नेत्रेश्वरी निर्माण सेवालाई दिइएको थियो । ठेक्का अनुसार भवनको सेफ्टी ट्यांकीलगायतका संरचना अझै निर्माण सम्पन्न हुन बाँकी राखेर यी कम्पनीले भवन निकुञ्जलाई हस्तान्तरण गरिसकेका छन् ।

दुई वर्षअघि नै भवन हस्तान्तरण भए पनि सञ्चालनको जिम्मेवारी र व्यवस्थापन कसरी गर्ने भन्ने कार्यविधि नबन्दा भवन प्रयोगविहीन मात्रै बनेका छैनन् । करौडौं लगानीका संरचना जीर्ण हुन थालेका छन् । प्रयोगमा नआउँदै भवनका शौचालय चर्किएका छन् । कतिपय कोठाका झ्यालढोका बाङ्गिएका छन् भने पहिले निर्माण गरिएका केही संरचना बिग्रिसकेका छन् । यता सुविधायुक्त भवन अलपत्र छन् भने यहाँ पुग्ने पर्यटक भने सामान्य आवास सुविधाको अभावमा नमिठो अनुभव बोकेर फर्किने गरेका छन् ।

सुविधायुक्त आवास सञ्चालनमा भएको ढिलाइले खप्तडको पर्यटन प्रवर्द्धनमा समेत असर परेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । बझाङको दारुगाउँमा होमस्टे सञ्चालन गर्दै आएका धनराज खड्काले पर्यटकको चाप बढेका बेला पर्याप्त आवास नहुँदा एउटै कोठामा १० देखि १५ जनासम्म कोच्चिएर सुत्नुपर्ने अवस्था भएको बताए।

हिउँदमा चिसोका कारण पर्यटकले थप सास्ती भोग्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । ‘धेरै मानिस आएका बेला सुत्ने ठाउँ नपाएर एउटै कोठामा १०/१५ जनासम्म कोच्चिएर सुत्नुपर्छ । हिउँदमा चिसोले कठ्याङ्ग्रिनुपर्ने अवस्था छ,’ खड्काले भने, ‘भवन संचालनमा आइदिएको भए । खप्तड आउने पर्यटकलाई सुविधा हुने थियो ।’ खड्काले आवास गृह सञ्चालनमा आए पर्यटकको बसाइँ सहज हुने मात्र नभई खप्तडमा पर्यटकको आगमन र बसाइँ अवधि पनि बढ्न सक्ने बताए ।

खप्तड प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । तर, पर्यटकलाई आवश्यक पर्ने आधारभूत आवास तथा खानपानको व्यवस्था नहुँदा यसको पर्यटन सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन । करोडौं खर्चेर बनाइएका संरचना सञ्चालनमा ल्याउन नसक्नु र बनेका भवनसमेत जीर्ण हुँदै जानुले सरकारी लगानीको उपयोगिता र जिम्मेवारी माथि समेत प्रश्न उठ्न थालेको छ ।

यता खप्तड राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बलराम यादवले भवन सञ्चालन गर्ने कार्यविधि अझै तयार नभएको बताए । उनका अनुसार निर्माणका क्रममा बनाइएका शौचालयलगायतका केही संरचना बिग्रिसकेका छन् भने सेफ्टी ट्यांकी र अन्य केही संरचना बनाउन बाँकी छ । ‘यी सबै काम व्यवसायीले नै गर्ने गरी होटल सञ्चालनका लागि टेन्डर आहृवान गर्ने तयारी भइरहेको छ,’ यादवले भने, ‘कार्यविधि बनाएर ठेक्का प्रक्रियामा जान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले काम गरिरहेको छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले खप्तड ब्यारेक र बिचपानीका दुवै आवास गृह एउटै व्यवसायीलाई सञ्चालनको जिम्मा दिने गरी कार्यविधि बनाउने विषयमा छलफल भइरहेको बताए । न्यूनतम राजस्व तोकेर व्यवसायीलाई जिम्मा दिने संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार पनि उसैले गर्ने प्रस्तावमा छलफल भइरहेको उनले बताए । ‘खाने बस्ने न्यूनतम सुविधा नभएका कारण खप्तडमा पर्यटक बढ्न सकेका छैनन् । अर्कोतिर बनेका भवन प्रयोगमा आउन नसकेको कुरा हामीलाई पनि लाजको विषय बनेको छ,’ ढकालले भने, ‘अबको दुई महिनाभित्र यी सबै कुरा टुंग्याएर ठेक्का खोल्ने गरी काम गरिरहेका छौं ।’

उनका अनुसार विभागले सञ्चालन कार्यविधि तयार गर्ने र कृषि, वन तथा पर्यावरण मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर प्रक्रिया अघि बढाउने तयारी छ । आवास गृह सञ्चालनबाट प्राप्त हुने राजस्वका सम्बन्धमा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने भएकाले प्रक्रियामा केही समय लाग्न सक्ने उनले बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने २२ जनालाई कारबाही

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने २२ जनालाई कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नग...

#पर्यटक
Compare →
Nagarik News
22h ago
ठमेलमा रात्रिकालीन अनुगमन: पर्यटक ठग्ने र मापदण्ड मिच्ने २२ जना कारबाहीमा

ठमेलमा रात्रिकालीन अनुगमन: पर्यटक ठग्ने र मापदण्ड मिच्ने २२ जना कारबाहीमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्ने तथा मापदण्डविपरीत गतिविधि गर्ने २२ जनालाई कारबाही गरेको छ।

#पर्यटक
Compare →
Bizshala
2d ago
पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन्  किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन् किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न...

#पर्यटक
Compare →
Onlinekhabar
5d ago
नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक

८ मंसिर, काठमाडौं । विश्व पर्यटन बजारमा नेपालको पहिचान साहसिक गन्तव्यका रूपमा अधिक छ । विभिन्न प्रवर्द्धनात्मक अभियानमा समेत हिमाल, पदयात्रा, जंगल सफारीजस्ता गतिविधि प्राथमिकता दिएर नेपाल चिनाइन्छ । यसबाहेक धार्मिक पर्यटक आकर्षित गर्ने गरी प्रवर्द्धन …

#पर्यटक
Compare →

Related Stories

World News
Build #2625