बागमती युथ क्लबलाई ६–० गोल अन्तरले मंगलबार पराजित गर्दै डिफेन्डिङ च्याम्पियन पुलिस सेमिफाइनलमा पुगेको हो ।
विराटनगर — रेखा पौडेलको ह्याट्रिकसँगै विभागीय टोली नेपाल पुलिस फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बागमती युथ क्लबलाई ६–० गोल अन्तरले मंगलबार पराजित गर्दै डिफेन्डिङ च्याम्पियन पुलिस सेमिफाइनलमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।
झापाको दुधे खेलमैदानमा पुलिसकी रेखा पौडेलले तीन गोल गरिन् । कप्तान अमृता जैसी, सम्झना लावती र रेखाले गोल गर्दै पहिलो हाफमै पुलिसलाई बलियो अवस्थामा पुर्याएका थिए ।
खेलको १५ औं मिनेटमा अमृता जैसीले हेडमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाइन् । पूजा रानाको फ्रिकिकमा जैसीले हेडमार्फत बललाई जाली चुमाइन् । दुई मिनेटपछि पुलिसले पेनाल्टी पायो । निर्मला बिकमाथि बागमतीका खेलाडीले डी एरियामा फल गरेपछि प्राप्त पेनाल्टीलाई रेखा पौडेलले गोलमा परिणत गरिन् ।
४२ औं मिनेटमा रेखाले दोस्रो गोल थपिन् । बागमतीकी सुहानी राईले डी एरियामा फाउल हानेपछि पुलिसले दोस्रो पेनाल्टी पाएको थियो । रेखाले त्यसलाई पनि गोलमा परिणत गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सम्झना लावतीले गोल गर्दै पुलिसको अग्रता ४–० पुर्याइन् । मिना देउवाको प्रहार रिबाउन्ड भएपछि लावतीले बललाई पोस्टको दिशा दिएकी थिइन् ।
दोस्रो हाफमा बागमतीले पुलिसलाई दबाबमा राख्ने प्रयास गरे पनि गोलको अवसर सिर्जना गर्न सकेन । उल्टै खेलको ८३ औं मिनेटमा रेखाले डी एरिया नजिकै प्राप्त फ्रिकिकलाई गोलमा परिणत गर्दै ह्याट्रिक पूरा गरिन् । बागमतीकी सलोनी चौधरीले रेखामाथि फल गरेपछि रेफ्री कृति सेन ठकुरीले पुलिसलाई फ्रिकिक दिएकी थिइन् ।
त्यसको दुई मिनेटपछि रेखाले अर्को गोल थपिन् । मैदानको मध्यभागबाट बल अघि बढाउँदै विपक्षी पोस्टको सेकेन्ड बार च्यापेर गरेको उनको प्रहार गोलमा परिणत भयो । पुलिसले ६–० को जितसँगै सेमिफाइनल यात्रा तय गर्यो ।
खेलको प्लेयर अफ द म्याच रेखा पौडेल घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
बुधबारको पहिलो सेमिफाइनलमा झापा–११ फुटबल क्लब र विभागिय टोली एपीएफ फुटबल क्लब भिड्नेछन् ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।