सप्तकोशी नगरपालिका–५ का गंगाजली र अमाह खोलामा ठेक्का नलागेकै अवस्थामा उत्खनन भइरहेको पाएपछि वन कार्यालयले चार ट्रयाक्टर र एक टिपर नियन्त्रणमा लिएको हो।
सप्तरी — सप्तरीस्थित विभिन्न खोलाहरुबाट अवैधरुपमा बालुवा र गिट्टीको उत्खनन् भइरहेको खुलेको छ । जिल्लाको सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली र अमाह खोलाबाट अवैधरुपमा बालुवा र गिट्टीको उत्खनन् भइक्रहेको हो ।
गंगाजली खोलाबाट त नम्बर प्लेटसमेत स्पष्ट नरहेको ट्रयाक्टरबाट दिउँसै बालुवा उत्खनन् गरिरहेको पाइएको छ । संघीयतापछि नदीजन्य सामग्री उत्खनन् र निकासीको क्षेत्राधिकार स्थानीय सरकारमा सरेको छ । तर, स्थानीय सरकारसहितका सरोकारवालाकै मिलेमतोमै नदीजन्य सामग्रीको अवैध उत्खनन् र तस्करी बढेको स्थानीयको भनाई छ । ‘अहिले हाम्रो नगरपालिकामा रहेको गंगाजली र अमाह खोलाको ठेक्कासमेत लागेको छैन’, गंगाजलीका एक स्थानीयले भने, ‘तर, रातिको समयमा दैनिक खोलाबाट बालुवा निकाल्ने काम भइरहेको छ, कहिलेकाँही त दिउँसो नै बालुवा निकाल्ने काम पनि हुँदै आएको छ ।’
सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद ढकालले अहिले आफ्नो पालिकाभित्र रहेको गंगाजली र अमाहमध्ये कुनै खोलाको ठेक्का नलागेको जानकारी दिए । ‘हाम्रो अघिल्लो ठेक्का असारमा सकिसकेको छ’, नगरप्रमुख ढकालले भने, ‘नयाँ ठेक्काकालागि आवश्यक प्रक्रिया अगाडि बढाएका छौं, जिल्ला समन्वय समितिलाई अनुगमन गरिदिन पत्राचार गरिसकेको छु ।’
अहिले भईरहेको बालुवा–गिट्टीको अवैद्य उत्खनन्–तस्करी किन रोक्न नसकेको सम्बन्धमा नगरप्रमुख ढकालले भने, ‘नगरपालिकाले सकेजति रोक्न प्रयास गरिरहेकै छ, राजश्व जोगाउनु हाम्रो कर्तब्य नै हो, अरु सरोकारवारलाको पनि यसतर्फ ध्यान पुग्नुपर्छ, हाम्रो ठेक्का लागेपछि चोरी तस्करी पनि नियन्त्रणमा आउनेछ ।’
गंगाजली खोलाबाट डिभिजन वन कार्यालय मातहत रहेको सब–डिभिजन वन कार्यालय कञ्चनपुरको गस्ती टोलीले बालुवा उत्खनन् गरिरहेकै अवस्थाबाट चार वटा ट्रयाक्टरलाई शनिबार साँझ नियन्त्रणमा लिएको छ भने एउट टिपर फत्तेपुर–कञ्चनपुर सडक खण्डबाट बालुवासहित नियत्रणमा लिएको छ ।
ठेक्का नलागेको अवस्थामा पूर्णरुपमा नदीजन्य पदार्थ निकाल्न नहुने अवस्था हुँदाहुँदै खोलाबाट बालुवा उत्खनन् गरिरहेको अवस्थाबाट मधेश प्र.०१–००१त ३५८५, मधेश प्रदेश ०१–००१ त ३२२९, स १ त ६८३१ र स १ त ६७३१ नम्बरको ट्रयाक्टरलाई डिभिजन वनले नियन्त्रणमा लिएको हो । यस्तै फत्तेपुर–कञ्चनपुर सडक खण्डको धरमपुरबाट ना ५ ख ८८६० नम्बरको ट्रिपरलाई समेत अवैद्य बालुवा लोड गरेर जाँदै गरेको अवस्थाबाट नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए ।
नियन्त्रणमा लिएका ४ वटा ट्रयाक्टर र एउटा टिपरलाई हाल अनुसन्धानकालागि सब–डिभिजन वन कार्यालय कञ्चनपुरमा राखिएको संलग्न व्यक्ति तथा सवारीसाधनमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया सुरु गरिएको डिभिजन वन प्रमुख ठाकुरले जानकारी दिए ।
सप्तकोशी नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा घाटगद्दी(स्टोक) गरिएको स्थानबाट ढुंगा, गिट्टी, बालुवा र ग्राभेल उठाउने जिम्मेवारी लक्ष्मी साह कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई प्रदान गरेको छ । तर, शनिबार वनले बालुवासहित नियन्त्रण लिएको ट्रिपरधनीसँग फेला परेको उक्त सप्लार्यसको बिलमाथि पनि शंका उठेको छ । ‘हामीलाई घाटगद्दी गरिएको ठाउँमा अझ बालुवा बाँकी रहेको छ र सप्लार्यसलाई लग्न दिनु भनि कुनै किसिमको सूचना नगरपालिकाले दिएको छैन’, डिभिजन वन प्रमुख ठाकुरले भने, ‘अहिले हामीलाई फेला परेको लक्ष्मी साह कन्स्ट्रक्सन एण्ड सप्लायर्सको बिलमाथि शंका लागेको छ, यसबारे नगरप्रमुखलाई पनि जानकारी गराउन आग्रह गरेका छौं, थप अनुसन्धान पनि हामीले गरिरहेका छौं ।’
यसविषयमा नगरप्रमुख ढकालले पनि सप्लार्यसको बालुवा अझै घाटगद्दीमा राखिएको भनि आधिकारिक जानकारी आफुलाई नभएको बताए । ‘खोलाबाटै वनले नियन्त्रणमा लिएको बालुवासहित ट्रयाक्टर त अवैध नै भयो, टिपरको साथबाट बरामद भएको सप्लार्यसको बिल छानबिन गर्नुपर्ने देखिएको छ’, नगरप्रमुख ढकालले भने, ‘नगरपालिकाले गत आबमा सप्लार्यसलाई प्रमाणित गरिदिएको बालुवा घनमिटर बमोजिमको हो वा होइन भन्ने विषयको छानबिन हामी भोली नै गर्छौ, कानून विपरित काम गर्नेमाथि कारबाही पनि अगाडि बढाउँछु ।’
नगरपालिकाले लक्ष्मी साह कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई गत आथिर्क वर्षमा नदीजन्य सामग्रीको घाटगद्दी गर्न रुपनगर र भरुवाखालमा जिम्मेवारी दिएको थियो । तर, शनिबार उसले प्रयोग गरेको भनिएको बिलको सिरियल नम्बर ‘००२’ मात्रै छ । आर्थिक वर्ष सुरु हुनासाथ १ नम्बरको बिलबाट कारोबार सुरु हुन्छ । तर, चालु आवको तीन महिना बित्नलाग्दा सप्लार्यसले जम्मा दुई वटा बिल मात्रै प्रयोग गरेको विषयमा पनि शंकास्पद देखिएको हो ।
आरएन विश्वास कान्तिपुर मिडिया ग्रुपका सप्तरी संवाददाता हुन् ।