विवाहमा आउने भीआईपी पाहुनाहरूका लागि हेलिप्याड निर्माण गरिएको छ भने घोडदौड प्रतियोगिताका लागि मैदानसमेत तयार पारिएको छ । यस दौडका विजेतालाई 'महिन्द्रा थार' गाडी पुरस्कार दिइने चर्चा छ
काठमाडौँ — भारतको बिहारका विधायक अनन्त सिंहकी छोरीको विवाह यतिबेला सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ। विवाहपूर्वका विभिन्न समारोहका भिडियोहरू सार्वजनिक भएसँगै विवाहको भव्यतालाई लिएर इन्टरनेट प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया र मिमहरू सेयर गरिरहेका छन्।
मोकामाका विधायक सिंहकी कान्छी छोरी शिवाङ्गी सिंहको विवाह बुधबार पटना जिल्लास्थित उनको पुर्ख्यौली गाउँ लदमामा हुँदैछ। उनको विवाह सीआरपीएफ कमान्डेन्ट रणविजय कुमारका छोरा ऋषिकेश कुमारसँग हुन लागेको हो।
विवाहको भव्य दिनका लागि विशेष र विस्तृत तयारी गरिएको छ। पाहुनाहरूको स्वागतका लागि १०० फिटभन्दा लामो अस्थायी भान्सा निर्माण गरिएको छ भने त्यहाँ ५० लाखभन्दा बढी गुलाबजामुन तयार हुँदैछ । भान्सामा १० हजार केजी क्षमताका ट्याङ्करमार्फत दूध ढुवानी भइरहेको छ भने खानपान व्यवस्थापनका लागि थप १२ वटा ठूला टेन्टहरू लगाइएको छ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा चास्नीमा डुबेका गुलाबजामुनले भरिएका ठूला स्टिलका भाँडाहरू, विवाहस्थलको भव्य सजावट र परिवारका सदस्यहरूले पाहुनालाई स्वागत गरिरहेको दृश्य देख्न सकिन्छ।
विवाहमा आउने भीआईपी पाहुनाहरूका लागि हेलिप्याड निर्माण गरिएको छ भने घोडदौड प्रतियोगिताका लागि मैदानसमेत तयार पारिएको छ । यस दौडका विजेतालाई 'महिन्द्रा थार' गाडी पुरस्कार दिइने चर्चा छ।
विवाहमा करिब चार लाख पाहुना सहभागी हुने अनुमान गरिएको छ। यसअघि तिलक समारोहमा विधायक सिंहले आफ्ना हुनेवाला ज्वाइँलाई करिब साढे तीन करोड भारतीय रुपैयाँ मूल्य बराबरको 'ल्यान्ड रोभर डिफेन्डर' गाडी उपहार दिएका थिए।
बेहुला ऋषिकेश कुमार (अंकित) पटनाको बिहटा क्षेत्रका बासिन्दा हुन्। उनले अमेरिकाको एटलान्टास्थित जर्जिया स्टेट युनिभर्सिटीबाट एमबीए गरेका छन् र करिब ११ वर्षदेखि अमेरिकामै बसोबास तथा काम गर्दै आएका छन्।
बेहुली शिवाङ्गीले नोएडास्थित एक विश्वविद्यालयबाट स्नातक पूरा गरी स्नातकोत्तर उपाधिसमेत हासिल गरेकी छिन्।
यो भव्य विवाह समारोहसँगै सामाजिक सञ्जालमा अनन्त सिंहको लोकप्रियताको चर्चा फेरि चुलिएको छ। 'छोटे सरकार' को नामले परिचित विधायक सिंहका लागि सामाजिक सञ्जालमा भाइरल हुनु कुनै नौलो कुरा होइन।
उनको बोल्ने विशिष्ट शैली, पत्रकारहरूसँगको स्पष्ट संवाद र रमाइला एकल संवाद (वान-लाइनर) हरू प्रायः भाइरल भइरहन्छन् । उनको फोटो र भिडियो विभिन्न मिमहरुका लागि प्रयोग हुने गरेको छ ।