९ मंसिर, काठमाडौं । वीर अस्पतालको युरोलोजी विभागलाई करिब ५० लाख रुपैयाँ बराबरका शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण भएको छ ।
रोटरी क्लब अफ काठमाडौंले अस्पताललाई विभिन्न अत्याधुनिक सर्जिकल उपकरण हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएका उपकरणमा फ्लेक्सिबल युरेटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरेनोस्कोप, टीयूआर रिसेक्टोस्कोप र सिस्टोस्कोपलगायत छन् ।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका तर्फबाट अध्यक्ष प्राडा.पुष्पराज शर्मा, आशिष जजोडिया लगायत सहभागी थिए ।
अस्पतालका तर्फबाट निर्देशक डा. विकास नेपाल, निवर्तमान निर्देशक डा. दिलीप शर्मा र युरोलोजी विभाग प्रमुख प्रा.डा. रविनबहादुर बस्नेतलगायतको उपस्थिति थियो ।
डा. बस्नेतले रोटरीले मानवीय सेवाका निम्ति उपलब्ध गराएका उपकरणले देशभरका बिरामीलाई सहज रूपमा उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।
अस्पतालका निर्देशक डा. विकास नेपाल र निवर्तमान निर्देशक दिलीप शर्माले सहयोगप्रति आभार व्यक्त गर्दै रोटरी क्लब र वीर अस्पतालबीचको सहकार्य निरन्तर रहनुपर्नेमा जोड दिए ।
डा. पुष्पराज शर्माले नेपालको सबैभन्दा जेठो अस्पतालमार्फत बिरामीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
वीर अस्पतालको युरोलोजी विभागमा दैनिक ३०० देखि ३५० जनासम्म बिरामीले ओपीडी सेवा लिने गरेका छन् ।
विभागमा मासिक करिब २५० वटा शल्यक्रिया हुने गरेको छ । दुई वर्ष अगाडि विभागले उत्कृष्ट पुरस्कारसमेत प्राप्त गरेको थियो ।