रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन् । आफू कारागार हुँदा नै कैंची धाम जाने भाकल गरेकाले सोही पूरा गर्न जान लागेको उनले बताए ।
धनगढी — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमण व्यक्तिगत भएकाले राजनीतिसँग नजोड्न आग्रह गरेका छन्। भारत भ्रमणका लागि आज बिहान काठमाडौँबाट कैलालीको धनगढी विमानस्थल आइपुगेका लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका हुन्।
आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए। ‘व्यक्तिगत भ्रमणमा छु। पहिल्यादेखि जाने भाकल पनि थियो। धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो,’ उनले भने, ‘म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो ।’
कैंची धाम र कामाख्य मन्दिर नै किन रोज्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भाकल पूरा गर्न जान लागेको बताए । उनले आफ्नो कुनै राजनीतिक भ्रमण नभएको स्पष्ट पारे ।
‘राजनीतिक भेटघाट केही छैन। व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु,’ उनले भने, ‘राजनीतिक र व्यक्तिगत भ्रमणलाई अलग्याउन आग्रह गर्दछु ।’
धनगढी विमानस्थलमा सभापति लामिछानेसँगै भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल र सांसद दीपक बोहोरा पनि थिए ।
लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ प्रवेश गरेका छन् । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै उनी भारत लाग्नेछन्।
भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।