बाढी र सडक अवरोधको त्रासले आन्तरिक पर्यटक घटे पनि बिदा सकिएसँगै पर्यटक आगमन बढ्ने र विदेशी पर्यटकको चहलपहलले व्यवसायमा सुधार आउने व्यवसायीको आशा छ ।
चितवन — भोटेकोशी र बुढीगण्डकीमा आएको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासका कारण यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ।
गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा निकै चहलपहल हुने गरेको थियो।
यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रूपमा आन्तरिक पर्यटक आएका छैनन्। क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले आफ्नो सौराहास्थित होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सातवटा मात्रै बुकिङ भएको बताए। उनले भने, 'सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन्।'
वर्षाका कारण पुनः बाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकमा रहेको उनको अनुमान छ। यससँगै भोटेकोशी र बुढीगण्डकीको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले नेपालीले यस वर्ष उत्साहपूर्ण रूपमा दसैँ नमनाएको उनको भनाइ छ।
अबका दिनमा क्रमशः पर्यटक बढ्ने उनले अपेक्षा व्यक्त गरे। भोटेकोशीको बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उनले बताए। नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उनको अनुमान छ।
होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दै जाने बताए। उनले भने, 'अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ।' शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उनले भने, 'दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ।'
विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा नभइसकेको उनले बताए। पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन जारी रहने उनको भनाइ छ। उनले भने, 'पर्यटक बढ्दै गएर उच्च विन्दुमा पुग्छन् र त्यसपछि घट्न थाल्छन्।'
होटल भिस्टाका सञ्चालक रमेश सिलवालले दसैँसँगै आन्तरिक पर्यटक आउनेमा आफूहरू आशावादी रहेको बताए। दसैँको समयमा केही विदेशी पर्यटक आएको उनले जानकारी दिए। भारतीयसहित अन्य देशका पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उनको भनाइ छ।
व्यवसायी विदेशी पर्यटकको सङ्ख्या अब बढ्नेमा विश्वस्त छन्। भोटेकोशीमा बाढी आउँदा वर्षायामपछि पर्यटकीय सिजन सुरु हुने समयमा धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो।
सौराहास्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले दसैँको समयमा आफ्नो होटल विदेशी पर्यटकले भरिएको बताए। उनले भने, 'गएको तीन दिनदेखि मेरो होटल विदेशी पर्यटकले भरिएको छ।' जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएको उनले बताए।
स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उनले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी रहेको बताए। भोटेकोशीमा बाढी आएपछि रोकिएका पर्यटक आउन थालेको उनले जानकारी दिए। उनले भने, 'नेपाल आएका पर्यटक विगतमा जस्तै गरी सौराहा पनि आउन थालेका छन्।'
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा अवस्थित छ। निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने अधिकांश पर्यटक सौराहामा बस्ने गर्छन्। यससँगै भरतपुरको पटिहानी, जगतपुर र मेघौलीलगायत क्षेत्रमा पनि पर्यटक बस्ने गर्छन्। ती क्षेत्रबाट पर्यटक हात्ती, जिप, डुङ्गा र पैदल यात्रा गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा घुम्न रुचाउँछन्। एकसिङ्गे गैँडा र पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न पर्यटक यहाँ आउने गर्छन्।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन सफारी पर्यटनका लागि पहिलो नम्बरमा मानिन्छ। यहाँ थारू संस्कृति अवलोकन गर्न पनि पर्यटक आउने गर्छन्।