Trending
Prev Story
Next Story

विचार | सहकारी क्षेत्रको सुधारमा सहकारी बैंकको औचित्य

Ekantipur •
November 24, 2026 • 12:34 PM
17
17 reads 0 reactions

सहकारी वित्तीय प्रणालीलाई शुद्धीकरण गरी आर्थिक समृद्धिको दिगो आधार बनाउन नेफ्स्कुनको अगुवाइमा ग्रामीण सहकारी बैंक स्थापना तथा राष्ट्रिय सहकारी बैंकलाई सहरी र अर्धसहरी सहकारीको वित्तीय केन्द्रका रूपमा सुदृढ गर्ने विकल्प उपयुक्त हुन्छ ।

विचार | सहकारी क्षेत्रको सुधारमा सहकारी बैंकको औचित्य

सहकारी वित्तीय प्रणालीलाई शुद्धीकरण गरी आर्थिक समृद्धिको दिगो आधार बनाउन नेफ्स्कुनको अगुवाइमा ग्रामीण सहकारी बैंक स्थापना तथा राष्ट्रिय सहकारी बैंकलाई सहरी र अर्धसहरी सहकारीको वित्तीय केन्द्रका रूपमा सुदृढ गर्ने विकल्प उपयुक्त हुन्छ ।

नेपालको सहकारी अभियानले बैंक तथा वित्तीय संस्था नपुगेका ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाउनुका साथै स्थानीय स्रोत परिचालन, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सामुदायिक विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ । तर पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा देखिएका वित्तीय अनियमितता तथा कमजोर संस्थागत सुशासनका कारण समग्र सहकारी अभियानप्रति जनविश्वास कमजोर बनेको छ । बचत तथा ऋणको कारोबार गर्ने केही सहकारी संघले परिचालन गर्ने बचतको सुरक्षामा पनि चासो र चिन्ता प्रकट भएको छ ।

यो स्थितिमा सहकारी (पहिलो संशोधन) ऐन, २०८३ ले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघहरूलाई तीन वर्षभित्र त्यस्तो कारोबार गर्न बन्द गरी नयाँ सहकारी बैंक स्थापना वा विद्यमान राष्ट्रिय सहकारी बैंकमा कारोबार एकीकृत गरी व्यवस्थापन गर्नुपर्ने प्रावधान अघि सारेको छ ।

२०६० सालमा स्थापित राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको इजाजत पाएर सेवा सञ्चालन गर्दै आएको छ । हालै संशोधित सहकारी ऐनबाट बचत तथा ऋण कारोबार गर्ने सहकारी संघहरूलाई छुट्टै सहकारी बैंक स्थापना गर्न वा आफ्नो वित्तीय कारोबार विद्यमान राष्ट्रिय सहकारी बैंकमा एकीकृत गर्न सक्ने वैकल्पिक व्यवस्था अघि सारिएको छ । यो कानुनी व्यवस्थाको कार्यान्वयन कसरी गर्ने भन्नेबारे सहकारी अभियन्ताबीच मतभिन्नता देखिएको छ ।

एकथरी अभियन्ता नयाँ सहकारी बैंकको आवश्यकताप्रति प्रश्न उठाउँछन् । अर्काथरी भने बचत तथा ऋण सहकारी संघहरूको कारोबारलाई व्यवस्थित गर्न, वित्तीय अनुशासन कायम गर्न र सदस्य संस्थाहरूलाई सुदृढ बनाउन नेफ्स्कुन (नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड) को अगुवाइमा यससँग आबद्ध बचत तथा ऋण सहकारी संघसंस्था मिलेर छुट्टै सहकारी बैंक खोल्न सकिने तर्क गर्छन् ।

यस सन्दर्भमा सहकारी बैंक स्थापना, सहकारी क्षेत्रको सुधार र दीर्घकालीन हितबारे यस लेखमा विवेचना गरिएको छ ।

नेफ्स्कुनको अगुवाइमा ग्रामीण सहकारी बैंक

नेफ्स्कुनको संस्थागत अनुभव र देशव्यापी सदस्य सञ्जाल उपयोग गरेर ग्रामीण सहकारी बैंक स्थापना गर्न सकिन्छ । यसको कार्यक्षेत्र ग्रामीण कृषि, पशुपालन, कृषि प्रशोधन तथा बजारीकरण, स्थानीय उद्यमशीलता, नवीकरणीय ऊर्जा र जलवायु वित्त, डिजिटल वित्तीय प्रविधि प्रवद्र्धनमा केन्द्रित गरी वित्तीय अनुशासन र सुशासन कायम गरेका सदस्य सहकारीमार्फत किसान, उत्पादक, श्रमिक र उद्यमीसम्म थोक कर्जा प्रवाह हुनुपर्छ । यसका लागि पर्याप्त पुँजी, दक्ष व्यवस्थापन, जोखिम नियन्त्रण, आन्तरिक लेखापरीक्षण र स्वतन्त्र सञ्चालकीय संरचना आवश्यक हुन्छ ।

त्यसैगरी, राष्ट्रिय सहकारी बैंकलाई सहरी तथा अर्धसहरी क्षेत्रका बहुउद्देश्यीय, उत्पादन, श्रम, व्यापार तथा सेवा सहकारीको वित्तीय केन्द्रका रूपमा थप सुदृढ गर्नुपर्छ । यसले कृषि उपज प्रशोधन, बजारीकरण तथा आपूर्ति शृंखला, सहकारी पर्यटन, शिक्षा, स्वास्थ्य, सामुदायिक सेवा, सहकारी उद्योग, स्थानीय पूर्वाधार, दीर्घकालीन उत्पादनमूलक परियोजना र डिजिटल वित्तीय प्रविधि प्रवर्द्धनमा लगानी विस्तार गर्न सक्छ ।

नेपालको सहकारी वित्तीय प्रणालीको पुन:संरचनाको उद्देश्य बैंकको संख्या बढाउनु नभई सदस्यको बचत सुरक्षा, वित्तीय अनुशासन कायम गर्नु र स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु हो । दुई सहकारी बैंकको औचित्य स्पष्ट कार्यक्षेत्र, सदस्यता, सेवा र लगानीको विभाजनमा निर्भर गर्छ । संस्थाको प्रकृति, कारोबार र वित्तीय आवश्यकताका आधारमा वर्गीकरण गरी दोहोरोपना हटाउनुपर्छ । संस्थाको प्रकृति, कारोबार र वित्तीय आवश्यकताका आधारमा वर्गीकरण गरी दोहोरोपना हटाउनुपर्छ । साथै, ठूला परियोजनामा सहवित्तीयकरण, जोखिम बाँडफाँट र सदस्य संस्थाको वित्तीय सूचना आदानप्रदानका लागि साझा प्रणाली विकास गर्न सकेमा अस्वस्थ प्रतिस्पर्धा, दोहोरो कर्जा प्रवाह र जोखिमको केन्द्रीकरण नियन्त्रण गर्न सकिन्छ ।

दुवै बैंकले कर्जा गुणस्तर, तरलता व्यवस्थापन, खराब कर्जा नियन्त्रण, आन्तरिक नियन्त्रण, सुशासन र व्यावसायिक व्यवस्थापनलाई प्राथमिकता दिनुपर्छ ।

प्रस्तावित ग्रामीण सहकारी बैंक र राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका मापदण्डअनुरूप सदस्य संस्थाको वित्तीय विवरण, तरलता, कर्जा गुणस्तर, खराब कर्जा अनुपात, पुँजी पर्याप्तता, जोखिम व्यवस्थापन, आन्तरिक लेखापरीक्षण र सुशासनको नियमित व्यावसायिक अनुगमन गर्ने संस्थागत क्षमता विकास गर्नुपर्छ । यसका लागि प्राधिकरणसँग औपचारिक समझदारी र सूचना आदानप्रदान प्रणाली विकास गरी जोखिममा रहेका संस्थाको पहिचान, सुधारात्मक कार्ययोजनाको अनुगमन तथा संस्थागत क्षमता विकासमा सहयोग पुर्‍याउन सकिन्छ ।

भारतको राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नवार्ड) को अभ्यासबाट सिकेर बैंकहरूलाई सीमित तथा कानुनी रूपमा प्रत्यायोजित अनुगमन र अर्धन्यायिक अधिकार प्रदान गर्न सकिए पनि बचत रोक्का, सम्पत्ति रोक्का, पदमुक्ति, खारेजी तथा दण्डात्मक निर्णयजस्ता अधिकार सक्षम सरकारी नियामक निकायमै रहनुपर्छ ।

कानुनी पुन:संरचना र चरणबद्ध कार्यान्वयन

नयाँ ग्रामीण सहकारी बैंकको स्थापना, राष्ट्रिय सहकारी बैंकको कार्यक्षेत्र पुनर्निर्धारण तथा बैंकिङ मापदण्डमा आधारित अनुगमन र नियमनका लागि प्रस्तावित नयाँ सहकारी ऐन र क्रेडिट युनियन ऐनमा वित्तीय कारोबार, सदस्य संस्थाको अनुगमन, नियामकीय समन्वय र उत्तरदायित्व स्पष्ट व्यवस्था गर्नुपर्छ । साथै, भारतको नवार्ड, जापानको कृषि सहकारी बैंकिङ प्रणाली, नोरिन्चुकिन र राबो बैंकका अभ्यासलाई सन्दर्भ लिएर स्वतन्त्र वित्तीय, कानुनी, संस्थागत तथा बजार सम्भाव्यता अध्ययनका आधारमा विद्यमान संरचनाको सुधार वा नयाँ बैंक स्थापनाको विकल्प छनोट गर्नुपर्छ ।

पहिलो चरणमा वित्तीय अवस्था, पुँजी, तरलता, कर्जा गुणस्तर, निक्षेप जोखिम, सदस्य संस्थाको आवश्यकता र सञ्चालन लागत विश्लेषण गर्ने, दोस्रो चरणमा आवश्यक देखिए कानुनी संरचना, पुँजी लगानी, सदस्यता, कार्यक्षेत्र, रणनीति र जोखिम व्यवस्थापन योजना तयार गरेर जानुपर्छ । यस्तै, तेस्रो चरणमा सीमित क्षेत्रमा थोक कर्जा तथा परियोजनामा आधारित वित्तीय सेवा परीक्षण गर्ने र चौथो चरणमा वित्तीय स्थायित्व, कर्जा गुणस्तर, सदस्य सन्तुष्टि, उत्पादन, रोजगारी र सुशासनका नतिजाका आधारमा मात्र विस्तार गर्ने व्यवस्था गर्नुपर्छ ।

यसले अनावश्यक हतार र जोखिम न्यूनीकरण गर्दै स्रोतको सुरक्षित तथा उत्पादनमूलक परिचालनमार्फत रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र सहकारी क्षेत्रलाई संविधानको परिकल्पनाअनुरूप आर्थिक विकासको दरिलो स्तम्भ बनाउन सहयोग पुर्‍याउँछ ।

नेपालको सहकारी वित्तीय प्रणालीको पुन:संरचनाको उद्देश्य बैंकको संख्या बढाउनु नभई सदस्यको बचत सुरक्षा, वित्तीय अनुशासन कायम गर्नु र स्रोतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु हो । नेफ्स्कुनको अगुवाइमा ग्रामीण सहकारी बैंक स्थापना तथा राष्ट्रिय सहकारी बैंकलाई सहरी र अर्धसहरी सहकारीको वित्तीय केन्द्रका रूपमा सुदृढ गर्ने अवधारणा उपयुक्त विकल्प हुन सक्छ ।

तर यसको सफलता स्वतन्त्र सम्भाव्यता अध्ययन, स्पष्ट कानुनी व्यवस्था, कार्यक्षेत्र विभाजन, पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, जोखिम नियन्त्रण र राष्ट्रिय सहकारी नियमन प्राधिकरणसँगको समन्वयमा निर्भर हुनेछ । तसर्थ, चरणबद्ध र प्रमाणमा आधारित कार्यान्वयनमार्फत सहकारी वित्तीय प्रणालीलाई स्थायित्व, उत्पादन, उद्यमशीलता, रोजगारी र आर्थिक समृद्धिको दिगो आधार बनाउन आवश्यक छ ।

बाबुल खनाल सहकारीविद् हुन् । उनी सहकारी क्षेत्रमा तीन दशकयता कार्यरत छन् ।

Prev Swipe Story Next

Related Stories

Business & Economy
Build #2625