Trending
Prev Story
Next Story

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रणनीतिक साझेदार खोजी

Nagarik News •
November 25, 2026 • 03:27 AM
12
12 reads 0 reactions

ऋण लिएर निर्माण गरिएका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगानीकर्ता खोजी गरेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रणनीतिक साझेदार खोजी

करिब तीन दशकदेखि छलफलमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने तयारी सरकारले गरेको छ।

ऋण लिएर निर्माण गरिएका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगानीकर्ता खोजी गरेको छ।

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १ अर्ब ७ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ६३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। सरकारले नेपाल पूर्वाधार सम्मेलन २०२६ मार्फत लगानीकर्तासमक्ष यो विमानस्थल निर्माण परियोजना सोकेस गर्ने भएको छ।

सरकारले निजगढ विमानस्थल निर्माणका लागि रणनीतिक साझेदारको खोजी गरिहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। भुलका अनुसार काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वार्षिक एक करोड यात्रु धान्न सक्ने रहेकोमा अहिले वार्षिक ९५ लाख पुगिसकेको छ। पोखरा विमानस्थलको क्षमता वार्षिक २० लाख, भैरहवा विमानस्थलको क्षमता वार्षिक ४० लाख यात्रु धान्न सक्नेछ।

वार्षिक १० प्रतिशत हवाई यात्रु बढेकाले अबको पाँच/सात वर्षपछि नयाँ विमानस्थल आवश्यक भएकाले निजगढमा बनाउन लागिएको क्यानका सूचना अधिकारी भुलले बताए। ‘निजगढ विमानस्थल बनाउन रणनीतिक साझेदार लगानीकर्ताको खोजी भइरहेको छ,’ उनले भने, ‘लगानी सम्मेलनमार्फत लगानी ल्याउन खोजिएको हो।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी टुंगो लगाउने तयारीमा सरकार छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा निजगढ विमानस्थल निर्माणको मोडालिटी ६ महिनाभित्र टुंग्याउने उल्लेख गरेको छ।

सार्वजनिक-निजी साझेदारी (पिपिपी) मोडेलअन्तर्गत विशेष प्रयोजन कम्पनी (एसपिभी) स्थापना गरेर निजगढ विमानस्थल निर्माण आयोजना अघि बढाउने प्रस्ताव गरिएको छ। वार्षिक १ करोड ५० लाख यात्रु व्यवस्थापन गर्न सक्ने क्षमताको विमानस्थल निर्माण गर्ने सरकारी लक्ष्य छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढिरहेको अवस्थामा निजगढलाई विकल्पका रूपमा अघि सारिएको हो। काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माण अघि बढिरहेको छ। फास्ट ट्र्याक बनेपछि काठमाडौंबाट निजगढ एक घण्टा हाराहारीमा पुग्न सकिने छ।

सन् १९९५ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भावित स्थानको प्रारम्भिक अध्ययन सुरु भएको थियो। सन् १९९७ मा गरिएको सम्भाव्यता अध्ययनले बाराको निजगढ क्षेत्रलाई उपयुक्त स्थानका रूपमा छनोट गरेको थियो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भए पनि निर्माण प्रक्रियाले गति लिन सकेको छैन। सरकारले ठोस बजेट विनियोजन गर्न नसक्नु, वातावरणीय प्रभाव, कानुनी जटिलता र लगानीको मोडालिटी निश्चित नहुनुले यस्तो भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ठुला, साना तथा मझौला गरी करिब २४ लाख रूख कटान गर्नुपर्ने र करिब एक हजार चार सय घरधुरी स्थानान्तरण गर्नुपर्ने देखिन्छ। वन फँडानी, जलस्रोत, जैविक विविधता, वन्यजन्तुको बासस्थान र स्थानीय बस्तीमा पर्ने प्रभावका कारण आयोजना विवादित पनि छ।

सर्वोच्च अदालतले वातावरणीय क्षति न्यून हुने गरी आवश्यक क्षेत्रफल र प्राविधिक विकल्प अध्ययन गरेर मात्रै आयोजना अघि बढाउन आदेश दिइसकेको छ। अदालतले वन क्षेत्रको न्यूनतम उपयोग गर्न, वन्यजन्तु संरक्षण गर्न, क्षतिपूर्तिस्वरूप वृक्षरोपण गर्न र वन क्षेत्रमा एयरपोर्ट सिटी निर्माण नगर्नेलगायत सर्त पूरा गर्न निर्देशन दिएको थियो।

आर्थिक वर्ष २०६६/६७ देखि सरकारी नीति तथा कार्यक्रममा समावेश हुँदै आएको यो आयोजना विभिन्न सरकारको प्राथमिकतामा परे पनि कार्यान्वयनमा आउन सकेको छैन। माधवकुमार नेपाल, केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वका तत्कालीन सरकारले पटकपटक निर्माण गर्ने प्रतिबद्धता जनाए पनि काम भएन। अहिलेको सरकारले आयोजना निर्माण प्रक्रिया अघि बढाउन गृहकार्य थालेको छ।

मुआब्जा वितरण, प्रभावित बस्तीको स्थानान्तरण, वन व्यवस्थापन र कानुनी प्रक्रिया टुंगिन नसक्दा आयोजना अघि बढ्न सकेको छैन। राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिएको निजगढ विमानस्थल निर्माण चरणमा कहिले प्रवेश हुन्छ अझै यकिन छैन।

२०७९ जेठ १२ गते सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरेको थियो। हवाई पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहले दिएको सुझावका आधारमा पछि सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतले विमानस्थल निर्माण प्रक्रिया रोक्न निर्देशन दिएपछि सरकारले विज्ञ समूह गठन गरेको थियो। सोही समूहले दिएको सुझावका आधारमा सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तयारी गरेको हो।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो पर्यावरणीय क्षति हुने भन्दै एक पक्ष निर्माणको विपक्षमा छ। कसैले निजगढमा विमानस्थल बनाउनुपर्छ त कसैले बनाउनु हुँदैनभन्ने बहस चल्दै आएको छ। केहीले पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा अर्को विमानस्थल आवश्यक नभएको तर्क गर्छन्।

भैरहवा र पोखरामा चिनियाँ लगानी भएका कारण विमानस्थल चल्न नसकेको सरकारी अधिकारीहरूकै निष्कर्ष छ। ‘निजगढमा भारतीय लगानी ल्याउन सके विमानस्थल बनाएर सञ्चालन गर्न सकिन्छ,’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन प्राधिकारणका एक सहसचिवले भने, ‘भारतीय वा पश्चिमा देशका लगानीकर्ता ल्याउन सके विमानस्थल सञ्चालन गर्न सकिन्छ।’

केही सरोकारवालाले पर्यटक आगमन बढ्दै गएकाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताउँदै आएका छन्। पूर्वाधारविद् डा. सूर्यराज आचार्यले निजगढमा विमानस्थल आवश्यक भएको बताउँदै आएका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नथेग्ने भएकाले यसको विकल्पका रूपमा निजगढमा विमानस्थल बनाउनुपर्ने तर्क आचार्यले गर्दै आएका छन्।

प्रकाशित: ९ मंसिर २०८३ ०९:१२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
56m ago
किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन

किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन

किशोरी बेपत्ता भएको एक महिना बितिसक्दा पनि प्रहरीले खोजीमा प्रभावकारी कदम नचालेको भन्दै सुनसरीको दुहबीका स्थानीयले बुधबार विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सडकमा चक्काजाम गर्दै किशोरीको खोजीका लाग...

#खोजी
Compare →
Ekantipur
4h ago
खेलकुद 'महाकुम्भ' सफल बनाउन नगरपालिका सक्रिय: नगरप्रमुख ढकाल

खेलकुद 'महाकुम्भ' सफल बनाउन नगरपालिका सक्रिय: नगरप्रमुख ढकाल

राजनीतिक दलदेखि व्यवसायीसम्मसँग समन्वय गर्दै वीरेन्द्रनगरले दसाैं राष्ट्रिय खेलकुदलाई सुरक्षित, आकर्षक र सफल बनाउन स्रोतसाधन परिचालन गर्ने जनाएको छ।

#बनाउन
Compare →
Onlinekhabar
5d ago
काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ …

#विमानस्थल
Compare →

Related Stories

Business & Economy
Build #2625