उनले अस्कर जिते पनि आफूलाई अधिकांश प्रोजेक्टहरूमा उपर्युक्त भूमिकाहरू नै नहुने गरेको तितो यथार्थ पोखेका छन् ।
काठमाडौँ — दुई–दुई पटक प्रतिष्ठित अस्कर पुरस्कार जितेका अभिनेतालाई भूमिकाको कुनै कमी नहोला भन्ने सामान्य अनुमान गर्न सकिन्छ । तर, हलिउड अभिनेता महरशाला अलीका लागि भने परिस्थिति बिलकुल फरक छ । हालै दिएको एक अन्तर्वार्तामा उनले अस्कर जिते पनि आफूलाई अधिकांश प्रोजेक्टहरूमा उपर्युक्त भूमिकाहरू नै नहुने गरेको तितो यथार्थ पोखेका छन् ।
पूर्व बास्केटबल खेलाडी कार्मेलो एन्थोनी र काजिम ‘काज’ फमुयिदेको ‘सेभेन पीएम इन ब्रोकलिन’ पोडकास्टमा कुरा गर्दै ५२ वर्षीय अभिनेता अलीले हलिउडमा अस्कर जित्दैमा राम्रा भूमिकाहरू सहजै पाइन्छ भन्ने ग्यारेन्टी नहुने बताए ।
सन् २०१६ को चलचित्र ‘मूनलाइट’ र २०१८ को ‘ग्रीन बुक’का लागि दुई पटक उत्कृष्ट सहायक अभिनेताको अस्कर हात पारिसकेका अलीले भने, ‘अस्कर नजितेका धेरै उत्कृष्ट कलाकारहरू पनि राम्रा पटकथा र सामाग्रीको खोजिमा छन् । अस्कर जित्नु वा नजित्नुभन्दा ठूलो कुरा बजारमा राम्रा कलाकारहरूको संख्या धेरै हुनु र उनीहरूका लागि उपयुक्त कथा वा पटकथाको कमी हुनु हो ।’
फिल्म उद्योगमा निर्माण हुने सामग्री र अभिनेताहरूको छनोटबारे बोल्दै उनले अगाडि थपे, ‘सबै कलाकार एउटै स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् भन्ने मात्र होइन । समस्या त के हो भने, निर्माण हुने सयौं प्रोजेक्टमध्ये अति थोरैले मात्र गुणस्तरीय मापदण्ड पूरा गर्छन् र तीमध्ये पनि आफूलाई सुहाउँदो भूमिका हुनुपर्छ । ग्रीनलाइट हुने अधिकांश प्रोजेक्टहरूमा मेरा लागि भूमिका नै हुँदैन । त्यसैले मसँग १७ वटा अस्कार भए पनि केही फरक पर्दैन, यदि कसैले तपाईंलाई नै ध्यानमा राखेर लेखेको छैन वा प्रोजेक्ट स्वीकृत गरेको छैन भने तपाईं पनि अरू जस्तै पर्खाइ र खोजिमा हुनुहुन्छ ।’
वर्तमान राजनीतिक परिवेश र हलिउडमा विविधता, समानता र समावेशिता (डीईआई) सम्बन्धी बजेट तथा पहलहरूमा भइरहेको कटौतीप्रति पनि अलीले चिन्ता व्यक्त गरे । ‘यदि ठूला कम्पनीहरूलाई हामी बसिरहेको समाजको विविधता प्रतिविम्बित गर्नुपर्छ भन्ने दबाब महसुस गराइँदैन भने, उनीहरू आफ्नै कार्यालयमा देखिने अनुहारहरूलाई मात्र केन्द्रमा राखिरहन्छन् । र, ती निर्णयकर्ताहरूको टेबलमा हामीजस्ता अनुहारहरू धेरै छैनन्,’ उनले भने ।
चलचित्र ‘योर मदर योर मदर योर मदर’का अभिनेता अलीले कलाकारहरूसँग आफ्नै प्रोजेक्ट आफैं निर्माण गर्नेबाहेक अर्को विकल्प नरहेको तर त्यो आफैंमा पाँच वर्ष लामो र कठिन यात्रा हुने बताए ।
यस्तै, पोडकास्टका क्रममा काला जातिका कलाकारहरूले अस्कर जितेपछि मात्र ‘मान्यता’ पाउँछन् भन्ने फ्यानहरूको धारणाबारे सोधिएको प्रश्नमा उनले यसलाई केवल हल्ला मात्र भएको बताए । ‘यसले वास्तविक जीवनमा खासै ठूलो प्रभाव पार्दैन । तपाईं आफूलाई कुनै ‘डाइभर्सिटी प्रोजेक्ट’को हिस्सा मात्र बनाउन चाहनुहुन्न, एक अश्वेत व्यक्तिका रूपमा तपाईं केवल उत्कृष्ट कथामा काम गर्न चाहनुहुन्छ । तपाईं आफूलाई कुनै बेग्लै वा अनौठो पात्रका रूपमा सोच्नुहुन्न । अरू जस्तै बिहान उठेर काममा जाने र आफ्नो उत्कृष्ट अभिनय पस्कने इच्छा मात्र हुन्छ,’ अलीले स्पष्ट पारे ।
–विभिन्न सञ्चारमाध्यमको समाचारमा आधारित भई तयार पारिएको सामग्री