दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको सीको भनाइ
बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीबीच बुधबार दुई देशका अन्तरिक्ष यात्रीहरूको संयुक्त अन्तरिक्ष उडान अभियानको सफलतालाई लिएर बधाई सन्देश आदानप्रदान भएको छ ।
चिनियाँ अन्तरिक्ष यान ‘सेन्झाउ २४’ मार्फत पाकिस्तानी अन्तरिक्ष यात्री जेशन अली र अन्य दुई चिनियाँ यात्री बुधबार अन्तरिक्षस्थिति चिनियाँ स्टेशनमा प्रवेश गरेका हुन् । चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने अली पहिलो विदेशी अन्तरिक्ष यात्री हुन् । त्यस्तै उनी अन्तरिक्षमा पुग्ने पहिलो पाकिस्तानीसमेत हुन् ।
सीले चीन सरकार र चिनियाँ जनताका तर्फबाट पाकिस्तान सरकार, पाकिस्तानी जनता तथा दुवै देशका अन्तरिक्ष यात्री र वैज्ञानिकहरूलाई हार्दिक बधाई दिएका हुन् ।
बधाई सन्देशमा राष्ट्रपति सीले चीन र पाकिस्तान ‘सधैंका रणनीतिक साझेदार’ रहेको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षमा दुई देशको मित्रता चट्टानझैं अटल र अटुट रहेको बताएका छन् ।
दुवै देशका अन्तरिक्ष यात्रीले काँधमा काँध मिलाएर अन्तरिक्षको यात्रा गर्नु गहिरो मित्रताको जीवन्त उदाहरण र द्विपक्षीय सहकार्यको नयाँ तथा महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
चिनियाँ अन्तरिक्ष स्टेसन शान्ति, मित्रता र सहकार्यको संवाहक भएकोमा जोड दिँदै सीले बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगको झन्डा फहराउँदै पाकिस्तानलगायत अन्य देशहरूसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष सहकार्य अझ गहिरो बनाउन चीन इच्छुक रहेको बताए ।
उनले बाह्य अन्तरिक्षको विश्वव्यापी सुशासनमा सुधार गर्दै अन्तरिक्ष अन्वेषणका उपलब्धिबाट सम्पूर्ण मानवजाति लाभान्वित हुनुपर्ने धारणा राखेका छन् ।
यस्तै, पाकिस्तानी राष्ट्रपति जर्दारीले पाक–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा दुई देशबीच ऐतिहासिक अन्तरिक्ष सहकार्य भएको र पाकिस्तानका प्रथम अन्तरिक्ष यात्री चिनियाँ अन्तरिक्ष स्टेसनमा प्रवेश गरेकोमा गर्व व्यक्त गरे ।
उनले पाकिस्तान सरकार र जनताका तर्फबाट चीन सरकार तथा दाजुभाइ सरहका चिनियाँ जनताप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
यस सहकार्यले चिनियाँ अन्तरिक्ष प्रविधिको असाधारण उपलब्धि र बाह्य अन्तरिक्षको शान्तिपूर्ण उपयोगप्रति चीनको दृढ अडानलाई प्रस्ट पारेको जर्दारीले उल्लेख गरेका छन् ।
मानवजातिको साझा भविष्य निर्माणको महत्त्वलाई उजागर गरेको यस अभियानले पाक–चीन मित्रतालाई थप सुदृढ बनाउँदै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।