नयाँ कार्यालयले इलाम र झापाका पूर्वाधार योजना कार्यान्वयन, अनुगमन तथा समन्वय गर्नेछ।
पाँचथर — स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालय इलाममा स्थापना भएको छ । इलाम बजारस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयबारे सोमबार औपचारिक जानकारी गराइएको हो ।
कार्यालयले इलाम र झापा जिल्लामा पूर्वाधार विकास तथा निर्माणसम्बन्धी काम गर्नेछ । कार्यालयमार्फत पूर्वाधार विकासका योजना तथा आयोजनाको कार्यान्वयन, अनुगमन र समन्वय गरिने जनाइएको छ ।
कार्यालय स्थापना भएसँगै पूर्वाधारसम्बन्धी कामका लागि यसअघि सुनसरीको इटहरी पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले जिल्लामै कार्यालय स्थापना हुँदा स्थानीय तह र जिल्लावासीलाई सेवा लिन सहज हुने बताए । यसअघि विभिन्न कामका लागि इटहरी धाउनुपर्ने अवस्था रहेकामा अब जिल्लाबाटै सेवा लिन सकिने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कार्यालय स्थापनाले जिल्लाको पूर्वाधार विकास तथा निर्माणका काममा समन्वय र सहकार्य बढाउने बताए । जिल्लामै कार्यालय हुँदा सेवाप्रवाह सहज हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावकारी हुने उनले उल्लेख गरे ।
पूर्वाधार विकास डिभिजन प्रमुख पारस पाण्डेले कार्यालय स्थापनासँगै इलाम र झापामा पूर्वाधार विकास तथा निर्माणसम्बन्धी कामलाई व्यवस्थित रूपमा अघि बढाइने बताए । स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरेर योजना कार्यान्वयन, अनुगमन र निर्माणसम्बन्धी कामलाई प्रभावकारी बनाइने उनले जानकारी दिए ।
पाँचथरमा यसअघि नै उक्त कार्यालय स्थापना भएको छ । पाँचथरमा स्थापित कार्यालयले पाँचथर ताप्लेजुङ र तेह्रथुम जिल्लालाई कार्य क्षेत्र बनाएर काम सुरुवात गरेको छ ।
लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।