धनकुटा, संखुवासभा र भोजपुरलाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले ग्रामीण सडक, सडक पुल निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिनेछ ।
धनकुटा — धनकुटामा पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ ।
धनकुटा, संखुवासभा र भोजपुरलाई कार्यक्षेत्र बनाएर स्थापना गरिएको कार्यालयले तीन जिल्लामा ग्रामीण सडक, सडक पुल तथा स्थानीय पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ ।
कार्यालयले स्थानीय तहका केन्द्र, वडा कार्यालय र ग्रामीण बस्ती जोड्ने सडक निर्माण तथा स्तरोन्नति, सडक पहुँच नपुगेका क्षेत्रमा नयाँ सडक विस्तार र सडक पुल निर्माणका काम गर्नेछ ।
त्यस्तै, स्थानीय तहबीच सडक सञ्जाल विस्तार गरी आवागमन सहज बनाउने तथा स्थानीय पूर्वाधार विकासका योजनालाई प्राथमिकताका साथ अघि बढाउने जिम्मेवारी कार्यालयको रहनेछ ।
मंगलबार जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठ र डिभिजन कार्यालयका प्रमुख हुतराज चौहानले संयुक्त रूपमा कार्यालय उद्घाटन गरे ।
कार्यालय प्रमुख चौहानका अनुसार गत असोज १३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय पूर्वाधार विकास विभागअन्तर्गत डिभिजन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा एक जना कार्यालय सहयोगीसहित ११ जना स्थायी कर्मचारीको दरबन्दी रहनेछ । सडक पहुँच नपुगेका क्षेत्रलाई प्राथमिकतामा राख्दै ग्रामीण सडक निर्माण, स्तरोन्नति र पुल निर्माणका योजना अघि बढाइने उनले बताए ।
तीन जिल्लाको भौगोलिक अवस्था र स्थानीय आवश्यकताका आधारमा पूर्वाधार विकासका काम अघि बढाउन स्थानीय तह, जनप्रतिनिधि, राजनीतिक दल, नागरिक तथा सरोकारवालासँग समन्वय र सहकार्य आवश्यक रहेको चौहानको भनाइ छ ।
जिल्ला समन्वय समिति प्रमुख तामाङले डिभिजन कार्यालय स्थापनाले जिल्लाको ग्रामीण पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । सडक पहुँच विस्तारले स्थानीयको आवागमन सहज बनाउनुका साथै कृषि उपज तथा दुग्धजन्य वस्तु बजारसम्म पुर्याउन सहज हुने उनले बताए । उनले जिल्लामा प्रयोगविहीन अवस्थामा रहेका सरकारी भवन उपयोगमा ल्याउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । भाडाका भवनमा सञ्चालन भइरहेका सरकारी कार्यालयलाई उपलब्ध सरकारी भवनमा स्थानान्तरण गर्ने तयारी रहेको उनको भनाइ थियो ।
तीन जिल्लाको ग्रामीण सडक तथा पुल निर्माण, सडक स्तरोन्नति र स्थानीय पूर्वाधार विकासको जिम्मेवारी पाएको डिभिजन कार्यालयले दुर्गम तथा सडक पहुँच नपुगेका बस्तीलाई प्राथमिकतामा राखेर काम अघि बढाउने अपेक्षा गरिएको छ ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।