Trending
Prev Story
Next Story

डेढ अर्बको रङ्गशाला अन्तत: कर्णाली प्रदेश सरकारको स्वामित्वमा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

७ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला निर्माण व्यवसायीले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला औपचारिक रूपमा सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिता सञ्चालनको …

1 / 4
Swipe Photos

७ मंसिर, काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला निर्माण व्यवसायीले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला औपचारिक रूपमा सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिता सञ्चालनको तयारीले थप गति लिएको छ।

कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशाला लामो प्रतीक्षापछि सरकारको मातहतमा आएको हो। निर्माण सम्पन्न भएको लामो समयसम्म पनि प्राविधिक मूल्याङ्कन, अन्तिम भुक्तानी र हस्तान्तरण प्रक्रियाका कारण रङ्गशाला औपचारिक रूपमा प्रदेश सरकारलाई बुझाइएको थिएन।

एमएसी/जीएसएल जेभीले निर्माण गरेको रङ्गशाला २०८१ जेठ ११ गतेभित्र सम्पन्न गर्ने सम्झौता थियो। तर निर्धारित समयमा निर्माण कार्य पूरा हुन सकेन। निर्माण कम्पनीले बाँकी कामसमेत सम्पन्न गरेपछि पनि करिब तीन करोड रुपैयाँ अन्तिम भुक्तानीको विषय र प्राविधिक मूल्याङ्कनका कारण हस्तान्तरण प्रक्रिया लम्बिएको थियो।

निर्माण कम्पनीले काम सम्पन्न भएको लामो समयसम्म भुक्तानी नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो। १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा रङ्गशालामा ताला लगाउने चेतावनीसमेत दिएको थियो।

मुख्यमन्त्री मंगलबहादुर शाहीले प्राविधिक मूल्याङ्कन र तेस्रो पक्षबाट परीक्षण गराएर भुक्तानी प्रक्रिया टुङ्ग्याउने बताएका थिए। अन्ततः हस्तान्तरण प्रक्रिया पूरा भएको हो।

१० हजार दर्शक अट्ने आधुनिक रङ्गशाला

करिब १० हजार दर्शक क्षमताको प्रदेश रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान, आठ लेनको सिन्थेटिक एथ्लेटिक्स ट्र्याक, पौडी पोखरी, मार्सल आर्ट्स हल, भलिबल तथा बहुउद्देश्यीय कभर्डहललगायतका संरचना निर्माण गरिएका छन्। कभर्डहलमा मात्रै करिब एक हजार पाँच सय दर्शक अटाउन सक्छन्।

रङ्गशालामा खेलाडीका लागि चेन्जिङ रुम, मेडिकल कक्ष, फिजियोथेरापी कक्ष, रेफ्री कक्ष, भीआईपी प्यारापिट तथा भूमिगत पार्किङलगायतका सुविधा पनि छन्।

आधुनिक खेल पूर्वाधारसहित निर्माण भएको यो रङ्गशाला कर्णाली प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण सम्पत्ति बनेको छ।

मंसिर १६ देखि राष्ट्रिय खेलकुदको महाकुम्भ

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते यही रङ्गशालामा हुनेछ। प्रतियोगिता भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेको छ। मंसिर २७ गते समापन समारोह पनि यही रङ्गशालामा आयोजना हुनेछ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीका खेलाडी सहभागी हुँदैछन्। ३२ खेलका ३८४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा करिब ६ हजार पाँच सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ।

रङ्गशालालाई प्रतियोगिताको उद्घाटन तथा समापन समारोहसँगै प्रमुख खेल सञ्चालनको केन्द्र बनाइएको छ। फुटबल, एथलेटिक्स, भलिबल, करातेलगायतका खेल यही परिसरमा सञ्चालन गर्ने तयारी छ। केही खेल सुर्खेतका अन्य खेलस्थल तथा कर्णालीका विभिन्न जिल्लामा पनि आयोजना हुँदैछन्।

मुख्यमन्त्री शाहीको प्राथमिकतामा खेलकुद पूर्वाधार र व्यवस्थापन

मुख्यमन्त्री मंगलबहादुर शाहीले १०औं राष्ट्रिय खेलकुदलाई कर्णालीको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिँदै तयारीलाई प्राथमिकतामा राखेका छन्। खेलस्थल व्यवस्थापन, खेल सामग्री, खेलाडीको आवास, खानपान, यातायात, स्वास्थ्य सेवा र सुरक्षालाई प्रभावकारी बनाउन उनले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै आएका छन्।

प्रतियोगिताका लागि पूर्वाधार सामान्य मर्मतबाहेक अधिकांश खेलस्थल तयार भइसकेको प्रदेश सरकारले जनाएको छ। खेलाडी तथा अफिसियलको बसोबासका लागि पाँच हजार नौ सय बेडको व्यवस्था गरिएको छ। प्रतियोगिता व्यवस्थित बनाउन सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र र विभिन्न व्यवस्थापन समितिलाई परिचालन गरिएको छ।

मुख्यमन्त्री शाहीले कर्णालीमा ठूला राष्ट्रिय कार्यक्रम सञ्चालन गर्न सकिँदैन भन्ने भाष्यलाई १०औं राष्ट्रिय खेलकुद सफल बनाएर बदल्ने उद्देश्य रहेको बताउँदै आएका छन्। प्रतियोगितालाई खेलकुदमा सीमित नराखी कर्णालीको पर्यटन, संस्कृति, स्थानीय उत्पादन र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा उपयोग गर्ने प्रदेश सरकारको योजना छ।

प्रतियोगितापछि रङ्गशालाको उपयोग मुख्य चुनौती

१०औं राष्ट्रिय खेलकुद सम्पन्न भएपछि प्रदेश रङ्गशालाको नियमित सञ्चालन, संरक्षण र व्यवस्थापन प्रदेश सरकारका लागि अर्को महत्वपूर्ण जिम्मेवारी हुनेछ। डेढ अर्बभन्दा बढी लगानीमा बनेको पूर्वाधारलाई प्रतियोगिताको केही दिनका लागि मात्रै उपयोग गरेर छाड्नु हुँदैन।

यसलाई नियमित खेल प्रशिक्षण, खेलाडी उत्पादन, प्रदेशस्तरीय प्रतियोगिता तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल आयोजनाको केन्द्र बनाउन सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्न सक्छ।

१०औं राष्ट्रिय खेलकुदले कर्णालीलाई राष्ट्रिय खेलकुदको केन्द्रमा उभ्याउने अवसर दिएको छ। प्रदेश रङ्गशालाको हस्तान्तरणसँगै अब प्रदेश सरकारसामु प्रतियोगिता सफल बनाउने मात्र होइन, यसबाट प्राप्त पूर्वाधार र अवसरलाई भविष्यसम्म उपयोग गर्ने जिम्मेवारी पनि थपिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4h ago
निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो कर्णाली प्रदेश रंगशाला

निर्माण कम्पनीले हस्तान्तरण गर्‍यो कर्णाली प्रदेश रंगशाला

दसौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल रंगशाला १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँमा बनेपछि औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

#रूप #हस्तान्तरण #कर्णाली
Compare →
Hamro Patro News
2d ago
‘क्रिकेटको सहर’मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

‘क्रिकेटको सहर’मा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का आह्वान

काठमाडौं । सुदूरपश्चिमको क्रिकेट विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । लामो समयदेखि चर्चामा रहेको आयोजना...

#रङ्गशाला #रूप
Compare →
Bizshala
6h ago
बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

#रूप #अर्बको
Compare →
Nagarik News
1d ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#कर्णाली
Compare →
Arthasansar
2d ago
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन...

#रङ्गशाला
Compare →

Related Stories

Politics & Governance
Build #2612