सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ। नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ, कैलालीले रङ्गशालाको पूर्वाधार निर्माणका लागि अनलाइन बोलपत्र आह्वान गरेको हो।
उक्त आयोजनाअन्तर्गत मैदानको हालको जमिनको सतहमा माटो भर्ने र जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका काम गरिने पूर्वाधार विकासमन्त्री इन्जिनियर सुनील लम्सालले जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत फाप्ला रङ्गशाला निर्माणको ठेक्का प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन्।
बोलपत्रसम्बन्धी सूचनाअनुसार निर्माण कार्यका लागि एकल चरणको दुई खाम प्रणालीबाट ठेक्का प्रक्रिया अघि बढाइनेछ। बोलपत्रको म्याद ९० दिन र धरौटीको मान्य अवधि १२० दिन तोकिएको छ। बोलपत्रमा सहभागी हुन निर्माण कम्पनीले ५४ लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ।
मन्त्री लम्सालले सुदूरपश्चिमवासीको सपना र राष्ट्रिय महत्त्व बोकेको आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाइने बताएका छन्। रङ्गशाला निर्माणले खेल पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धन र समग्र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ।
उनले आज हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सलाई शुभकामना दिँदै क्रिकेटप्रतिको उत्साहलाई खेल पूर्वाधार विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत दिएका छन्।