भुवन केसी निर्देशित फिल्मले गत आइतबारसम्म ८ करोड ३५ लाख ३७ हजार रुपैयाँ कमाएको चलचित्र विकास बोर्डको रिपोर्टले देखाएको छ।
काठमाडौँ — भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’ले हालसम्म ८ करोड ३५ लाख ३७ हजारको व्यापार गरेको छ ।
चलचित्र विकास बोर्डले जारी गरेको गत आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले आठ करोडको आँकडा पार गरेको हो ।
यो फिल्म गत कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका छ भने भुवन केसी र गरिमा केसी पन्तको पनि महत्वपूर्ण भूमिका छ ।
त्यसैगरी रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ५’को कमाइ १३ करोड आसपास नै सीमित भएको छ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सनपट्टा’ पनि हालसम्म हलमा रिलिजरत छ । तर यो फिल्मको गति पनि १० करोड आँकडा पार गरेपछि सुस्ताएको छ ।
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा २’ ७ करोड, हरि लम्साल निर्देशित ‘बा एक योद्धा’ ३ करोडको आँकडामा छन् । वसन्त निरौला निर्देशित पाँच पाण्डवको व्यापार भने ४५ लाख २२ हजारमै खुम्चिएको छ ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।