Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो ? के पाएन ?

Ekantipur •
November 23, 2026 • 12:33 PM
3
3 reads 0 reactions

भारतसँग ८ समझदारीपत्रमा हस्ताक्षर र ६ आयोजना उद्घाटन तथा शिलान्यास गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण टुंगिएको छ । हवाई रुट, ऊर्जा र पूर्वाधारमा सहकार्यको प्रतिबद्धता भए पनि सीमा विवाद र ईपीजी प्रतिवेदनको विषयमा ठोस प्रगति हुन सकेन ।

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो ? के पाएन ?

भारतसँग ८ समझदारीपत्रमा हस्ताक्षर र ६ आयोजना उद्घाटन तथा शिलान्यास गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण टुंगिएको छ । हवाई रुट, ऊर्जा र पूर्वाधारमा सहकार्यको प्रतिबद्धता भए पनि सीमा विवाद र ईपीजी प्रतिवेदनको विषयमा ठोस प्रगति हुन सकेन ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीको हैदराबाद हाउसमा आज झन्डै डेढ घण्टा एक्ला एक्लै वार्ता भयो । वार्ता सकेर दुवै देशले ८ बुँदे एमओयू अर्थात् समझदारीपत्र साटासाट गरे । ६ वटा आयोजना उद्घाटन र शिलान्यास गरे । अनि २४ बुँदे संयुक्त विज्ञप्ति जारी गरे ।

ती ८ एमओयू र ६ आयोजना के के हुन् ? २४ बँदे संयुक्त विज्ञप्तिमा के के परे ? खासमा यो नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा संयुक्त विज्ञप्ति जारी भएकै यो सन् २०१८ मा केपी शर्मा ओली भारत गएको समयपछि पहिलोपटक जारी भएको हो। नेपालले निकै लामो समयदेखि उठाउँदै आएको हवाई रुटको विषय संयुक्त विज्ञप्तिमा परेको छ। त्यसबाहेक यो विज्ञप्तिमा नेपाल भारत सीमा विवादको विषय पनि छन् ? पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने विषयमा पनि दुई पक्षबीच संवाद भएको छ। तर कसरी ? समग्रमा, प्रधानमन्त्रीको यो भ्रमणबाट नेपालले के पायो र के पाएन ?

८ मध्ये पहिलो बुँदा हो- भारतको गुजरातको गान्धीनगरमा रहेको नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धानका लागि सहकार्य गर्ने ।

दोस्रो बुँदा हो- भारतको राष्ट्रिय रक्षा युनिभर्सिटी र नेपालको नेसनल पुलिस एकेडेमीबीच सहकार्य गर्ने ।

तेस्रो हो- नेपालका निजामती कर्मचारीहरूको क्षमता वृद्धि । यसका लागि भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स, डिपार्टमेन्ट अफ एडमिनिस्ट्रेटिभ रिफर्म्स एन्ड पब्लिक ग्रिभान्सेज र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच एमओयू आदानप्रदान भएको छ ।

यस्तै आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा पनि सहकार्य गर्ने गरी दुई सरकारबीच समझदारी भएको छ ।

एमओयूको पाँचौँ बुँदा हो- साउथ एसिया स्याटेलाइट उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन नेटवर्क जसलाई छोटकरीमा स्याटकम भनिन्छ, यसको स्थापना गर्ने । यसका लागि भारतको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारीपत्र आदानप्रदान भएको छ ।

छैटौँ बुँदामा दिगो सहरी विकासका लागि पनि भारत र नेपालबीच प्राविधिक सहकार्य गर्ने समझदारी भएको उल्लेख छ ।

यस्तै भारत र नेपालको स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य गर्ने समझदारी पनि दुई देशका प्रधानमन्त्रीको सामुन्ने भयो ।

र एमओयूको आठौँ अनि अन्तिम बुँदा रह्यो- पशुपालन तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्ने ।

अब कुरा गरौँ ६ वटा आयोजनाको, जुन उद्घाटन, शिलान्यास अथवा हस्तान्तरण भए ।

पहिलो हो- अयोध्यादेखि जनकपुरसम्मको रेलको सुरुआत । दुई प्रधानमन्त्रीले झन्डा हल्लाएर संयुक्त रूपमा सरायु-कमला एक्सप्रेस रेलसेवा आज उद्घाटन गरे ।

दोस्रो आयोजना हो- बनबासामा एकीकृत जाँच पोस्टको शिलान्यास । बनबासा भनेको महाकाली नदीपारिको नाका बजार हो । यस्तै भैरहवा, सुनौली र दोधारा चाँदनीमा बनिरहेका जाँच पोस्टमा प्रगति भइरहेको पनि जानकारी गराइयो ।

तेस्रो आयोजना भारतको धारचुला र नेपालको दार्चुलाबीचको क्रस बोर्डर मोटरेबल पुल हो । यो पुलको उद्घाटन गरियो ।

चौथो भनेको ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास हो ।

पाँचौँ हो मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको हस्तान्तरण ।

र छैटौँ तथा अन्तिम हो- प्रस्तावित सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनअन्तर्गत झापामा पेट्रोलियम टर्मिनलको शिलान्यास ।

प्रधानमन्त्री वालेन्द्र र मोदी दुवैले एकसाथ बटम थिचेर आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका थिए ।

अब संयुक्त प्रेस ब्रिफिङ र संयुक्त प्रेस विज्ञप्तिमा आएका थप सहयोग र प्रतिबद्धताको कुरा गरौँ ।

भारतले नेपाललाई २४ हजार करोड दिने मोदीले घोषणा गरेका छन् । हामीले बुझ्ने भाषामा यो भनेको २ खर्ब ४० अर्ब हो । संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान सहायता हो । यो रकम विपद्पछिको पुननिर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च हुनेछ । बाँकी १ खर्ब ८४ अर्ब रुपैयाँचाहिँ ऋण सहायता हो । यो पैसा ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि उपलब्ध गराइनेछ ।

संयुक्त विज्ञप्तिमा आएको अर्को महत्त्वपूर्ण कुरा हो- हवाई रूटको । दुवै पक्ष काठमाडौं-भैरहवा-लखनऊ रूटलाई दुईतर्फी बनाउन सहमत भएका छन् । तर यो तत्कालै पाइने रूट भने होइन । यसका लागि आवश्यक प्रक्रिया टुंग्याउन प्राविधिक परामर्श गर्ने भनिएको छ ।

तर बुझ्नुपर्ने कुरा के छ भने, भैरहवा एन्ट्री रूटमा भारतको पहिल्यैदेखि एक प्रकारको असहमति छ । गोरखपुर एअर बेसमा फाइटर जेटहरू नियमित उड्ने भएकाले भारतले सुरक्षाको चिन्ता देखाउँदै आएको छ ।

अर्को कुरा सन् २०१६ मै नेपाल र भारत महेन्द्रनगरको रूटलाई दुईतर्फी बनाउन सहमत भएका थिए । तर भारतले अन्तिम निर्णय गर्नुअघि आन्तरिक परामर्श आवश्यक भएको भनेपछि यो रूटको कुरा त्यतिकै सेलाएको थियो । यसपटक पनि प्राविधिक परामर्शको शब्दावली राखिएको छ । त्यसैले यसमा अझै शंका कायम छ ।

विज्ञप्तिमा भनिएअनुसार रक्सौल-काठमाडौं प्रस्तावित विद्युतीय ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्भे सकिएको छ । र पूर्व-पश्चिम रेलमार्ग विकास गर्न दुवै देशले सहकार्य गर्ने घोषणा गरेका छन् ।

सीमा स्तम्भ मर्मत र पुनःस्थापनामा प्रगति भइरहेको र बाँकी रहेका सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवहरूलाई काम अघि बढाउन निर्देशन दिइएको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी भ्रमणको अर्को महत्त्वपूर्ण पाटोको कुरा गरौं । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआरलाई छिट्टै अन्तिम रूप दिन र परियोजना कार्यान्वयनको काम सुरु गर्न पञ्चेश्वर विकास प्राधिकरण तथा संयुक्त जलस्रोत समितालाई दुवै नेताले निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआर पनि छिटो गरिसक्न दुवै नेता सहमत भए ।

संयुक्त प्रेस ब्रिफिङमा प्रधानमन्त्री वालेन्द्रसँगै उभिएर मोदीले लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध र शिवशक्तिसँग जोडिएका स्थलहरूबीच कनेक्टिभिटी बढाउन मिलेर काम गर्ने भने । साथै बिहार, उत्तरप्रदेश र भारतका अन्य राज्य र नेपालबीच रोड, रेल र बोर्डर कनेक्टिभिटीका प्रोजेक्टहरूलाई नयाँ गति दिने उनले भने ।

नेपालको वैदेशिक व्यापारलाई थप सजिलो बनाउन कान्डला र पारादिप बन्दरगाहमा पहुँच दिने मोदीको घोषणा रह्यो । उनले अरूण तेस्रो जलविद्युत् आयोजनालाई समयमै पूरा गर्ने प्रतिबद्धता पनि गरे ।

मोदीले नेपाली युवाहरूको सपना साकार गर्न नेपालमा स्टार्टअप, इन्क्युबेटर, इनोभेसन हब अनि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एउटा अफशोर क्याम्पस स्थापना गर्ने भने । कानुन र प्रविधिको अध्ययन गर्ने नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्ति कोटा पनि बढाउने उनले उद्घोष गरे ।

उनले नेपालमा एग्रो इन्डस्ट्रियल पार्क बनाउन पनि सहयोग गर्ने भने ।

क्रिकेटमा पूर्वाधार विकास र खेलाडीको तालिममा सहयोग बढाउने भने ।

तर यति धेरै समझदारी, सहकार्य र सहायताको कुरा हुँदाहुँदै पनि केही महत्त्वपूर्ण मुद्दा पनि ओझेलमै पर्‍यो ।

सीमासम्बन्धी समस्या समाधान गर्ने भनिए पनि विशेषगरी कालापानी र सुस्ताका विवादमा के गर्ने भन्ने ठोस निष्कर्ष यो भ्रमणमा आएन ।

यस्तै नेपालले औधी खोजेको काठमाडौं-महेन्द्रनगर हुँदै दिल्ली जोड्ने हवाई रूटमा पनि कुरै भएन । भैरहवा रुटलाई दुईतर्फी बनाउन दुई पक्ष सहमतसम्म भएका हुन्, त्यसमा प्राविधिक अध्ययनको पाटो बाँकी नै छ ।

अर्कोतर्फ महेन्द्रनगरको रूटमा विमानले २ सय ९१ नटिकल माइल नेपाली आकाश प्रयोग गर्नुपर्ने हुँदा नेपालले बढी आम्दानी गर्न सक्थ्यो । तर भैरहवाको रूटमा १ सय नटिकल माइल मात्र नेपाली आकाश प्रयोग हुन्छ ।

यस्तै दुई देशबीच इतिहासदेखि रहेका समस्या र तिनका कारण पहिल्याउन तथा समाधानका विषय सिफारिस गर्न बनेको प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को प्रतिवेदनबारे पनि कुरै भएन । २०७५ सालमा प्रतिवेदन तयार भएयता प्रत्येकचोटि प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषय सतहमा आउने गरे पनि छलफल नै नहुने स्थिति थियो । यसपालि पनि त्यस्तै भयो ।

तर नेपाल र भारतका दुवै प्रधानमन्त्रीले उल्लेख गरेको तथा दुवै देशका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भिजन पेपरमा भने १९५० को नेपाल-भारत मैत्री सन्धि दुवै देशको आपसी समझदारीमा पुनरावलोकन गर्न सकिने उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदीले सम्बोधनको अन्त्यतिर दुई देशको साझा भविष्यलाई नयाँ दिशा दिन जोइन्ट भिजन डक्युमेन्ट जारी गरेको भने । उनले यसलाई विकसित भारत र समुन्नत नेपालको सपना साकार गर्ने ब्ल्युप्रिन्टको संज्ञा दिए । के मोदीले भनेजस्तै यो साझा सपना ठोस उपलब्धिमा परिणत होला ? प्रधानमन्त्री वालेन्द्रको भ्रमणले विकासको नयाँ अध्याय लेखिएला ?

असीम असीम कान्तिपुर टिभीमा आबद्ध छन् । समसामयिक राजनीतिदेखि सामाजिक मुद्दाहरुमा उनी लेख्ने गर्दछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2h ago
प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

प्रधानमन्त्रीको भारत भ्रमण : यी हुन दुई देशबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं । प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Hamro Patro News
6h ago
नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

नेपाल-भारत व्यापार : अवरोध, अवसर र प्रधानमन्त्रीको भ्रमणको कूटनीतिक परीक्षा

प्रधानमन्त्री वालेन्द्र साह मङ्सिर ६ र ७ गते (नोभेम्बर २२–२३, २०२६) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्रीको यो पहिलो औपचारिक भारत भ्रमण हो । यो भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम व...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Nagarik News
8h ago
प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

नेपाल र भारतबिच भौगोलिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहिआएको छ।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
11h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612