लगभग ३० दिनअघि तुफानी बेगसहित सिनेमाघरमा प्रवेश गरेको थियो, ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ । फिल्मले सुरुवाती कमाईमा तहल्का मच्याइदियो । उसले पाएको शो संख्या र सिट रातै हुनेगरी देखिएको अकुपेन्सीले कबड्डीको कमाईको ग्राफ आकासिने छाँट थियो ।
तर, समय बित्दै जाँदा यो ग्राफ जसरी अग्लिएको थियो, उसैगरी खुम्चिएर तल झर्यो । पहिलो सात दिनमा लगभग १० करोड कमाई गरेको फिल्मले त्यसपछि गति लिन सकेन । कमाईको रफ्तार सुस्त हुँदै गयो । र, अवस्था यस्तोसम्म भइदियो कि एक सातामा करोडको अंक झरेर १६ लाखमा पुग्यो ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस विवरणले भनिदियो, ‘यो फिल्मले यसपटक १६ लाख ११ हजार रुपैयाँ मात्र कमाई गरेको छ ।’
कबड्डी ब्रान्डलाई यसका निर्माताहरूले बिकाउ नाम बनाएका छन् । पाँच संस्करणसम्म अविच्छिन्न यही नाम राखेर, यही कथा घुमाएर फिल्म बनाउनुको उद्देश्य पनि त्यही हो । फिल्म नामले एक हदसम्म चल्यो पनि । सुरुवाती दिनमा कबड्डी हेर्न पुगेका दर्शकमा पुरानै कबड्डीको ह्याङओभर बाँकी थियो ।
फिल्मी अंकगणितमा के हुन्छ भने सुरुका तीन दिन ब्रान्ड वा स्टारडमले दर्शक तान्न सक्छ । कहिलेकाहीँ प्रचारको क्रममा फिल्मले जुन हाइप पाउँछ, त्यसले पनि सुरुका तीन दिन दर्शक आउने सम्भावना हुन्छ । अक्सर सप्ताहन्तमा फिल्म सार्वजनिक हुन्छ र फुर्सदको क्षणमा कतिपय दर्शक फिल्म हेर्न हलसम्म आइदिन्छन् । यावत् कारणले दुई वा तीन दिनसम्म फिल्म चल्छ, जसमा कन्टेन्ट र क्राफ्टभन्दा बढी प्रचार फन्डा, स्टारडम र ब्रान्डले काम गर्छ ।
तर, त्यसपछि भने फिल्म असली आकारमा आउँछ । कतिपय फिल्म तीन दिनपछि क्रमशः फुल्दै जान्छन् भने कतिपय सुक्दै जान्छन् । किनभने दर्शकको प्रतिक्रिया नै फिल्मको सफलता र असफलताको निर्णायक हुन्छ । सुरुवाती दिनमा फिल्म हेरेर बाहिरिएका दर्शकले ‘बबाल राम्रो’ भनेर मात्र फिल्मको आयु लम्बिँदैन । वास्तवमै दर्शकलाई घत लागेर त्यसलाई एक कान, दुई कान, मैदान बनाएपछि बल्ल फिल्म हेर्ने दर्शकको संख्यामा बढोत्तरी हुन्छ ।
कबड्डीको हकमा हुनुपर्ने यस्तै थियो । तर, भइदियो उल्टो । सुरुको दिन तुफान ल्याइदिएको फिल्मले पछिल्ला दिनमा दर्शकको साथ पाएन । खराब समीक्षाका कारण फिल्मको व्यापार ह्वात्तै घट्यो ।
यसैगरी माओत्से गुरुङको फिल्म ‘पेन्सन पट्टा’ले यसपाली ७४ हजार रुपैयाँ मात्र कमाई गरेको छ ।