प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा ग्रीनफिल्ड क्षेत्रीय टर्मिनल (भण्डारणगृह) निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।
नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय समझदारीअनुसार अघि बढाइएको उक्त परियोजनाको सोमबार नयाँदिल्लीका शिलान्यास गरिएको हो ।
परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो र ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ । जसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर रहने नेपाल आयल निगमले जनाएको छ । निर्माणस्थलमा कुल १८ हजार ९०० किलोलिटर क्षमताको स्वचालित प्रणालीमा आधारित पेट्रोलियम भण्डारणगृह बनाइनेछ ।
उक्त भण्डारणगृहमा पेट्रोल भण्डारणका लागि २२०० किलो लिटर क्षमताका ३ वटा भर्टिकल ट्यांक र डिजलका लागि ४१०० किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्यांक निर्माण हुनेछन् । आयोजनास्थलमा नेपाल आयल निगमको आफ्नै स्वामित्वमा २३ बिघा ३ कठ्ठा १३ धुर जग्गा छ ।
कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ रहेको छ । जसमा पाइपलाइनतर्फ करिब ४ अर्ब २७ करोड रुपैयाँ र ग्रीनफिल्ड टर्मिनलतर्फ करिब ६ अर्ब ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सम्पूर्ण परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुने निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।
परियोजना सम्पन्न भएपछि कोशी प्रदेशसहित मधेशका सप्तरी र सिरहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको साहले बताए । सडकमार्गको ढुवानी निर्भरता घट्ने, भन्सारमा सवारी साधनको जाम कम हुने, ढुवानी खर्च बचत हुने, प्रदूषण र मार्गमा हुने अवाञ्छित गतिविधि नियन्त्रण हुने तथा आपत्कालीन अवस्थामा देशभर आपूर्ति व्यवस्थापनमा टेवा पुग्ने उनको भनाइ छ ।
भारतीय आयल निगमबाट पाइपलाइनको विस्तृत इन्जिनियरिङ रुट सर्वेक्षण तथा टर्मिनलको डिजाइन र नक्सांन कार्य सम्पन्न भइसकेको निगमले जनाएको छ । 'दुवै देशका सम्बन्धित निकायबीच प्राविधिक कार्यविधि र कार्यतालिका निर्धारण भई आवश्यक उपकरण तथा सामग्री खरिद प्रक्रिया अघि बढेको छ भने नेपालतर्फ वातावरणीय प्रभाव मूल्यांकन, जग्गा विकास तथा निर्माणसम्बन्धी प्रक्रिया जारी छन्,' निगमका कार्यकारी निर्देशक साहले भने ।
करिब ५४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिए पनि इन्डियन आयल कर्पोरेसन लिमिटेडले करिब ३६ महिनाभित्रै सम्पन्न गर्ने योजना बनाएको निगमले जनाएको छ ।
सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।