प्रसूति सेवाका लागि अस्पताल भर्ना भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी भएको छ।
अस्पतालका चिकित्सकको चरम लापरबाहीको कारण महिला को मृत्यु भएको आरोप लगाउँदै आफन्तहरुले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी समेत गरेका हुन्। तोडफोड र आगजनी घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमराका ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा ल्याएको बताए । बरहथवा नगरपालिका–५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो।
उनलाई प्रसूति गराउन तीन दिनअघि बरहथवा नगर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि चिकित्सकको लापरबाही भएको भन्दै आफन्त आक्रोशित बनेका थिए।
आक्रोशित समूहले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेको अस्पतालका सूचना अधिकारी राजेश कुमार रौनियारले बताए।
तोडफोड र आगजनीबाट अस्पतालको भौतिक संरचना तथा उपकरणमा गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनापछि केही समय अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। असुरक्षाको महसुस भएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र उपचारका लागि आएका बिरामीहरू अस्पताल छाडेर बाहिरिएका थिए। घटनाका क्रममा केही चिकित्सकमाथि कुटपिटसमेत भएको अस्पतालले जनाएको छ।
मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक आसपास मलंगवाको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। प्रसूति सेवाका लागि अस्पताल पुगेकी महिलाको मृत्यु र त्यसपछि भएको हिंसात्मक घटनाले अस्पतालको सुरक्षा व्यवस्था, स्वास्थ्यकर्मीमाथिको सुरक्षा तथा बिरामीको उपचार सेवाको निरन्तरतामाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ७ मंसिर २०८३ १०:५० सोमबार