युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।
काठमाडौँ — युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट भत्किएको आवासीय भवनको भग्नावशेषमा पुरिएकाहरूको खोजीमा उद्धारकर्मीहरू खटिएका छन् ।
किएभबाट करिब ४५ किलोमिटर उत्तरमा रहेको डायमरमा पाँचतले भवनको एक भाग भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारी तिमुर ताकाचेन्कोले बताए । भिश्नेभको सुपरमार्केटमा भएको आक्रमणमा तीन जनाको मृत्यु र तीन बालबालिकासहित १५ जना घाइते भएका छन् । बिला सेरक्वामा निजी घरमा भएको आक्रमणमा थप एक जनाको मृत्यु भएको छ ।
युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार डायमरमा मृतकमध्ये एक किशोरी र चालीस वर्षकी महिला छन् । उद्धारकर्मीहरूले ७९ वर्षीया महिला र एक बालकसहित केही व्यक्तिलाई जीवितै उद्धार गरेका छन् । भग्नावशेषमा पुरिएका तथा सम्पर्कमा आउन नसकेका व्यक्तिको खोजी जारी छ ।
यसैबीच, रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र पारेको छ । ड्निप्रोपेट्रोभस्क क्षेत्रको विद्युत् सबस्टेसनमा पनि आक्रमण भएको प्रधानमन्त्री सेर्गी कोरेत्स्कीले बताएका छन् । जाडोयाम नजिकिँदै गर्दा ऊर्जा संरचनामाथिका आक्रमणले युक्रेनको अवस्था थप कठिन बनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रिमिया पुलमा युक्रेनले गरेको आक्रमणको जवाफ ‘अझ पीडादायी’ हुने चेतावनी दिएका थिए । युक्रेनले एक साताभित्र पुलमा तीन पटक आक्रमण गर्दा सवारी आवागमनको भाग क्षतिग्रस्त हुनुका साथै रेल सेवा अवरुद्ध भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको शिखर बैठकपछि पुटिनको चेतावनी आएको हो । उक्त बैठकमा युक्रेन र युरोपेली नेताहरूलाई सहभागी नगराई शक्तिशाली राष्ट्रहरूले युद्धबारे निर्णय गर्न सक्ने आशङ्का व्यक्त गरिएको थियो ।
बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ, जहाँ अमेरिका, बेलायत र सोभियत सङ्घका नेताहरूले दोस्रो विश्वयुद्धपछि युरोपको क्षेत्रीय सीमाबारे छलफल गरेका थिए ।