६ मंसिर, कञ्चनपुर । भारतको उत्तराखण्डस्थित जंगलमा बाघको आक्रमणबाट कञ्चनपुरका एक पुरुषको मृत्यु भएको छ ।
दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका गोपिन दमाई भारतको उधमसिंह नगरअन्तर्गत रमखोला नजिकै सुरई रेञ्जको जंगलमा मृत भेटिएका हुन् ।
घरबाट निस्किएका दमाईबारे परिवारले शुक्रबार बिहान मात्रै जानकारी पाएको थियो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट फोन आएपछि उनी भारतको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको हो ।
भारतीय प्रहरीले शव फेला परेको जानकारीसहित तस्वीर पनि पठाएको थियो ।
भारतीय अधिकारीहरूले बाघको आक्रमणबाट दमाईको मृत्यु भएको बताएका छन् । उनको शरीरका विभिन्न भागमा चोटपटक तथा गहिरा घाउका निशान देखिएको आफन्तले बताएका छन् ।
घटनाबारे जानकारी पाएपछि मृतकका परिवारका सदस्य र दोधारा चाँदनी नगरपालिका–४ का वडा सदस्य गगनबहादुर सिंह भारतको उधमसिंह नगर पुगेका थिए ।
शव पहिचान गरेपछि आवश्यक प्रक्रिया र पोस्टमार्टम पूरा गरी शुक्रबार घर ल्याइएको मृतकका भाइ राजकुमार दमाईले जानकारी दिए ।