काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
संस्थाको मंसिर ४ गते शुक्रबार बसेको सञ्चालक समितिको १८५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि छुट्याइएको संस्थाले जनाएको छ।
संस्थाले गत असार मसान्तसम्म कायम रहेको ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा चुक्तापुँजीका आधारमा लाभांश प्रस्ताव गरेको हो।
जसअनुसार कम्पनीले ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कुल प्रस्तावित लाभांशको रकम ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन्।
संस्थाले लाभांशसम्बन्धी निर्णय नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्रमार्फत जानकारी गराएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।