काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘सिटिजन्स सुपर ५०’ बन्दमुखी योजनाको इकाई निष्कासन तथा बिक्री मंसिर १६ गते बन्द हुने भएको छ।
योजनाको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले सूचना जारी गर्दै इकाई खरिदका लागि आवेदन दिने अन्तिम मिति मंसिर १६ गतेसम्म कायम गरिएको जनाएको हो।
यसअघि मंसिर २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको योजनाको इकाईमा मंसिर ७ गतेसम्म पर्याप्त आवेदन नपरेपछि निष्कासन अवधि थप गरिएको थियो।
सिटिजन्स सुपर ५० योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गरिएको छ।
निष्कासन गरिएका कुल इकाईमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड ५० लाख इकाई अर्थात् १५ करोड रुपैयाँबराबरको इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरिएको छ।
बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरिएको हो।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।