सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको घटनामा जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो निलम्बनमा परेका हुन् ।
रौतहट — हराएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा फोन गरेका एक प्रहरी कर्मचारीले उल्टै सहकर्मीबाटै अपमानजनक गालीगलौज सहनुपरेको घटनामा जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो निलम्बनमा परेका छन् ।
आफूलाई प्रहरी नायब निरीक्षक (सइ) बताउँदै डुमरिया सुरक्षा बेसमा कार्यरत हवल्दार सुरेशप्रसाद यादवमाथि अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले महतोलाई आइतबार निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो ।
घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले दुवैलाई शनिबार जनकपुर बोलाएर सोधपुछ गरेको थियो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले घटनामा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । ‘दुवैबीच के भएको हो र किन यस्तो घटना भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘सइ भनेर अपशब्द प्रयोग गर्ने हवल्दार महतोलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइसकेका छौं ।’
यादवका १७ वर्षीय छोरा चन्दनकुमार एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि राजधानीमा बस्दै आएका थिए । छठ पर्व मनाउन घर आएका बेला चन्दन दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट हराएका थिए । छोराको खोजीका लागि प्रहरीलाई जानकारी गराउन यादवले जिल्ला प्रहरीको कन्ट्रोल रुममा फोन गरेका थिए । कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी टिपाउन भनिएपछि उनले पुनः फोन गरे । त्यस क्रममा आफूलाई सञ्चार शाखाको सइ बताउने महतोले ‘जय नेपाल’ नभनेको भन्दै फोनमा अपमानजनक शब्द प्रयोग गरेको यादवको आरोप छ ।
सइ बताउने व्यक्ति जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो भएको खुलेको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मधेश प्रदेश प्रहरी कार्यालयले सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको थियो । सोही क्रममा दुवै प्रहरी कर्मचारीलाई जनकपुर बोलाएर सोधपुछ गरिएको हो । हवल्दार यादवसँग पटक-पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठेन ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।