हालै सम्पन्न नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा चितवन राईनोजका देव्रे हाते तीव्र गतिका बलर हेटौंडाका रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ सम्मानसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
हेटौंडा — हालै सम्पन्न नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा चितवन राईनोजका देव्रे हाते तीव्र गतिका बलर हेटौंडाका रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ सम्मानसहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–२ का ढकाल एनपीएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी, सर्वाधिक विकेट लिने नेपाली बलर र समग्रमा सर्वाधिक विकेट लिने बलर बन्दै ढकालले क्रमशः कार, मोटरसाइकल र २ लाख रुपैयाँ हात पारेका थिए ।
एनपीएलको तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएकाले हेटौंडा उपमहानगरपालिकाले सोमबार एक समारोहबीच नगदसहित सम्मान गरेको हो । सर्वोत्कृष्ट खेलाडी ढकाललाई सम्मान गर्दै उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले रिजन ढकालले हेटौंडा उपमहानगरपालिकाको शान बढाएको बताइन् । हेटौंडा उपमहानगरपालिकाले क्रिकेटलगायत विभिन्न खेल क्षेत्रमा लगानी गर्दै आएको पनि जानकारी गराइन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँलगायत वडाध्यक्षहरुको उपस्थिति रहेको थियो । २७ वर्षीय ढकाल आफ्नो उपमहानगरपालिकाबाट सम्मान पाउँदा भावुक बनेका थिए । प्रतियोगितामा उत्कृष्ट नेपाली खेलाडी घोषित भएका रिजनले सर्वाधिक विकेटकर्ताको गोल्डेन क्यापसमेत जितेका उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका थिए।
सर्वाधिक विकेटकर्ताको अवार्डसँगै उनले २ लाख रुपैयाँ पुरस्कार पाए। यस्तै उत्कृष्ट नेपाली खेलाडी बनेबापत उनले ओमोडाको कार हात पारे । उनी उत्कृष्ट बलर बन्दै बाइक पनि पाए। यसरी रिजनले व्यक्तिगत दुई अवार्डसँगै ठूलो पुरस्कार हात पारेका थिए ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।