काठमाडौं। रसुवास्थित भोटेकोशी बाढीमा बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचनाअनुसार बाढीमा बेपत्ता भएका नेपाली नागरिकमध्ये थप १७ जिल्लाका ९९८ जनाको विवरण यकिन भएको छ। यससँगै यसअघि प्रकाशित विवरणमा नयाँ नाम तथा विवरण थप गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बेपत्ता विदेशी नागरिकको हकमा पनि थप १२ देशका ४५२ जनाको विवरण सम्बन्धित देशका नेपालस्थित नियोग वा नेपाल हेर्ने नियोगबाट प्राप्त भएको छ। थप विवरणमा भारतका २१३, अमेरिकाका ६९, चीनका ८५, बेलायतका ३२, क्यानडाका २७, दक्षिण अफ्रिकाका ६, फ्रान्सका चार, हङ्गेरीका दुई, बेल्जियमका दुई, काजकिस्तानका दुई तथा बेलारुस एक र सिङ्गापुरका ९ जना रहेका छन्।
प्राधिकरणले बेपत्ता व्यक्ति जीवित रहेको वा मृत्यु भएको पुष्टि गर्न तथा परिवार वा हकवालाले पाउनुपर्ने दाबी प्रक्रिया अघि बढाउन यो सूचना जारी गरेको जनाएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।