रसुवाको मैलुङ पोस्टमा कार्यरत खत्री बाढीमा बेपत्ता भएका थिए; सम्भावित शव फेला परे पनि डीएनए रिपोर्ट ढिलो हुँदा परिवारले संस्कार अघि बढायो।
खोटाङ — भोटेकोशीको बाढीमा बेपत्ता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ३२ वर्षीय पवन खत्रीको कुशको शव बनाएर आइतबार अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको छ । खत्रीको शव फेला नपर्नुका साथै डीएनए परीक्षणको रिपोर्टसमेत ढिलो भएकाले संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको हो ।
पवन नुवाकोटस्थित शेर गणअन्तर्गत रसुवाको मैलुङ पोस्टमा कार्यरत थिए । ड्युटीमा रहेकै बेला बाढीले बेपत्ता भएका खत्रीको बर्दघाट सुस्ता पश्चिमको गौडाकोटमा शव फेला परेको भनिए पनि पुष्टि नभएको र डीएनए परीक्षणको रिपोर्ट पनि ढिलो भएकाले संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको पवनका आफन्त लीलाबहादुर खत्रीले बताए । ‘शव फेला पर्दैन भन्ने लाग्यो, डीएनए परीक्षणको रिपोर्ट पनि ढिलो आउने बुझियो,’ खत्रीले भने, ‘त्यही भएर हाम्रो हिन्दु संस्कारअनुसार अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको हो ।’
फेला परेको पवनको जस्तो देखिने शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहतमा व्यवस्थापन गरिएको खत्रीले जनाए । उक्त शवको डीएनएको नमुना काठमाडौं आइसकेको र पवनकी आमा रुद्रमायाको नमुना पनि भदौ १९ गते नै काठमाडौं पठाइसकेको भए पनि रिपोर्ट नआएकाले अन्त्येष्टि गरिएको खत्रीको भनाइ छ ।
त्यस्तै, बाढीमै बेपत्ता भएका अन्य सात जनाको पनि डीएनए परीक्षणको रिपोर्ट आएको छैन । उक्त बाढीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सुर्जबहादुर परियार, ऐसेलुखर्क गाउँपालिका–३ का ५३ वर्षीय युवराज राई, ३३ वर्षीय यसबहादुर राई, वडा नं. ४ का ४१ वर्षीय बालकुमार तामाङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका २७ वर्षीय सुर्जबहादुर परियार, उक्त नगरपालिका–१५ विजयखर्कका ४३ वर्षीय कविन राई र जन्तेढुंगा गाउँपालिका–६ का ३० वर्षीय प्रज्ञान राई बेपत्ता भएका थिए ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।