जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।
कञ्चनपुर — भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लाअन्तर्गत झनकैया क्षेत्रको जंगलमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । दोधारा चाँदनीका ३१ वर्षीय गोपिन दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् । भारतीय प्रहरीले बाघको आक्रमणबाट दमाईको मृत्यु भएको जानकारी दिएको नेपाल प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीका अनुसार दमाईको शरीरमा घाउसमेत देखिएको छ । आफन्तले आइतबार उद्यमसिंहनगर पुगेर शव पहिचान गरेर ल्याएको प्रहरीले जनाएको छ ।
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।