जसपा नेपाल, जनमत, प्रलोपा, आजपा र नाउपाका शीर्ष नेताद्वारा निर्वाचन आयोगसँग परामर्श
काठमाडौं — जसपा नेपाल, जनमत, प्रगतिशील लोकतान्त्रिक, आम जनता र नागरिक उन्मुक्ति गरी पाँच राजनीतिक दलले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा साझा चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । यसका लागि ती दलका शीर्ष नेताले निर्वाचन आयोगसँग परामर्शसमेत गरेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानले व्यवस्था गरेअनुसार वैशाखमा हुने स्थानीय र मंसिरमा हुने प्रदेश निर्वाचनलाई लक्षित गरी राजनीतिक अभियान सञ्चालन गरिरहेको बताए । उनले आगामी निर्वाचनमा जसपासहितका दल आबद्ध मोर्चाले एउटै चुनाव चिह्न प्रयोग गर्ने समझदारी भएको जानकारी दिए । ‘निर्वाचन आयोगले मान्यता दियो भने मोर्चाका तर्फबाट एउटै चुनाव चिह्न लिएर जान्छौं । हामीले मोर्चाबाट उठाएका मुद्दा पनि समान भएकाले साझा चुनाव चिह्न लिएर जान सहमत भएका हौं,’ उनले भने ।
गत २३ साउनमा जसपा नेपालका अध्यक्ष यादव, प्रलोपाका नेता जनार्दन शर्मा, आजपाका अध्यक्ष प्रभु साह र नाउपाका संरक्षक रेशम चौधरीले मोर्चा गठन गरेका थिए । मधेशी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, पिछडावर्ग, अपांगता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यकलगायत सीमान्तकृत समुदायलाई राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा रहेको ती दलका नेताहरूको भनाइ छ ।
प्रलोपाका नेता जनार्दन शर्माले पूर्वका झापा, मोरङ र मधेशका धनुषालगायत जिल्लामा राजनीतिक अभियान तीव्र पारेको बताए । समावेशी लोकतन्त्र र ओझेलमा परेका समुदायका मुद्दालाई केन्द्रमा राखेर मोर्चाले अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए । ‘अग्रगामी मोर्चाले ओझेलमा परेका समुदायका मुद्दा उठाउँदै आएको छ । मोर्चालाई दीर्घकालीन रूपमा टिकाउन सकिन्छ भनेर साझा अवधारणा बनाएका छौं,’ उनले भने ।
आगामी निर्वाचनमा साझा चुनाव चिह्न प्रयोग गरिने उनको भनाइ छ । ‘एउटै चुनाव चिह्न लिएर जाने भन्नेमा सहमति भएको छ । मोर्चामा रहेका दलहरूबीच छलफल गरी निर्वाचन आयोगमा साझा चुनाव चिह्न प्रस्ताव गर्नेछौं,’ उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुसार हामी साझा चुनाव चिह्न प्रस्ताव गर्छौं ।’
जनमत अध्यक्ष सीके राउतले मोर्चामार्फत एउटै चुनाव चिह्न लिने विषयमा आयोगले अहिले स्पष्ट उत्तर नदिएको जानकारी दिए । ‘मोर्चामा रहेका दलहरू एउटै चुनाव चिह्नमा लड्छौं भनेर निवेदन दिनेछौं,’ उनले भने । आजपा अध्यक्ष प्रभु साहले निर्वाचन हुने अवस्थामा मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिह्नमा मैदानमा जाने र निर्वाचन नगराइए आन्दोलन पनि सँगै गर्ने बताए ।
नाउपाका संरक्षक रेशम चौधरीले मोर्चाका संयोजकहरूले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे निष्कर्ष निकाल्न बाँकी रहेको बताए । ‘मधेश तथा थरुहट आन्दोलनका क्रममा मुद्दा फिर्ता गराउन दबाब दिने काम भएको छैन,’ उनले भने । उनले मोर्चाका दलहरू मधेश र तराईका मुद्दामा केन्द्रित भएर अघि बढ्नुपर्ने बताए ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा एकल निर्वाचन चिह्न लिएर निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । ‘निर्वाचनको प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्नेछन्,’ ऐनमा भनिएको छ, ‘संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलको तर्फबाट उम्मेदवारी दिँदा त्यस्तो उम्मेदवार कुन दलसँग सम्बन्धित हो, त्योसमेत खुलाउनुपर्नेछ । दुई वा दुईभन्दा बढी दल संयुक्त रूपमा निर्वाचनमा सहभागी भएकोमा त्यस्ता दलमध्ये सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ र यसरी संयुक्त रूपमा निर्वाचनमा सहभागी भएका अन्य दलका पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरू सोही संसदीय दलको सदस्य भएको मानिनेछ ।’
मोर्चाले जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तार गरेको छ । प्रदेश समन्वय समिति गठन, जिल्लास्तरीय समन्वय समिति निर्माण तथा घटक दलबीच जिल्ला र क्षेत्रगत जिम्मेवारी बाँडफाँटको तयारीसमेत थालेको छ । कोशी र मधेशमा राजनीतिक अभियान सञ्चालन गरिसकेको मोर्चाले लुम्बिनी, मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिममा कार्यक्रम गर्ने तयारी छ ।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।