आइतबारको खेलमा गयेसपुरलाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको हो ।
विराटनगर — त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर वुमन फुटबल एकेडेमीविरुद्ध गोलवर्षा गर्दै दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबारको खेलमा गयेसपुरलाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको हो ।
आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक पूरा गरे। सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दिपा शाहीले १–१ गोल गरे। खेलको पाँचौं मिनेटमै आर्मीले अग्रता लियो। बिमला चौधरीको प्रहार पोस्टमा लागेर फर्किएको बललाई चन्द्रा भण्डारीले जाली चुमाइन्। १६ औं मिनेटमा मैदानको मध्यभागबाट चन्द्राले गरेको चिप सट गोलमा परिणत भएपछि आर्मीले अग्रता दोब्बर बनायो। त्यसको दुई मिनेटपछि दिपा शाहीको क्रस पासमा हेमा चौधरीले गोल गर्दै आर्मीको अग्रता ३–० पुर्याइन्।
३३ औं मिनेटमा सुक्रिया मियाले गोल थपिन्। ४३ औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो। यसअघि प्रतियोगिताको उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित चार गोल गरेकी थिइन्। ४४ औं मिनेटमा बिमला चौधरीको क्रसमा हेमा चौधरीले हेडमार्फत गोल गरिन्। पहिलो हाफको अतिरिक्त समयमा सुक्रिया मियाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको अग्रता ७–० बनाइन्।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै हेमा चौधरीले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। ७९ औं मिनेटमा जेनिफर राना मगरले गोल थपिन्। खेलको ८९ औं मिनेटमा दिपा शाहीले गोल गरेपछि आर्मीले १०–० को फराकिलो जित सुनिश्चित गर्यो।
खेलको प्लेयर अफ द म्याच आर्मीकी चन्द्रा भण्डारी घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। कतारमा रहेका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि चन्द्रालाई प्रोत्साहनस्वरूप थप १५ हजार रुपैयाँ प्रदान गरे। प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानको थिम्पु राभेन वुमन एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।